कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

यातायात कार्यालय सधैं बन्द

(रुकुम पश्चिम) — चौरजहारी नगरपालिकामा यातायात व्यवस्था सेवा कार्यालय उद्घाटन भएको एक साता हुन लाग्यो । तर कार्यालय एक दिन पनि खुलेको छैन । 

यातायातसम्बन्धी काम बुझ्न आएकाहरू पनि कार्यालय नै नभेटाएर फर्किरहेका छन् । जहाँ कार्यालयको बोर्ड त छ, तर कार्यालय छैन । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले उक्त कार्यालय चौरजहारीमा राख्ने भन्दै बोर्ड उद्घाटन गराएको हो । तर कार्यालयको बोर्ड टाँग्ने बाहेकको अरु काम भएको छैन ।


गत भदौ २६ गते चौरजहारी नगरपालिकामै बोर्ड राखेर कार्यालय उद्घाटन गरिएको थियो । त्यसपछि त्यससम्बन्धी कुनै पनि गतिबिधि हुन सकेका छैनन् । कार्यालयमा प्रदीप रेग्मीलाई प्रमुख तोकिएको छ । कार्यालय प्रमुख रेग्मी आफै कार्यालयका बारेमा अनभिज्ञ छन् । कार्यालय उद्घाटनको सिलसिलामा तीन दिन मात्र चौरजहारी बसेका उनी त्यसपछि सुर्खेतमै छन् । भाद्र २५ गते चौरजहारी पुगेका रेग्मीले भदौ २६ गते कार्यालयको बोर्ड टाँगेर कार्यालय उद्घाटन गराएका थिए भने २७ गतदेखि सुर्खेत फर्किएको थिए । ‘कार्यालयको प्रमुख म नै तोकिएको छु,’ उनले भने, ‘बोर्ड टाँग्नेभन्दा अरु कामका बारेमा म आफैलाई केही थाहा छैन ।’ कार्यालयको कार्यक्षेत्र कता कता हो भन्नेबारे केही जानकारी नभएको उनको भनाइ छ ।


‘मलाई मन्त्रालयले जा गएर बोर्ड मात्रै भए पनि टाँगेर आइज भन्यो,’ प्रमुख रेग्मीले भने, ‘मैले त्यसै गरेको हुँ, त्यो भन्दा बढी मलाई केही थाहा छैन ।’ उनले चौरजहारी नगरपालिकाका प्रमुखलाई अनुरोध गरेर नगरपालिकाकै कार्यालयमा बोर्ड टाँगिएको उनले बताए । आफू फेरि कहिले चौरजहारी फर्किने र कामकाज थाल्ने भन्ने विषयमा समेत जानकारी नभएको उनको भनाइ छ । मन्त्रालयले भनेको काम गरिसकेको भन्दै उनले बाँकी कामको जिम्मेवारी

नपाउँदासम्म चौरजहारी नफर्कने उनले जानकारी दिए ।


कार्यालयमा कति कर्मचारी रहने, के काम गर्ने र कार्यक्षेत्र कता रहने भन्ने निर्क्योल अझै हुन सकेको छैन । तर बिनाकुनै तयारी कार्यालयको उद्घाटन गरिएकाले स्थानीयबासी अन्योलमा छन् । कार्यालयले रुकुम पश्चिमसहित जाजरकोट र सल्यानको समेत काम गर्ने, साना/ठूला सवारी साधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्रसमेत वितरण गर्ने प्रचार गरिएको छ । तर कार्यालय प्रमुख तोकिएका रेग्मी आफैंले यो कुरालाई अस्वीकार गरेका छन् ।


प्रकाशित : आश्विन ३, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?