डेंगुविरुद्ध सचेतना अभियान

राजबहादुर शाही

(मुगु) — जिल्लामा डेंगुको संक्रमण न्यूनीकरणका लागि सचेतना अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत एक सातासम्म जिल्लाभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

मुगुमा सुरु गरिएको डेंगुरोगविरुद्धको सचेतना अभियानका सहभागी । तस्बिर : राजबहादुर/कान्तिपुर

जिल्लामा लामखुट्टेको संख्या बढ्न थालेपछि डेंगुको जोखिम बढ्दै गएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । तराईका जिल्लामा डेंगुका विरामी बढ्न थालेपछि र आउजाउ बढ्दै गएपछि संक्रमणको जोखिम बढेको हो । सरोकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दल लगायतसँग गरिएको अन्तरक्रियापछि अभियान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद शाहले बताए ।

अभियानअन्तर्गत बुधबार जिल्ला प्रहरी कार्यालयको अगुवाइमा बजार क्षेत्रमा ढलनिकास र सरसफाइ गरिएको छ । सदरमुकाम आसपासका बस्तीमा झाडी फडानी, पानी जमेका खाल्डाखुल्डी सफालगायत कामलाई तीब्र बनाइएको डिएसपी शाहले बताए । उनका अनुसार मातहतका इकाई परिचालन गरी ढुम, कार्कीबाडा, भामबाडा, श्रीनगर, ठिनीलगायत बस्तीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । भीई, धैनकोट, तारापानी, सिप रिघा, सुकाढिक, आम, रातापानीलगायत १० बस्तीलाई स्वास्थ्य कार्यालयले औलोको उच्च जोखिममा राखेको छ ।

आव ०७५/७६ मा रिघा, सुकाढिक, आमलगायत बस्तीमा ८५ जनालाई औले रोग देखा परेको थियो । यस वर्ष औलोका विरामी नभेटिएको भए पनि डेंगुको जोखिम बढेको जिल्ला अस्पताल प्रमुख डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार अस्पतालमा उपचारका लागि आउने भाइरल ज्वरोका विरामीको रक्त परीक्षण गर्न थालिएको छ । ‘अहिलेसम्म जिल्लामा डेंगुको संक्रमण भेटिएको छैन,’ उनले भने, ‘तर जुनसुकै बेला पनि रोगले महामारीको रुप लिनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिरहेका छौं ।’ बाहिरबाट आउने संक्रमितका कारण रोगको जोखिम बढी रहेको उनको भनाइ छ । घर वरपर खाल्डाखुल्डीमा पानी जम्न नदिन र घर वरपर सफा राख्न स्थानीयलाई आग्रह गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

डा. नगरकोटीका अनुसार ‘एडिज एजिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन्छ । एक्कासी ज्वरो आउने, टाउको र आँखाका गेडी दुख्ने, शरिरमा बिबिरा आउने, रक्तश्राब हुनेलगायत लक्षण देखिने गरेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन २, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

जाँच सरकारीमा, औषधि निजीबाट

चिकित्सक र स्वास्थ्यकर्मीले राम्रै जाँच गर्ने गरे पनि औषधि बाहिरबाट ल्याउनुपर्दा विपन्न नागरिक मर्कामा
राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका १३, सिंहबहादुर रावत एक सातादेखि ज्वरोले थलिएपछि उपचारका लागि जिल्ला अस्पताल पुगे । अस्पतालमा भर्ना भइ ४ दिनसम्म उपचार गराएका उनले औषधि भने बाहिरका मेडिकलबाट ल्याउनुपर्ने बाध्यता भयो ।

मुगुको ग्रामीण क्षेत्रका बिरामीलाई उपचारका लागि स्ट्रेचरमा राखेर जिल्ला अस्पताल ल्याइँदै । तस्बिर : राजबहादुर/कान्तिपुर 

त्यस्तै छायानाथरारा ४, का राजबहादुर भामलाई चिकित्सकले चेकजाँच गरी औषधि मेडिकलबाट किन्न सल्लाह दिए ।

उनीहरू मात्र होइन, जिल्ला अस्पताल ठिनीमा उपचारका लागि आउने सबै बिरामीले मेडिकलबाट औषधि किन्नुपर्ने बाध्यता भएको छ । औषधि अभाव भएको भन्दै चिकित्सकले मेडिकलबाट औषधि किन्न लगाउने गरेका छन् । मौसम परिर्वतनसँगै जिल्लामा ज्वरो, रुघाखोकी, टाइफाइट, आँखा पाक्नेलगायत रोगका बिरामी बढिरहेका छन् । बिरामी बढेपछि औषधिको मौज्जात सकिएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक ७० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

सरकारी अस्पतालमा उपचार गराएर फर्कदा ऋणको भारी बोक्नुपरेको रावतले गुनासो गरे । ‘चार दिनमा ४ हजार रुपैयाँ सकियो,’ उनले भने, ‘आफूसँग रकम थिएन, आफन्तसँग कर्जा गरी उपचार गराउनुपर्ने बाध्यता भयो ।’ उनले चिकित्सक र स्वास्थ्यकर्मीले राम्रै चेकजाँच गर्ने गरे पनि औषधि बाहिरबाट ल्याउनुपर्दा विपन्न नागरिक मर्कामा परेको गुनासो गरे ।

अस्पतालमा चिकित्सक थपिने क्रम बढे पनि औषधि अभावको समस्या सधैं हुने गरेको भामको भनाइ छ । ‘घण्टौं हिडेर गाउँबाट उपचारका लागि आउँदा पनि औषधि मेडिकलबाट किन्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो भन्दा मेडिकलमै उपचार गराएको बेश ।’ उनले गाउँका स्वास्थ्यचौकीमा पनि औषधि अभाव भएपछि अधिकांश बासिन्दा धरेलु उपचार र मेडिकलको भर पर्नुपरेको सुनाए ।

मुगुको ग्रामीण क्षेत्रबाटउपचारका लागि आएका बिरामी । तस्बिर : राजबहादुर/कान्तिपुर

जिल्ला अस्पतालका अनुसार निःशुल्क उपलव्ध गराइने ७० प्रकारका औषधिमध्ये अधिकांशको अभाव छ । मौज्जात सकिँदै गएकाले इमरजेन्सी अवस्थाबाहेक अन्य बिरामीलाई औषधि वितरण गर्न नसकिएको जिल्ला अस्पताल प्रमुख डा. निर्मल नगरकोटीले बताए । ‘चालु आवका लागि औषधि खरिदमा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘स्टोरमा केही औषधि सकिएको छ भने केही औषधिको स्टक सकिने क्रममा छ ।’ उनका अनुसार मौसमी रोगका बिरामीको संख्या बढिरहेको छ ।

बाम, रोवा, रुघा, कार्कीबाडा, टोप्ला, पिना, झ्यारी, बालचौरलगायत गाउँबाट आउने बिरामीको संख्या बढेको उनी बताउँछन् । बिरामीको चाप बढ्दै गएपछि १५ शय्याको अस्पतालमा बेडको समस्या हुन थालेको डा. नगरकोटीले जानकारी दिए ।

खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि औषधि अभावको समस्या चुलिएको छ । बिरामीको चाप बढिरहेको बेला औषधि सकिन लागेपछि उपचारमा समस्या भएको स्वास्थ्य केन्द्रका डा. किशोर खड्काले बताए । ‘स्थानीय तह गठनसँगै औषधि अभावको समस्या हुन थालेको हो,’ उनले भने, ‘पहिले जिल्ला स्वास्थ्य कार्यालयमार्फत औषधि आपूर्ति गर्दा सहज थियो, जनप्रतिनिधिले औषधि ढुवानीमा बेवास्ता गर्दा अभावको समस्या झेलिरहेका छौं ।’

उनका अनुसार सुकाढिक, कोटडाडा, रातापानी, आम, रिघा, हयाङलुलगायत गाउँबाट उपचारका लागि दैनिक ५० जनासम्म बिरामी आउने गरेका छन् । वर्षाका कारण खानेपानी मुहान दूषित हुँदा बिरामी बढिरहेको उनले जानकारी दिए । दूषित पानी र फोहर खानेकुराका कारण ज्वरो, पखालालगायत रोग फैलिएको उनी बताउँछन् ।

स्वास्थ्य कार्यालयका अनुसार सोरु गाउँपालिकाको भीइ, धनकोट, जिमा, नार्थपुलगायत दर्जन स्वास्थ्यचौकीमा औषधि सकिएको छ । सरकारी स्वास्थ्यचौकीमा औषधि सकिएपछि बिरामी सोरुकोटका विभिन्न मेडिकलमा उपचारका लागि जान बाध्य छन् ।

विशेषज्ञ चिकित्सक अभाव
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामी विभिन्न उपचार र शल्यक्रियाबाट वञ्चित भएका छन् । जिल्ला अस्पतालमा दुई विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अहिले एमविविएस चिकित्सकले मात्र अस्पताल धानिरहेका छन् ।

जिल्ला अस्पताल प्रमुख डा. नगरकोटीसमेत अस्थायी सेवाका चिकित्सक हुन् । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रियाका लागि बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता भएको छ । करार सेवामा भर्ना गरिएका डा. डबल मल्ल र मीना काफ्ले चौलागाइले अहिले जटिल प्रसूति शल्यक्रिया गरिरहेका छन् ।

उनीहरूलाई ७० दिनको एडभान्स तालिम दिएर शल्यक्रियाको काममा लगाइएको हो । जिल्ला अस्पातलमा अहिले जटिल प्रसूतिबाहेक अन्य शल्यक्रियाको सुविधा छैन । हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटलगायत समस्या भएका बिरामी महँगो रकम खर्च गरी जिल्लाबाहिर गएर उपचार गराउन बाध्य छन् ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पातल नेपालगन्जमा रेफर गर्ने गरिएको डा. मल्लले बताए । उनका अनुसार रक्तसञ्चार केन्द्र नहुँदा पनि शल्यक्रियामा समस्या भइरहेको छ । शल्यक्रिया गर्नुपर्ने गर्भवती महिलालाई रगत चाहिए सुरक्षाकर्मीसँग हारगुहार गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

प्रकाशित : भाद्र २८, २०७६ ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्