जिममा युवा आकर्षण 

एलपी देवकोटा

जुम्ला — जुम्लामा जिमखाना १ सुन्दा पनि रमाइलो । विकट मानिने जुम्लामा सडक सञ्जाल जोडिएसँगै युवा पुस्ताको जीवनशैली आधुनिकता उन्मुख छ । खलंगामा दुई जिमखाना खुलेपछि युवा जिम गर्न जाने क्रम बढिरहेको छ । 

जिममा युवा आकर्षण 

चन्दननाथ नगरपालिकाका रमेश सेजुवालले शरीर आकर्षक वनाउन नियमित जिमखाना जाने गरेको बताए । उनको बिहानको २ घण्टाको समय जिममै बित्ने गरेको छ । खलंगाकै भगवती श्रेष्ठ पनि मोटपन खटाउन र फुर्तिलो देखिन जिममा जाने गरेकी छिन् । अघिल्लो वर्षसम्म बिहान ‘मर्निङ वाक’ मा निस्कने श्रेष्ठले अहिले जिमखाना धाइरहेको बताइन् । ‘शरीर तन्दुरुस्त राख्न नियमित जिममा जाने गरेकी हुँ,’ उनले भनिन्, ‘जिमले शरीरको मोटोपना १ महिनामै घटायो ।’


यहाँका अन्य व्यापारिक केन्द्रमा पनि जिमखाना खुल्ने क्रम बढेको छ । घरायसी काममा व्यस्त रहने युवा बिहान–बेलुका जिममा व्यस्त रहने गरेका हुन् । शरीर आकर्षक बनाउन जिमखाना धाउने युवाको संख्या दैनिक बढिरहेको बेस्ट जिमघरका सञ्चालक खगेन्द्र कठायतले बताए ।


उनको जिमखानामा नयाँ भर्ना हुने युवालाई पालो पाउन मुस्किल छ । ‘सुरु सुरुमा जिमप्रति कसैको आकर्षण थिएन,’ उनले भने, ‘अहिले युवाको चाप बढेपछि पालो पाउन मुस्किल भइसक्यो ।’ उनले २०७० सालमा पहिलो पटक खलंगामा जिमखाना खोलेका हुन् । उनको जिम सुविधायुक्त मानिन्छ । उनले दैनिक ५ दर्जन बढी युवा जिममा आउने गरेको बताए । उनका अनुसार कृषकदेखि व्यापारी, विद्यार्थी, कर्मचारीलगायतको आकर्षण जिममा छ । उनले एक दर्जन महिला नियमित जिममा आउने गरेको जानकारी दिए ।


कालेखोली चोकमा खुलेको युनिभर्सल जिमघरमा पनि युवाहरू बिहानदेखि साँझ अबेसम्मै व्यस्त हुने गरेका छन् । प्रतिघण्टा व्यायाम गरेबापत मासिक १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको जिम सञ्चालकको भनाइ छ । स्थानीय राम बुढाले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन नियमित जिम जाने गरेको बताए ।


‘स्वस्थ बन्न साँझ–बिहान १ घण्टा जिममा बिताउने गरेको छु,’ उनले भने, ‘नियमित व्यायामले तौल नियन्त्रण गर्नुका साथै अनावश्यक तनाव कम गर्न सहयोग पुर्‍याएको छ । नियमित जिमले आनन्दको अनुभूति र आत्मविश्वासमा वृद्धि गर्ने उनी बताउँछन् ।

प्रकाशित : भाद्र २६, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?