कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

झोल्लिएका तारले सदरमुकाम कुरूप

विप्लव महर्जन

सल्यान — खलंगामा यत्रतत्र छरिएका तारले सदरमुकाम कुरुप बन्दै गएको छ । अव्यवस्थित तारका कारण स्थानीयले सास्ती पाएका छन् नै विभिन्न जोखिम बढिरहेको छ । 

झोल्लिएका तारले सदरमुकाम कुरूप

नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र इन्टरनेट कम्पनीलगायतले जथाभाबी तार जडान गर्दा बटुवालाई समेत हिँडडुलमा समस्या भइरहेको हो । सदरमुकाममा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबल नेटवर्क तथा टेकमाइन, मेटालिंक, सुबिसु, एभरेस्ट, वर्डलिंकलगायत संस्था र कम्पनीले तार जथाभावी जडान गरेका छन् । तारका कारण सदरमुकामको सौन्दर्य गुमेको स्थानीयको गुनासो छ ।


अव्यवस्थित तानिएका तार र जथाभाबी गाडेका पोलले यातायातका साधन सञ्चालनमा समस्या भइरहेको स्थानीय कमल केसीले बताए । उनका अनुसार फलामका पोलमा टाँगिएका तार तुलनात्मक रुपमा व्यवस्थित भए पनि काठको पोलमा जडान गरिएका तारले जोखिम बढाएको छ । ‘कुनै न कुनै तार भुइँमा नझरेको दिन नै हुँदैन, जथाभाबी तार लत्रिएको हप्तादिन बित्दासमेत सम्बन्धित निकायको ध्यान जाँदैन,’ उनले भने, ‘तार जथाभाबी लत्रदा आउजाउसमेत प्रभावित हुने गरेको छ ।’


खलंगालाई स्थानीय सरकारले व्यवस्थित बनाउँदै लगे पनि तार व्यवस्थापनमा ध्यान दिइएको छैन । ‘अव्यवस्थित रूपमा घरका छेउछाउमा गाडेका पोल र तारका कारण कतिखेर के घटना हुने हो भन्ने त्रास हुने गरेको छ,’ स्थानीय गोविन्द शर्माले भने, ‘वर्षाका कारण काठका पोल कुहिएर ढल्दा तारको सास्ती बढ्दै गएको हो ।’


अव्यवस्थित तारका कारण बालबालिका बढी प्रभावित बनेको उनी बताउँछन् । नगरपालिकाले मापदण्ड नतोक्दा तार जथाभाबी टाँग्ने क्रम बढेको उनको आरोप छ । घर आसपासमा फैलिएका बिजुलीका तारले करेन्टको जोखिम बढेको उनी बताउँछन् ।


बजार व्यवस्थापन समिति अध्यक्ष आनन्द राईले तार व्यवस्थित गर्न सम्बन्धित निकायलाई पटकपटक आग्रह गरिए पनि बेवास्ता भइरहेको बताए । ‘बिजुली, टेलिकम, केबल नेटवर्क इन्टरनेटलगायत तारले केही गल्लीमा यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ,’ उनले भने, ‘बटुवा र स्थानीयले लामो समयदेखि जोखिम मोलिरहेका छन् ।’


बिजुलीका तारमा करेन्ट सर्ट हुँदा धेरै ठाउँमा आगजनी भएको उनको भनाइ छ । उनका अनुसार अव्यवस्थित तारकै कारण करेन्ट लागेर घाइते हुनेको संख्या बढिरहेको छ ।


प्राधिकरण वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले तार व्यवस्थित गरिरहेको दाबी गरे । उनले काठका पोल हटाउँदै फलामे राख्न थालिएको र घरअगाडिका सार्न थालिएको बताए । शारदा नगरपालिका २ का वडाध्यक्ष केशव श्रेष्ठले चाँडै सरोकारवालाको बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिए । ‘जथाभावी तारले सास्ती भोगेका विभिन्न गुनासा आएका छन्,’ उनले भने, ‘ती गुनासा सम्बोधनका लागि बैठक गर्ने तयारी गरिरहेका छौं ।’

प्रकाशित : भाद्र २८, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?