१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिरोले पुरियो सडक

अविरल वर्षाले पहिरो खस्दा करिब ५० मिटर सडक पुरियो, जलेखर्कस्थित दूध संकलन केन्द्र र १४ पसल पनि पहिरोको उच्च जोखिममा
विप्लव महर्जन

सल्यान — दार्मा गाउँपालिका ५, जलेखर्कमा पहिरोले सडक पुरेपछि यातायात सेवा अवरुद्ध भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा करिब ५० मिटर सडक पुरिएको हो । जलेखर्कस्थित दूध संकलन केन्द्र र १४ पसल पहिरोको उच्च जोखिममा परेका छन् । 

पहिरोले पुरियो सडक

पहिरोका कारण राप्ती लोकमार्गसमेत जोखिममा परेको प्रहरीले जनाएको छ । सडकले राप्ती लोकमार्गलाई दार्मा गाउँपालिकाका विभिन्न स्थानमा जोडेको छ । पहिरोले खानेपानीको पाइप पुरेपछि स्थानीयबासी खानेपानी समस्यामा परेका छन् । त्यस्तै पहिरोले जलेखर्क–बछेला हुँदै वडापालिका जोड्ने सडक पुरेपछि स्थानीयलाई आउजाउमा समस्या भएको छ ।


जथाभाबी डोजर प्रयोग गरी सडक निर्माण गर्दा भूबनौट कमजोर भई पहिरो खसेको स्थानीय डिलबहादुर खड्काले बताए । सडक अबरुद्ध भएपछि दार्मामा उत्पादित तरकारी ढुवानीमा समस्या भएको उनको भनाइ छ । ‘पहिरो खस्ने क्रम जारी छ, तत्काल मर्मतको सम्भावना नहुँदा स्थानीयलाई घण्टौं हिडेर जलेखर्क आउनुपर्ने बाध्यता भएको छ,’ उनले भने, ‘तरकारी, दूधलगायत गाउँमा उत्पादित बस्तु ढुवानीमा समस्या भयो ।’ उनले पहिरो खस्ने क्रम नरोकिएकाले जलेखर्कका घुम्ति र पसल बग्ने खतरा रहेको सुनाए ।


पहिरोका कारण जलेखर्क आउजाउ गर्ने वटुवालाई सास्ती भएको स्थानीय जयराम खड्काले गुनासो गरे । ‘पैदल हिड्ने बाटोसमेत अबवरुद्ध छ,’ उनले भने, ‘मूलबाटो नै भत्किएपछि आसपासका गाउँ र जलेखर्कको आउजाउ टुटेको छ ।’ उनले पहिरोका कारण विरामीलाई स्वास्थ्यचौकी लैजान समस्या भएको बताए ।


दार्मा गाउँपालिका ५, का वडाध्यक्ष रामबहादुर केसीले एक सातादेखि नै पहिरो खसिरहेको बताए । उनका अनुसार मंगलबार रातिको पहिरोले थप जोखिम बढाएको छ । ‘पहिरो गएको सडकभन्दा राप्ती लोकमार्ग मुस्किलले २५ मिटर बाँकी छ,’ उनले भने, ‘फेरि वर्षा भए लोकमार्ग नै अवरुद्ध हुने सम्भावना छ ।’ उनले बजेट अभावका कारण तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको गुनासो गरे ।


उनका अनुसार सडकको छेउबाट तारजाली बगाउने क्रम बढिरहेको छ । गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले वर्षायाम सकिनबित्तिकै सडक मर्मतको काम सुरु गरिने जानकारी दिए । ‘पहिरोका कारण आसपासका गाउँसमेत जोखिममा छन्,’ उनले भने, ‘पहिरो खस्ने क्रम नरोकिएकाले थप क्षति हुन नदिन स्थानीयलाई सतर्क बनाएका छौं ।’

प्रकाशित : भाद्र २७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?