कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सवारी दुर्घटनामा कमी

रुकुम पश्चिम — जिल्लामा सवारी दुर्घटनामा कमी आएको छ । आव ०७४/७५ को तुलनामा गत आव ०७५/७६ मा कम सवारी दुर्घटना भएको हो । 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई आवको अवधिमा तुलनात्मक रुपमा पछिल्लो आवमा सवारी साधन दुर्घटनामा कमी भएको हो ।

नियम मिचेर चल्ने सवारीको संख्या पनि घटेको छ भने त्यसकै कारण दुर्घटना कम भएको प्रहरीले जनाएको छ । आव ०७५/७६ मा कारबाहीमा पर्ने सवारीसाधन र राजस्वमा पनि कमी आएको ट्राफिक प्रहरीको भनाइ छ । गत आवमा जिल्लामा १२ दुर्घटना भएकामा ८ जनाको मृत्यु भएको थियो । ३० जना घाइते भएका छन् ।


आव ०७४/७५ मा २८ दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो भने ७८ घाइते भएका थिए । सडकको स्तर सुधार हुनु, ट्राफिक चेतनामा वृद्धि हुनु, ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही हुनुलगायत कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक इन्चार्ज (प्रहरी नायब निरीक्षक) गंगाराम विकले बताए ।


शून्य सहनशीलता अपनाएर नियम मिच्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइएको उनको भनाइ छ । ‘सानो गल्तीले ठूलो दुर्घटना हुन सक्छ,’ विकले भने, ‘त्यसैले सानो गल्ती गर्दा पनि नियमानुसार कारबाही गरिएपछि दुर्घटनामा कमी आयो ।’ गत आवमा राजस्वमा पनि कमी आएको उनले जानकारी दिए । गत वर्ष ट्राफिक कारबाहीबाट २६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयले ४ हजार ८ सय ८८ सवारी साधन कारबाहीबाट २६ लाख ३ हजार राजस्व संकलन गरेको जनाएको छ । गत आवमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् भने राजस्व पनि बढी संकलन भएको छ ।


१८ सय ३४ मोटरसाइकल कारबाहीबाट १० लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको विकले जानकारी दिए । उनका अनुसार ट्राफिक नियमविपरित चल्ने ८ सय ९८ बस, ५ सय ८६ जिप, ४ सय ११ ट्रक, ९८ ट्र्याक्टर र ६१ अटो कारबाहीमा परेका हुन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?