२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चाडको मुखमा रित्तिँदै खाद्य गोदाम

खाद्य संस्थानका शाखा प्रमुख कर्णबहादुर रावल भन्छन्, ‘ढुवानीका लागि आवश्यक प्रक्रिया सुरु भइसक्यो, दसैं–तिहारमा उपभोक्ताले जति चाहे पनि चामल लिन पाउनेछन्’
राजबहादुर शाही

मुगु — चाडपर्व नजिकिँदै जाँदा खाद्य संस्थानका गोदाम रित्तिन थालेका छन् । चालु आवका लागि चामल ढुवानी गर्न ढिलाइ भएपछि जिल्लाका सबै खाद्य गोदाममा मौज्दात घटेको हो ।

चाडको मुखमा रित्तिँदै खाद्य गोदाम

संस्थानको गमगढीस्थित खाद्य गोदाम र श्रीकोट डिपोमा २ सय क्विन्टल मात्र चामल मौज्दात छ । सोरुकोट, पुलु, रातापानी र कालै डिपो रित्तिएका छन । तत्काल चामल ढुवानी नभए दसैंमा समस्या हुने स्थानीयको भनाइ छ । डिपोमा चामल नहुँदा मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा बढी समस्यामा छन् ।


उत्पादन कम हुने भएकाले स्थानीय बासिन्दा चिनियाँ र खाद्य संस्थानको खाद्यान्नमा निर्भर छन् । साउन महिनादेखि डिपो खाली भएपछि सर्वसाधारण छाइल र गमगढीबाट खरिद गरी ल्याएको चामल उपभोग गर्न बाध्य छन् । ‘गाउँमा उब्जनी हुँदैन, खाद्य गोदाममा चामल पाइदैन,’ पुलु गाउँका छिरिङ तामाङले भने, ‘छायलका पसलबाट महँगोमा चामल किनेर खान बाध्य छौं, गमगढी गई खाद्यको चामल ल्याउन खोजे पनि ढुवानी समस्या छ ।’


सोरुकोट डिपोमा पनि चामल नहुँदा स्थानीयलाई समस्या छ । अन्नबाली पाक्न ढिला भएको र जेठमा भित्र्याइएको बाली सकिएकाले विपन्न परिवारलाई भोक टार्न समस्या भएको छ । फोतु, धैनकोट, भिई, जिमा, नाथर्पुलगायत गाउँका बासिन्दालाई लक्षित गरी सोरुकोटमा खाद्य डिपो स्थापना गरिएको थियो । तर अधिकांश समय उक्त डिपोमा चामल हुँदैन ।


चालु आवको खाद्यान्न ढुवानीका लागि भदौ मसान्तभित्र ठेक्का स्वीकृत गरी खाद्यान्न ढुवानी गरिने खाद्य संस्थानका शाखा प्रमुख कर्णबहादुर रावलले बताए । ‘ढुवानीका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘दसैं तिहारमा उपभोक्ताले जति चाहे पनि चामल लिन पाउनेछन् ।’


उनका अनुसार चालु आवको ठेक्का स्वीकृत हुन ढिलाइ भए पनि पछि कोटाबाट कटौती हुने गरी अग्रिम ढुवानी गर्ने संस्थानको योजना छ । वर्षाका कारण २ महिनासम्म गमगढी–नाग्मा सडक अवरुद्ध भएकाले ढुवानीमा समस्या भएको उनले जानकारी दिए ।


सडकमा साता अघिदेखि यातायातका साधन चल्न थालेका छन् । सडक खुलिसकेकाले ढुवानीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको रावलको भनाइ छ । गमगढीस्थित खाद्य संस्थानको गोदाममा वार्षिक १० हजार क्विन्टल चामल ढुवानीका लागि कोटा तोकिएको छ ।


संस्थानका अनुसार कालै डिपोका लागि १८ सय, सोरुकोटमा २ हजार र श्रीकोटमा १२ सय क्विन्टल चामलको कोटा कायम गरिएको छ । त्यस्तै पुलु डिपोमा बर्सेनि २ हजार र रातापानीमा १८ सय क्विन्टल चामल ढुवानी हुने गरेको छ ।

प्रकाशित : भाद्र २६, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?