मदिरा र महिला हिंसाविरुद्ध प्रहरी अभियान

कान्तिपुर संवाददाता

कालीकोट — रास्कोटमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु गरिएको छ । जिल्लालाई मदिरा र महिला हिंसामुक्त बनाउने अभियानसहित पहिलो चरणमा रास्कोटमा कार्यक्रम सुरु गरिएको हो । 

रास्कोट नगरपालिकाको सहकार्यमा कार्यक्रम सुरु गरिएको प्रहरीले जनाएको छ । सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन, अपराध रोकथाम गर्न तथा सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्न कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ । कार्यक्रममार्फत सामुदायिक सुरक्षा अभिवृद्धि हुने प्रहरीको अपेक्षा छ ।

कार्यक्रममा सहभागी सरोकारवालाले आपराधिक घटना रोक्न नागरिक सचेतना जरुरी रहेको जनाए । जिल्ला प्रहरी प्रमुख (डीएसपी) श्यामबाबु ओलियाले अपराधमुक्त जिल्ला बनाउन समुदायको सक्रियता र सहयोग अपरिहार्य रहेको जनाए । उनले कालिकोटमा ह्नुे अधिकांश अपराधसँग मदिरा जोडिएले प्रहरीले मदिरा नियन्त्रण अभियान सुरु गरिसकेको जनाए । ‘अपराध र अपराधी कसैका आफन्त होइनन्,’ उनले भने, ‘अपराधलाई सबै मिलेर निरुत्साहित गर्न जरुरी छ ।’

जिल्लामा शान्ति सुरक्षा कायम गर्न सरकारले प्रहरीलाई जिम्मेवारी दिए पनि सबै नागरिकको सहयोग बिना सम्भव नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनले समुदाय प्रहरी साझेदारी अभियानले समाजमा सबैलाई मिलेर बस्न प्रेरित गर्ने र अपराध घटाउन सहयोग हुने जनाए ।

प्रहरीले जिल्लालाई जातीय छुवाछुतमुक्त, बाल विवाह न्यूनीकरण, महिला हिंसा नभएको र अवैध मदिरारहित जिल्ला बनाउन अभियान थालिएको जनाएको छ । रास्कोट नगरपालिकाको सहकार्यमा एक साताअधि प्रहरी र श्रम रोजगार बैकका सदस्यले ५ हजार लिटर अवैध मदिरा जफत गरेर नष्ट गरेका थिए । कालिकोटमा हालै गरिएको अध्ययनअनुसार ५७ प्रतिशत महिला हिंसा हुने गरेको छ भने वार्षिक १५ जनाले आत्महत्या गर्ने गरेका छन् ।

म्यादी प्रहरी विवेक ऐडीको मृत्युपछि प्रहरी र कालिकोटका नागरिकबीच चिसिएको सम्बन्ध सुधार गर्न यसअघिका डीएसपी विनोद शर्माले गरेका प्रयासमा आफूले पनि निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र ३०, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वको पीडा बिर्सँदै कुइका

विद्यालयमै खाजा पाइने र अतिरिक्त कार्यक्रमअन्तर्गत नाचगान र रमाइलो गर्ने वातावरण भएपछि विद्यालय जान विद्यार्थी आकर्षित
मेनुका ढुंगाना

अछाम — पाँच वर्षअघिसम्म अछाम कुइकाको ओखलढुंगा गाउँका ‌बासिन्दालाई छोराछोरीलाई ढुक्कले विद्यालय पठाउन सक्ने वातावरण थिएन । सदरमुकाम मंगलसेनबाट ७/८ घण्टाको पैदल दूरीमा रहेको गाउँ अहिलेसम्म पनि सशस्त्र द्वन्द्वको पीडामा छ ।

द्वन्द्वका बेला जलाइएको विद्यालय पुनःस्थापनापछि नियमित आउने विद्यार्थी । दिवा खाजाले विद्यार्थीको पठन–पाठन पनि नियमित बनाएको छ ।तस्बिर : मेनुका/कान्तिपुर

अछाम आक्रमणका बेला तत्कालीन राज्यपक्ष र विद्रोही माओवादीको निसानामा परेको यो गाउँमा रहेको विद्यालय पनि जलाइएको थियो ।

दलित बस्ती भएको र द्वन्द्वको चपेटामा परेको यो गाउँका अभिभावक, बालबालिका विद्यालय गएर असुरक्षित हुनुभन्दा घरमै बस्दा सुरक्षित ठान्थे । केटाकेटीको उमेर परिपक्व भएपछि छोराहरू भारत कामको लागि जाने र छोरीहरू विवाह गरी जाने चलन थियो । गाउँमै २७ वर्षअघि विद्यालयको स्थापना भएको थियो ।

विद्यालय स्थापना भएलगत्तै देशमा अशान्ति सुरु भयो । दुर्गम मानिने कुइकामै द्वन्द्वका बखत विद्यालय जलाइयो । पढ्नुपर्छ भन्ने चेतना भएकाहरू डरले भागे । हुनेखानेहरू सहर पसे । कोही तराई पसे । र धेरै बेपत्ता भए । गाउँमा बाँकी रहेकाहरू दुःख–सुख गाउँमै बसे ।

‘हामी सरकार पक्षका पनि थिएनौं । विद्रोही पक्षका पनि थिएनौं । हामी माथि बिथ्थामा प्रहार भयो,’ स्थानीय मनसरा भुलले भनिन्, ‘महिनौंसम्म हामी बन्धक भयौं । त्यतिबेलादेखि नै हामी विकासमा पनि पछि परिसकेका थियांैं ।’ अहिले यहाँको परिवेश बदलिएको छ । सरकारले कुइकालाई नचिने पनि बाहिरी वातावरण बुझेर गाउँमा विद्यालय पुनःस्थापना गरिएको यहाँका बासिन्दाको बुझाइ छ ।

गाउँमा विद्यालय स्थापना गर्न र नियमित सञ्चालन गर्न धेरै दुःख गर्नुपरेको देवलक्ष्मी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मञ्जित भुल बताउँछन् । ‘शिक्षा पहिलो प्रथामिकता हो भन्ने हामीले बुझ्यौं । अभिभावककै लगानी र चासोमा विद्यालय स्थापना गर्न पनि सफल भयौं,’ उनले भने, ‘सरकारले दिएको दरबन्दी र सेवा सुविधाले मात्रै विद्यालय चल्न सक्ने अवस्था नभएपछि विभिन्न संघ–संस्थाको सहयोग माग्यौं अहिले विद्यालय राम्रोसँग चलेको छ ।’

उनका अनुसार ओखलढुंगा गाउँ र यहाँको देवलक्ष्मी आधारभूत विद्यालयमा वाक नेपाल, वर्ल्डभिजन, आस्था नेपाल नामका संस्थाले सहयोग गरिरहेका छन् । ‘विनाकारण कति महिलाको सिन्दुर पुछियो । कतिले अकालमै ज्यान गुमाउनु पर्‍यो । कति बालबालिका टुहुरा भए । यो पीडा हामीले मात्र महुसुस गर्न सक्छौं,’ स्थानीय तारा भुलले भनिन्, ‘गाउँमा भएको एउटा विद्यालयले अहिले हामीलाई खुसी हुन सिकाएको छ ।’

ताराले भने जस्तै द्वन्द्वको पीडा बिर्सेर अहिले यहाँका अभिभावकले बालबालिकालाई विद्यालयमा नियमित पठाउन थालेका छन् । हिँड्नै परे पनि विद्यालयमा हाजिर हुन पुगेकै हुन्छन् । देवलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक मोतिराम देवकोटाका अनुसार १५० विद्यार्थी छन् ।

‘सामुदायिक विद्यालयमा विद्यार्थी अनियमित हुने, पूरा समय नबस्ने र अभिभावकले चासो नदिने प्रवृत्ति रहेको गुनासो जताततै आइरहन्छन् । तर यहाँ त्यो समस्या छैन,’ उनले भने, ‘हाम्रो विद्यालय भने बालबालिका आकर्षणको केन्द्र भएको छ ।’ उनका अनुसार भौतिक रुपमा विद्यालय अझै कमजोर छ । भवनहरू थप्ने र जीर्ण भवन सुधार्ने पहल भइरहेको छ । ‘यो विद्यालयलाई यहाँसम्म पुर्‍याउन अभिभावकको भूमिका ठूलो छ,’ उनले भने ।

विद्यालयमै खाजा पाइने र अतिरिक्त कार्यक्रमअन्तर्गत नाचगान र रमाइलो गर्ने वातावरण भएपछि विद्यार्थी आफूखुसी विद्यालय आउने गरेको अभिभावकहरू बताउँछन् । ‘छोराछोरीलाई स्कुल पठाउने बेला निकै झन्झट हुन्थ्यो । खाजा बनाएर पठाउन नसकेको दिन स्कुलै जान्नथे,’ कमलबजार नगरपालिका ५ कुइकाकी दुर्गा भुलले भनिन्, ‘अहिले त पढाइ–लेखाइ पनि राम्रो छ । लामो समयको प्रतीक्षापछि विद्यालय पाएकाले होला हामी पनि निकै खुसी छौं ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्