डेढ दशकदेखि सडक अलपत्र

स्थानीय बासिन्दा भन्छन्, ‘रकम विनियोजन नहुँदा अधिकांश सडक पहिरोले पुरिएका छन् कि त खाल्डाखुल्डी भएर हिँड्नै नमिल्ने बने’
विप्लव महर्जन

(सल्यान) — कपुरकोट, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकालाई कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोड्ने सडक डेढ दशकदेखि अलपत्र परेको छ । सरकारी बेवास्ताका कारण लुहाम–काभ्रा–कालीमाटी–रामपुर सडक २०५९ सालदेखि अलपत्र परेको हो ।

डेढ दशकदेखि सडक अलपत्र

सडक निर्माणको काम २०४९ सालबाट सुरु गरिएको थियो । साविक जिल्ला विकास समितिले सुरु गरेको सडकमा अहिलेसम्म ३ करोड रुपैयाँ बढी रकम खर्च भइसकेको छ । स्थानीयका अनुसार त्रिवेणीको लुहामदेखि रामुपरसम्म साढे २६ किमि भए पनि १६ किमि मात्र पूरा भएको छ । साढे १० किमि सडक निर्माण नहुँदा स्थानीयबासी घण्टौं हिडेर आउजाउ गर्न बाध्य छन् । स्थानीयले कुटो, कोदालो प्रयोग गरेर ट्रयाक खोलेको सडकमा डेढ दशकयता रकम विनियोजन हुन सकेको छैन । रकम विनियोजन नहुँदा अधिकांश सडक पहिरोले पुरेको स्थानीय भिउसन नेपालीले बताए ।


साविक जिविसले सडक निर्माणमा आर्थिक वर्ष २०५७/५८ मा ६० लाख र २०५८/५९ सालमा ६० लाख रुपैयाँ खर्चिएको थियो । आरएआईडिपीले थप १५ लाख रुपैयाँ खर्च गरे पनि काभ्रादेखि सडक अगाडि बढ्न नसकेको स्थानीयले जनाएका छन् । केही वर्ष साविक गाविस कार्यालयले केही रकम खर्चिएका थिए । गाविस कार्यालयहरूले करिब १ करोड खर्चिएको स्थानीय बताउँछन् । २०५९ सालयता सडकमा रकम विनियोजन नभएको नेपालीले गुनासो गरे । ग्रामीण पूर्वाधार विकास कार्यक्रमले सडकमा काम गर्न खोजे पनि विवादका कारण निर्माणको काम अलपत्र थियो ।


काभ्राबाट कालीमाटी रामपुर हुँदै सुर्खेत जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हो । स्थानीय पुष्कर ओलीले सडक नबन्दा लुहामबाट खलंगा आएर बालुवासंग्रही हुँदै सुर्खेत पुग्नुपरेको बताए । सदरमुकाम आसपासका व्यक्तिहरू तुलसीपुरबाट कोहलपुर हुँदै सुर्खेत जाने गरेको उनी बताउँछन् । ‘यो सडकभन्दा पछि निर्माण सुरु गरिएको बालुवासंग्रही सडक पिच भएर दैनिक गाडी चल्ने भइसकेको छ,’ उनले भने, ‘त्रिवेणीको लुहामबाट काभ्रा र कालीमाटी गाउँपालिकाको रामपुरबाट दलबुरेसम्म मात्र गाडी चल्छ ।’ बीचमा १० किमि सडक निर्माण नभएकाले स्थानीयले सास्ती भोग्दै आइरहेको उनको भनाइ छ ।


त्रिवेणी गाउँपालिकाको लुहामदेखि काभ्राको रामबजारलाई मात्र लक्षित गरी निर्माण निर्माण थालिएको सडक केही वर्षपछि सुर्खेत जोड्नेगरी स्टमेट गरिएको थियो । स्थानीय टंक केसीले संघीयतापछि कपुरकोट, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकालाई प्रदेश राजधानी जोड्न सडक महत्वपूर्ण बनेको बताए । उनका अनुसार लुहामबाट रामपुर हुँदै सुर्खेतसम्मको दूरी करिव ९८ किमि छ । काभ्राबाट लुहाम–खलंगा–बालुवासंग्रही हुँदै सुर्खेत जाँदा झन्डै १ सय ५५ किमि यात्रा गर्नुपरेको उनी बताउँछन् । ‘हामीलाई सुर्खेत आउजाउ गर्दा ५० किमि बढी दूरीमा यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘रामपुर भएर जाँदा एकै दिनमा काम सकेर फर्कनसक्ने भए पनि बालुवासंग्रही तथा कोहलपुर भएर जाँदा तीन दिन लाग्ने गरेको छ ।’


विगतमा राजनीतिक विवाद, कम रकम विनियोजन हुनुलगायत कारण सडक बीचैमा अलपत्र परेको स्थानीय धनबहादुर ओलीले बताए । उनका अनुसार सडक नबन्दा गाउँमा उत्पादित बस्तु बिक्री गर्न समस्या भइरहेको छ । उनले सडक नबन्दा खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानीमा समेत सास्ती भोग्नुपरेको गुनासो गरे । ‘सडककै कारण प्रदेश राजधानी विरानो भयो,’ उनले भने, ‘सडक निर्माण गर्न पटकपटक विभिन्न निकायमा आग्रह गरिए पनि बेवास्ता भइरहेको छ ।’


त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले लामो समयदेखि अलपत्र परेको सडकले यस वर्ष पूर्णता पाउने दाबी गरे । उनका अनुसार सडक निर्माणका लागि गत वर्ष प्रदेश सरकारले दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । ठेकेदारको ढिलाइका कारण चालु आर्थिक वर्षमा काम सुरु हुने उनको भनाइ छ । यस वर्ष प्रदेश सरकारले थप ९ करोड रुपैयाँ छुट्याएको उनले जानकारी दिए । प्रदेश सरकारले पर्याप्त रकम विनियोजन गरेकाले यस वर्ष सडक निर्माणको काम पूरा हुने अपेक्षा गरिएको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए ।


प्रकाशित : आश्विन १, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?