१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिनियाँ मार्गबाट खाद्यान्न ढुवानी

कलेन्द्र सेजुवाल

(सुर्खेत) — सिमकोटसम्म सडकमार्गको पहुँच पुगिसकेको अवस्थामा चंखेलीले पाएको ढुवानी भाडा दर करिब ३० रुपैयाँ महँगो हो । यस हिसाबले ४ हजार क्विन्टलमा करिब १ करोड २० लाख रुपैयाँ राज्यलाई भार परेको छ ।

जिल्ला खाद्य व्यवस्था समिति हुम्लाको २०७६ वैशाख १७ गते बसेको बैठकले काठमाडौंदेखि केरुङ–हिल्सा हुँदै सिमकोटसम्म चामल ल्याउनको लागि चंखेली/देउतीबज्यै जेभीलाई ढुवानी जिम्मा दिन नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयमा सिफारिस गर्‍यो । निर्णयमा जेभीलाई चीनबाट ढुवानी गर्ने अनुभवी कम्पनी भएको उल्लेख गर्दै भनिएको छ, ‘काठमाडौंबाट यालबाङ केन्द्रसम्मको प्रतिकेजी ४२ र यालबाङदेखि सिमकोटसम्मको प्रचलित भाडादर प्रतिकेजी ४३ समेत गरी प्रतिकेजी ८५ रुपैयाँमा व्यवस्था गर्नुहुन अनुरोध गर्ने निर्णय गरियो ।’


हुम्लामा भएको यो निर्णयले संस्थानको केन्द्रीय कार्यालयमा तरंग ल्यायो । कारण थियो– काठमाडौंदेखि यालबाङसम्म करिब साढे ७ सय किमोमिटर दुरीको ढुवानी दरभन्दा यालबाङदेखि सिमकोट ४३ किलोमिटर दुरीको भाडा दर महँगो हुनु १ संस्थान स्रोतका अनुसार केन्द्रीय कार्यालयका अधिकारी दुई भागमा विभाजित भएका थिए । एउटा खेमाले जिल्ला खाद्य व्यवस्था समितिको सिफारिसअनुसार सिधै चंखेलीलाई ढुवानी जिम्मा दिनुपर्ने भनाइ राख्यो ।


अर्को खेमाले यसरी ढुवानी जिम्मा दिनु प्रचलित कानुनविपरीत मात्र होइन, भाडा दर निकै महँगो भन्दै प्रक्रियाबाट जानुपर्ने अडान लियो । अन्तत: संस्थानले जेठ ४ गते सातदिने छोटो सुचना निकाल्दै टेन्डर आह्वान गर्‍यो । ढुवानी जिम्मा भने चंखेलीले नै पायो, करिब सिफारिस गरिएकै दर प्रतिकेजी ८४ रुपैयाँमा । ‘उतिबेलै केन्द्रीय कार्यालयका उच्च पदस्थको निर्देशनमा जिल्ला खाद्य व्यवस्था समितिलाई सिफारिस गर्न लगाइएको थियो, सिफारिसको आधारमा दिन नसकिने भएपछि छोटो म्यादको टेन्डर खोलिएको हो,’ संस्थानका एक कर्मचारीले भने, ‘आखिर मिलेमतोमै भए पनि महँगो दरमा उही कम्पनीलाई ढुवानी जिम्मा दिइयो ।’


छोटो सुचना हुँदा ढुवानीको लागि चंखेली र खहरे शेर्पा निर्माण सेवाको मात्र टेन्डर परेको थियो । काठमाडौंदेखि सिमकोटसम्म प्रतिकेजी ८४ रुपैयाँमा ढुवानी गर्ने गरी चंखेलीले ठेक्का पायो । चंखेलीले गत आर्थिक वर्षमै काठमाडौं–यालबाङ ७ सय ५० किलोमिटर दुरीमा प्रतिकेजी ४२ रुपैयाँको दरले ढुवानीको काम गरेको थियो । यालबाङ–सिमकोट ४३ किलोमिटर दुरीमा पनि प्रतिकेजी ४२ रुपैयाँमै पाएपछि यसभित्र गंभीर चलखेल भएको संस्थानका ती कर्मचारीले बताए । उनले हालको अवस्थामा जति बढी गर्दा पनि यालबाङ–सिमकोट प्रतिकेजी १०–१२ रुपैयाँभन्दा बढी नहुने बताए । ‘सबैतिर सेटिङ मिलाएर ठेकेदारले महँगो ढुवानी भाडा पाएको स्पष्ट छ,’ उनले भने, ‘यसले राज्यलाई अनावश्यक भार परेको छ ।’


आर्थिक वर्ष २०७३/७४ मा यही मार्गमा स्वीकृत भएको ढुवानी दरले पनि ती कर्मचारीको भनाइलाई पुष्टि गर्छ । त्यतिबेला खहरे शेर्पा निर्माण सेवाले प्रतिकेजी ६१ रुपैयाँ ५० पैसामा ढुवानी जिम्मा पाएको थियो । सो दरमा १ हजार ६ सय क्विन्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीका निक्मर छिरिङले बताए । यिनै निक्मरले भने पछिल्लोपटक असारमा १ रुपैयाँ महँगो (८५ रुपैयाँ) हालेर चंखेलीलाई ठेक्का पार्न सहयोग गरेका थिए । उनले छोटो सुचनाको कारण अरु ठेकेदारले टेन्डर खुलेको थाहा नपाएको र चंखेली र आफूबीचमात्र प्रतिस्पर्धा हुँदा ‘राम्रो रेट पाइएको’ बताए । करिब ६ वर्षअघिसमेत काठमाडौं–सिमकोट प्रतिकेजी ६२ रुपैयाँमा चामल ढुवानी गरेको संस्थानको रेकर्डमा देखिन्छ । त्यतिबेला त हिल्साबाटै ९५ किलोमिटर दुरीको सिमकोटमा खच्चरबाट बोकाएर ढुवानी गर्नुपर्थ्यो ।


खाद्य संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले ढुवानी भाडा महँगो भए पनि प्रक्रिया पुर्‍याएरै जिम्मा दिइएको बताए ।


चीनबाट सस्तो, तर झन्झटिलो

नेपालगन्ज, सुर्खेतबाट भन्दा चिनियाँ मार्गबाट ढुवानी दर झण्डै आधा सस्तो पर्छ । तर, प्रक्रिया झन्झटिलो भएको भन्दै संस्थानले यो मार्गबाट ढुवानी निकै न्यून गर्छ । गत आर्थिक वर्षमा संस्थानले सुर्खेत र नेपालगन्जबाट १४ हजार २ सय ४४ क्विन्टल चामल हुम्लामा पुर्‍याएको थियो । चिनियाँ मार्गबाट भने गत आर्थिक वर्षको थप कोटा ५ हजार ५ सय पुर्‍यायो । यो परिणाम हालसम्मकै सबैभन्दा धेरै हो ।



बाटोमै थन्कियो चामल


संस्थानले छोटो सुचना निकाल्नुको उद्देश्य थियो– असार मसान्तभित्र काठमाडौंबाट तिब्बत हुँदै सिमकोटसम्म चामल पुर्‍याउने । चंखेलीले भने भदौ १४ गतेमात्र हिल्सा नाकामा चामल पुर्‍यायो । त्यो चामल सिमकोटमा अझैसम्म पुगेको छैन । बाटोमै थन्किएको छ । संस्थानका सिमकोट शाखा प्रमुख रामबहादुर बिष्टले सल्लीसम्म ल्याइपुर्‍याएको जानकारी दिए । ‘हामीले ठेकेदारलाई छिटोभन्दा छिटो खाद्यान्न सिमकोट पुर्‍याउन ताकेता गरिरहेका छौं,’ उनले भने, ‘केही दिनमा आइपुग्छ होला ।’ हाल सिमकोटस्थित डिपोमा करिब ३ हजार क्विन्टल मौज्दात रहेकोले खाद्यान्नको समस्या नरहेको उनले बताए ।




प्रकाशित : आश्विन ४, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?