जोखिममा त्रिवेणी बजार 

रुकुम पश्चिम — ठूलीभेरी नदीका कारण त्रिवेणी बजारमा जोखिम बढ्दै गएको छ । यस वर्ष दुईपटक ठूलीभेरीमा आएको बाढीका कारण आठबीसकोट नगरपालिका ६, स्थित त्रिवेणी जोखिममा परेको हो । 

जोखिममा त्रिवेणी बजार 

ठूलीभेरीमा गत साउन अन्तिम साता आएको बाढीले सोही वडाको मन्काबगरका १२ घर बगाइदिएको थियो । निरन्तरको वर्षाका कारण पछिल्ला केही दिनदेखि त्रिवेणी बजारको डिलसम्मै ठूलीभेरीको बहाब पुगेको छ ।


ठूलीभेरीको बहाब बढ्दै जाँदा सर्वसाधारण आत्तिएका छन् । त्रिवेणी बजार रुकुम पश्चिमको आठबीसकोटको साथै डोल्पाको दुनै जाने मुख्य नाका हो । सडक मार्ग भएर डोल्पाको दुनै जाने मुख्य सडकको मुख्य बजार जोखिममा परेपछि स्थानीय चिन्तामा छन् ।


‘साउन अन्तिम साता र केही दिनअघि यो वर्षामा दुई पटक बजारसम्म ठूलीभेरीको बहाब आइसक्यो,’ स्थानीय विष्णु बोहराले भने, ‘पछिल्लो केही दिनदेखि त झन ठूलीभेरीले बजारको डिल छाडेको छैन ।’ हरेक रातभर पर्ने पानीले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बोहराले बताए । गत असारमा लगाइएको तारजालीको कारणले मात्रै ठूलीभेरी अझै अघि बढ्न नसकेको उनले बताए ।

संघीय सरकार र कर्णाली प्रदेश सरकारको सहयोगमा आठबीसकोट नगरपालिकाले गत असार महिनामा ठूलीभेरीका विभिन्न ठाउँमा १ करोड रुपैयाँको लगानीमा तारजाली लगाएको थियो । ‘यस अघिका वर्षहरूमा यसरी बजारको डिलसम्मै ठूलीभेरी आएको थिएन,’ बोहराले भने, ‘तर यो वर्ष दुई/दुई पटक बहाब बढेर आइसक्यो ।’


त्रिवेणी डोल्पाको दुनैको आधार बजारको रुपमा रहेको छ । नेपालगन्जबाट आउने निर्माण तथा खाद्य सामग्री त्रिवेणीमै पुर्‍याइन्छ । ठूलीभेरी नदीमाथि बनेको झोलुंगे पुल तरेपछि डोल्पाको सडक भेटिन्छ । यसका साथै डोल्पाकै नर्कु, कालिका, इल, ओकटलगायत ठाउँको मुख्य बजार नै त्रिवेणी हो । त्रिवेणीबाट डोल्पाको कालिका जानेहरू झोलुंगे पुल तरेरै पैदल गन्तव्यमा जाने गरेका छन् ।


स्थानीय व्यापारी लीला बोहराले ठूलीभेरीको बहाब बढ्दै गएपछि बजारबासीको साथै बजारमा कारोबार गर्नेहरू समेत समस्यामा परेको बताइन् । ‘हामी बजारबासी त चिन्तामा पर्ने भयो नै,’ उनले भनिन्, ‘यही बजारलाई आधार बनाएर तलमाथि गर्नेसमेत चिन्तित हुने गरेका छन् ।’


उनका अनुसार बजारमा ३३ घरपरिवारले व्यापार व्यवसाय गरिरहेका छन् । गत असारमा राखेको तारजाली कम भएका कारण जोखिम बढिरहेको स्थानीयको भनाइ छ । तारजालीले बजारभित्रै पुग्ने ठूलीभेरीको बहाबलाई रोके पनि जोखिम टार्न नसकेको स्थानीय रामबहादुर धरालाले बताए ।


आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले गत असारमा लगाइएको तारजालीले केही राहत गरे पनि थप तारजाली लगाउनुपर्ने आवश्यक्ता देखिएको बताए । अर्को वर्ष थप जाली लगाउने गरी योजना बनाएको नगर प्रमुख केसीले जनाए । त्रिवेणीबजारदेखि रिम्नासम्मका विभिन्न ठाउँमा आवश्यकताअनुसारको तारजाली लगाउनेगरी पहल भइरहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?