कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काम नसकिँदै भुक्तानी

हरि गौतम

(रुकुम पश्चिम) — गत आव ०७५/७६ मा कर्णाली प्रदेश सरकारले जिल्लाका ६ वटै स्थानीय स्थानीय तहमा एक/एक उद्योग स्थापना गर्ने योजना बनाएको थियो । सोही योजनाअनुसार सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग स्थापना हुने भयो । १ करोड बजेटबाट स्थापना गर्ने भएको उक्त उद्योगबाट २५ द्वन्द्वपीडितलाई रोजगारी दिने भनिएको थियो । योजना र लक्ष्यअनुसार काम भएको भए उक्त उद्योगले यो समयमा धमाधम कपडा उत्पादनको काम हुनुपर्ने हो, तर उद्योग स्थापना गर्ने भनिएको सानीभेरी गाउँपालिका १, चाइनाबगर सुनसान छ । 

उद्योगका लागि लिइएको जग्गामा न कुनै भवन छ, न भवन बन्ने सुरसार छ । सानोभेरी जनप्रवाह कृषि सहकारी संस्था लिमिटेडले गार्मेन्ट उद्योग स्थापना गर्ने जिम्मा लिएको हो । तर गत आवमा उक्त सहकारीले उद्योग स्थापना त पूरा गर्न सकेन । चाइनाबगरमा जग्गा लिएर त्यसलाई घेराबार गर्नुबाहेक सहकारीले गार्मेन्ट उद्योगको थप काम गर्न सकेको छैन । काम सकिएको छैन तर भुक्तानी भने भइसकेको छ । गार्मेन्ट उद्योग स्थापनाका लागि विनियोजन गरिएको पुरै १ करोड त सहकारीले भुक्तानी लिएको छैन । ४८ लाख बढी रकम भुक्तानी लिएको सहकारीले गार्मेन्ट सञ्चालनका लागि आवश्यक केही सामग्री पनि खरिद गरेको छ । खरिद गरिएको सामग्री एउटा कोठामा थन्काइएको छ । कर्णाली प्रदेश सरकारको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गार्मेन्ट उद्योगका लागि बजेट विनियोजन गरको थियो ।


गार्मेन्ट उद्योगमा अनियमितता भएको कुरा उठेपछि मन्त्रालयले अनुगमनसमेत गरेको छ । कर्णाली प्रदेश सभामा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले गार्मेन्ट उद्योगमा ठूलो अनियमितता भएको बताएका छन् । उक्त गार्मेन्टको विषयमा अख्तियारमा समेत उजुरी परेको छ । गार्मेन्ट सञ्चालन भए/नभएको विषयमा अनुगमन गर्न आएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको टोलीले गार्मेन्ट सञ्चालन नभएको जनाएको छ । अनुगमनका लागि चाइनाबगरसम्म पुगेका मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले गार्मेन्ट सञ्चालन नभएको पाइएको बताए । ‘कृषि ज्ञान केन्द्रमार्फत हाम्रो मन्त्रालयबाट गार्मेन्ट सञ्चालनका लागि भनेर भुक्तानी गएको छ,’ प्रवक्ता पण्डितले भने, ‘सरसर्ती हेर्दा भुक्तानी भएको जति काम भएको हामीले पायौं ।’ उनले सहकारीको कार्यालय भन्दा धेरै टाढा गार्मेन्ट उद्योग बनाउन लागिएको पाइएको जनाए । उद्योगका लागि आवश्यक सामान खरिद गरेको तर उद्योग सुरु नभएको पाइएको उनको भनाइ छ । गार्मेन्टका लागि भनेर लिइएको जग्गामा कम्पाउण्ड वाल लगाउनेबाहेक अरु काम भएको छैन । सहकारी आफैले रकम बिनियोजन गरेर जग्गा किनेको पाइएको पण्डित बताउँछन् ।


उद्योगका सामग्री थन्काइएको सिम्ली बजारमै उद्योग सञ्चालन गर्न पण्डितले सुझाव दिएका छन् । बाहिर आएजस्तो हिनामिना भएको नदेखिएको उनको भनाइ छ । सहकारीका अध्यक्ष जगदिश नकालले काम भए अनुसारको बिल भएको र सोही आधारमा भुक्तानी लिएको बताए । ‘उद्योग सन्चालनको अन्तिम तयारीमा छौं, सामग्री ल्याइसकिएको छ,’ उनले भने, ‘अब काम सुरु गर्ने तयार भइरहेको छ ।’ कार्यपालिकाको निर्णय अनुसार चाइनाबगरमा उद्योग बनाइने उनको भनाइ छ । सहकारीले खरिद गरेको जग्गामा उद्योगका लागि भवन बनेपछि कामकाज सुरु हुने उनले जानकारी दिए ।


प्रकाशित : आश्विन १, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?