१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

काखमा बच्चा, पिठ्युँमा डोको

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिन्डे नगरपालिका–११, आपचौरकी २८ वर्षीया भावना थापाले करिब एक रोपनी जग्गामा तरकारी खेती गरिरहेकी छन् । तरकारी बिक्री गर्न नजिकका व्यापारिक केन्द्रमा आउजाउ गर्दा सधैं उनको काखमा बच्चा र पिठ्युँमा डोको हुन्छ । 

काखमा बच्चा, पिठ्युँमा डोको

उनका पति वैदेशिक रोजगारीमा छन् । घरमा एक वर्षीय छोरासहित तीन बालबालिका छन् । स्याहारसुसार गर्ने कोही नहुँदा तरकारी बिक्री गर्न जाँदा थापाले सानो छोरालाई आफूसँगै लैजाने गरेकी हुन् ।


उनी दिनहुँ तरकारीको डोको र दूधे बालक बोकेर तरकारी बिक्री गर्न नजिकैका व्यापारिक केन्द्रमा पुग्छिन् । ‘घरमा उसको स्याहार गर्ने कोही छैनन्,’ छोरालाई देखाउँदै उनले भनिन्, ‘त्यसैले तरकारी बिक्री गर्न आउँदा सधैं ल्याउने गरेकी हुँ ।’ उनले तरकारीबाटै भएको आम्दानीले परिवारको खर्च धानिरहेको बताइन् ।


गरिबीका कारण परिवार पाल्न समस्या भएपछि केही वर्षयता तरकारी खेती गरिरहेको थापाले बताइन् । अन्नबालीसँगै उनको बारीमा मौसमी तरकारी उत्पादन भइरहेको छ । तर उनलाई बजार अभावमा तरकारी बिक्री गर्न तीन घण्टा टाढाको ढोरपीपल, रैकर, बालुवासंग्रही, सल्लीबजारसम्म पुग्नुपर्ने बाध्यता छ ।


थापाका एक छोरी र एक छोरा गाउँकै विद्यालयमा अध्ययन गर्छन् । परिवार पाल्न समस्या भएपछि ६ महिनाअघि पतिलाई रोजगारीका लागि खाडी मुलुक पठाएको उनी बताउँछिन् । ‘नजिकै बजार नभएका कारण तरकारी बिक्रीमा समस्या भइरहेको छ,’ उनले भनिन्, ‘उता श्रीमान्को कमाइ पनि खासै राम्रो छैन, अहिलेसम्म एक रुपैयाँ पनि पठाएका छैनन् ।’


रोजगारीमा जाँदा पतिले आफन्तसँग एक लाख रुपैयाँ ऋण लिएका थिए । पतिले रकम नपठाउँदा ऋण तिर्न समस्या भइरहेको उनको गुनासो छ ।


तरकारी खेतीबाट थापाले सिजनमा ४० हजार रुपैयाँसम्म कमाइ गरिरहेकी छन् । ढोरपीपलमा निर्माण गरिएको कृषि उपज संकलन केन्द्र तीन महिनामै बन्द भएपछि उनीसहित आसपासका गाउँका किसान मर्कामा छन् । ‘डोकोमा तरकारी बोकेर ल्याउँदा समस्या छ नै, तर यस वर्ष तरकारीको भाउ राम्रो भएकाले आम्दानी बढ्ने अपेक्षा छ,’ उनले भनिन्, ‘तरकारीबाट घरखर्च र छोराछोरीको खर्च पुगेको छ, समूहमा सानोतिनो रकम पनि बचत गरिरहेकी छु ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?