काखमा बच्चा, पिठ्युँमा डोको

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिन्डे नगरपालिका–११, आपचौरकी २८ वर्षीया भावना थापाले करिब एक रोपनी जग्गामा तरकारी खेती गरिरहेकी छन् । तरकारी बिक्री गर्न नजिकका व्यापारिक केन्द्रमा आउजाउ गर्दा सधैं उनको काखमा बच्चा र पिठ्युँमा डोको हुन्छ । 

सल्यान बन्गाडकुपिन्डेस्थित आँपचौरकी महिला तरकारी बिक्री गर्दै  । तस्बिर : विप्लव/कान्तिपुर

उनका पति वैदेशिक रोजगारीमा छन् । घरमा एक वर्षीय छोरासहित तीन बालबालिका छन् । स्याहारसुसार गर्ने कोही नहुँदा तरकारी बिक्री गर्न जाँदा थापाले सानो छोरालाई आफूसँगै लैजाने गरेकी हुन् ।

उनी दिनहुँ तरकारीको डोको र दूधे बालक बोकेर तरकारी बिक्री गर्न नजिकैका व्यापारिक केन्द्रमा पुग्छिन् । ‘घरमा उसको स्याहार गर्ने कोही छैनन्,’ छोरालाई देखाउँदै उनले भनिन्, ‘त्यसैले तरकारी बिक्री गर्न आउँदा सधैं ल्याउने गरेकी हुँ ।’ उनले तरकारीबाटै भएको आम्दानीले परिवारको खर्च धानिरहेको बताइन् ।

गरिबीका कारण परिवार पाल्न समस्या भएपछि केही वर्षयता तरकारी खेती गरिरहेको थापाले बताइन् । अन्नबालीसँगै उनको बारीमा मौसमी तरकारी उत्पादन भइरहेको छ । तर उनलाई बजार अभावमा तरकारी बिक्री गर्न तीन घण्टा टाढाको ढोरपीपल, रैकर, बालुवासंग्रही, सल्लीबजारसम्म पुग्नुपर्ने बाध्यता छ ।

थापाका एक छोरी र एक छोरा गाउँकै विद्यालयमा अध्ययन गर्छन् । परिवार पाल्न समस्या भएपछि ६ महिनाअघि पतिलाई रोजगारीका लागि खाडी मुलुक पठाएको उनी बताउँछिन् । ‘नजिकै बजार नभएका कारण तरकारी बिक्रीमा समस्या भइरहेको छ,’ उनले भनिन्, ‘उता श्रीमान्को कमाइ पनि खासै राम्रो छैन, अहिलेसम्म एक रुपैयाँ पनि पठाएका छैनन् ।’

रोजगारीमा जाँदा पतिले आफन्तसँग एक लाख रुपैयाँ ऋण लिएका थिए । पतिले रकम नपठाउँदा ऋण तिर्न समस्या भइरहेको उनको गुनासो छ ।

तरकारी खेतीबाट थापाले सिजनमा ४० हजार रुपैयाँसम्म कमाइ गरिरहेकी छन् । ढोरपीपलमा निर्माण गरिएको कृषि उपज संकलन केन्द्र तीन महिनामै बन्द भएपछि उनीसहित आसपासका गाउँका किसान मर्कामा छन् । ‘डोकोमातरकारी बोकेर ल्याउँदा समस्या छ नै,तर यस वर्ष तरकारीको भाउ राम्रो भएकाले आम्दानी बढ्ने अपेक्षा छ,’ उनले भनिन्, ‘तरकारीबाट घरखर्च र छोराछोरीको खर्च पुगेको छ, समूहमा सानोतिनो रकम पनि बचत गरिरहेकी छु ।’

प्रकाशित : भाद्र ३०, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

कुहिरोले उडान प्रभावित हुँदा लुक्लामा सयाैं पर्यटक अलपत्र 

रासस

सोलुखुम्बु — मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा तीन दिनदेखि सयाैं विदेशी पर्यटक अलपत्र परेका छन् । शुक्रबारदेखि लुक्लामा उडान प्रभावित बनेकाे हो ।

फाइल तस्बिर

खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए। आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ ।
निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन् । खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ । एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करीब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ ।
विमानस्थलमा हवाइजहाज नभए पनि हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र पर्छ ।

त्यसैले यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्यधिक हुन्छ ।सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक आउने गर्छन् ।

प्रकाशित : भाद्र ३०, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्