३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

घरेलु हिंसाका पीडकलाई ‘उन्मुक्ति’

३ वर्षमा ७ सय २८ मध्ये २ सय २४ जनाले घरेलु हिंसाका कारण आत्महत्या गरेका छन् । तर प्रहरीले ७ घटनामा मात्र मुद्दा दर्ता गरेको छ ।
ज्योति कटुवाल

(वीरेन्दनगर, सुर्खेत) — गत वर्ष सुर्खेतको बराताल गाउँपालिका ५ की लक्ष्मी मर्स्याङगीले पतिको कुटाइबाट दुवै आँखा गुमाइन् । तर पति नरेश मर्स्याङ्गीले कुटपिट गर्न छोडेनन् । पीडा सहन नसकी उनले केही समयमै घरमै झुन्डिएर आत्महत्या गरिन् । 

घरेलु हिंसाका पीडकलाई ‘उन्मुक्ति’

‘पतिले विभिन्न बहानामा दु:ख दिने र दिनहुँ कुटपिट गर्ने गर्थ्यो,’ एक छिमेकीले भनिन्, ‘दिनदिनैको यातना सहन नसकी विचराले आत्महत्या गरिन् ।’ भेरीगंगा नगरपालिका–२ की पवीसरा कामीको व्यथा पनि उस्तै छ । पति र जेठाजुले दिएको शाररीक तथा मानसिक यातना खप्न नसकी उनले आत्महत्या गरेको आफन्त बताउँछन् । प्रहरीले उनका पति धनवीर सुनार र जेठाजु यज्ञ सुनारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


कर्णालीमा यस्ता घटना दैनिकजसो घटिरहेका छन् । तर प्रहरीकोमा आउने मुद्दाको संख्या ज्यादै न्यून छ । कानुनी प्रक्रिया निकै लामो र झन्झटिलो हुँदा पीडकले उन्मुक्ति पाउने गरेको नागरिक अगुवा अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् । मुलुकी ऐन जारी भएयता कर्णालीका १० जिल्लामा घरेलु हिंसाका ७ वटा मात्र मुद्दा दर्ता भएका छन् । आव ०७५/७६ मा कर्णालीमा ६७ घटना भए पनि प्रहरीमा ७ वटा मात्र दर्ता भएका हुन् ।


अधिवक्ता सापकोटाका अनुसार कतिपय घटनामा प्रहरीले जाहेरी लिन नै मान्दैन । कर्णाली प्रदेशमा पछिल्लो समय २ सय २४ जनाले घरेलु हिंसाका कारण ज्यान गुमाएको तथ्यांक छ । तर पीडकले उन्मुक्ति पाउँदा हिंसाले प्रश्रय पाइरहेको सापकोटाको बुझाइ छ । कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा २ सय ६० जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीमा छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी रवि रावल प्रहरीमा आएका घटनामा जाहेरीको आधारमा मुद्दा चलाइने बताए । ‘अधिकांश केस प्रहरीमा नआइ सिधैं अदालत गएका पनि छन्,’ उनले भने, ‘हामी जतिसक्दो पीडितलाई न्याय दिने पक्षमा हुन्छौं ।’


कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तीन वर्षयता सात घटनामा मात्र आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको छ । तर यो अवधिमा कर्णालीमा ७ सय २८ जनाले आत्महत्या गरेको कार्यालयको तथ्यांक छ । तीमध्ये घरेलु हिंसाको कारण आत्महत्या गर्नेको संख्या २ सय २४ रहेको कार्यालयले जनायो । कार्यालयका अनुसार झुन्डिएर ५ सय ४३ जनाले आत्महत्या गरेको छन भने बिष सेवनबाट १ सय ६५ जनाको ज्यान गएको छ ।


जुम्लाकी प्रहरी निरीक्षक नवीन ओलीका अनुसार ग्रामीण क्षेत्रमा हिंसाका घटना प्रहरीसम्म आउनै मुस्किल छ । ‘श्रीमान् हाम्रा देवता हुन् भन्ने मान्यता अझै ग्रामीण क्षेत्रमा छ,’ उनले भन्छिन्, ‘अशिक्षा र कानुनी सचेतनाको अभावमा पनि महिलामाथि हुने विभिन्न हिंसा प्रहरीमा नआउने गरेका हुन् ।’ गाउँका भद्रभलाद्मीमार्फत हिंसाका घटना मिलाइने गरिएको प्रहरी निरीक्षक ओली बताउँछिन् ।


कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाका अनुसार अधिकांश महिलाले आफूमाथि हुने हिंसालाई सामान्य रुपमा लिने गरेकाले पीडकलाई कारवाहीको दायरामा ल्याउन नसकेको बताए । ‘गरिबी, अशिक्षा र मदिरासँग धेरै घरेलु हिंसाका घटना जोडिएका हुन्छन्,’ उनले भने, ‘अधिकांशलाई हिंसा गर्नेमाथि कारबाही हुन्छ भन्ने नै थाहा हुदैन, जसका कारण प्रहरीमा जाहेरी नै आउँदैनन् ।’ उनले जाहेरी आएका आधारमा अदालतमा प्रहरीले मुद्दा दायर गर्दै आएको जानकारी दिए । संहिता आउनुअघिका केशले हदम्याद नाघेकाले पनि प्रहरीलाई मुद्दा दर्ता गर्न समस्या भएको उनको भनाइ छ ।


तिम्सिनाका अनुसार ग्रामीण क्षेत्रका महिलाले हिंसाकै कारण आत्महत्याको बाटो रोज्न थालेको छन् । उनले आत्महत्या गर्नेमा १६ देखि ३० वर्ष उमेर समूह र जनजाति समुदायका व्यक्ति बढी रहेको जानकारी दिए ।

प्रकाशित : आश्विन ३, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?