कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अस्पतालमा छैन औषधि

भीमबहादुर सिंह

(जाजरकोट) — जाजरकोट अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको छ । अस्पताल मात्र हैन, यहाँका अन्य स्वास्थ्य संस्थामा पनि लामो समयदेखि औषधि अभाव भएको हो । 

अस्पतालमा छैन औषधि

अस्पताललगायत स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाउँदा बिरामी उपचारबाट वञ्चित भएका छन् । जाजरकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दल्ली, गर्खाकोट र लिम्सालगायत दुई दर्जन स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो । पुरानो स्टक सकिएको र चालु आर्थिक वर्षको खरिद नहुँदा औषधि अभाव चुलिएको हो ।


अस्पतालमा सरकारले नि:शुल्क दिने भनेका सामान्य खालका औषधि पनि पाइन छोडेका छन् । जिल्ला अस्पतालमा सिटामोल, आईरन, ब्रोफिन, रेनीटेडिन, मेट्रो, एमोक्सिसिलिन, भूस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आरएल क्योमक्स, अक्सीटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रो, एसिलक, पोन्टक्स, क्योमक्सलगायत अत्यावश्यक औषधिको अभाव भएको छ ।


दैनिक भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायत बिरामीको चाप बढ्दै गए पनि औषधि नहुँदा उपचारमा समस्या भएको जिल्ला अस्पतालका डा. अमिन शाहले बताए । अस्पतालमा बिरामीको संख्या बढ्दो छ । तर स्वास्थ्य बिमा गरेका बिरामीले समेत नि:शुल्क औषधि पाउन सकेका छैनन् । दैनिक ७० जनासम्म भाइरल ज्वरोका बिरामी अस्पतालमा आउने गरेको उनको भनाइ छ ।


ज्वरोले थलिएकी परेकी छोरी दिवानीलाई अस्पतालमा उपचारका लागि ल्याए पनि मेडिकलबाट औषधि किनेर उपचार गरिरहेको भेरी नगरपालिका–४, की भावना रोकायले वताइन् । ‘सिटामोलसमेत अस्पतालमा नपाएपछि निजी मेडिकलमा किन्नु परेको छ,’ उनले भनिन्, ‘औषधि पाउन मुस्किल हुँदा विपन्न परिवार समस्यामा परेका छौं ।’ अस्पतालमा प्रसूति सेवाका लागि गज, कटन, ग्लोब्स र आरएलको समेत अभाव छ । विभिन्न किटलगायत सामग्री अभावमा ल्याव सेवा बन्द हुने अवस्थामा पुगेको स्वास्थ्यकर्मीले जनाएका छन् ।


अस्पतालका अनुसार लेखापाल नहुँदा अत्यावश्यकीय औषधि र अन्य सामग्री खरिदमा समस्या भइरहेको छ । अस्पतालमा लेखापालको दरबन्दी भए पनि दुई वर्षदेखि पदपूर्ति हुन सकेको छैन । ५० शय्याको अस्पताल नाम मात्रको भएको स्थानीय रेमजंग शाहले बताए । ‘न आवश्यक औषधि पाइन्छ, न दक्ष जनशक्ति नै छन्,’ उनले भने, ‘एउटा स्वास्थ्यचौकीले दिने जति सेवा पनि पाइदैन ।’ जिल्ला अस्पताल प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा गएपछि झन अस्तब्यस्त बनेको स्वास्थ्यकर्मीले जनाएका छन् । धेरैजसो स्वास्थ्यकर्मी समायोजन भएर अन्यत्र गइसकेका छन् । निजी मेडिकलभन्दा सस्तो र सहज रुपमा औषधि उपलब्ध गराउने भनी सरकारले अस्पतालमा स्थापना गरेको फार्मेसीमै औषधि पाउन छाडेपछि विपन्न बिरामी सास्ती भोग्न बाध्य छन् ।


लेखापालको तत्काल व्यवस्थापनका लागि प्रदेश मन्त्रालयमा धाउँदासमेत सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले वताइन् । ‘अस्पतालमा डाक्टरलाई काम गर्ने वातावरण नै छैन,’ उनले भनिन्, ‘उपकरण, सेवासुविधा र पूर्वाधार नहुँदा कसरी सेवा प्रभावकारी हुन्छ ?’ लेखापालको व्यवस्था गरेर तत्काल औषधि खरिद प्रक्रिया अघि बढाउन लागेको उनको भनाइ छ ।


सेवाग्राहीको गुनासो बढेपछि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गत शुक्रवार जिल्ला अस्पतालको निरीक्षण गरेका छन् । उनले अस्पतालमा रहेको फार्मेसीको निरीक्षण गर्दै सम्बन्धित पक्षलाई तत्काल औषधि आपूर्तिको व्यवस्था गर्न निर्देशन दिएको जानकारी दिए ।


मौसम परवर्तन भएसँगै स्वास्थ्य संस्थामा बिरामीको संख्या बढिरहेको छ । स्थानीय तहले खरिद तथा आपूर्तिमा बेवास्ता गर्दा औषधि अभाव चुलिएको हो । अभावका कारण दुर्गमका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी औषधि नपाएर रित्तो हात घर फर्कने गरेका छन् । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि जिल्ला अस्पतालले अहिलेसम्म ३० प्रकारका औषधिसमेत उपलव्ध गराउन सकेको छैन ।

प्रकाशित : आश्विन ३, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?