१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संसद्मा सडक सुधारको माग

वीरेन्द्रनगर — कर्णालीका प्रदेश सांसदहरूले वर्षाका कारण भत्किएका सडक दसैं–तिहारअगाडि नै मर्मत गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्  । मंगलबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदले कर्णालीका विभिन्न सडक पहिरोका कारण अवरुद्ध हुँदा नागरिकले आवतजावतमा सास्ती खेप्नुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन्  ।

सांसद झोवा विकले हवाइजहाजमा उड्ने सरकारका मुख्यमन्त्री र मन्त्रीले स्थलमार्ग भएर यात्रा गर्ने नागरिकको समस्या नबुझेको बताइन् । ‘जताततै सडक भत्केको छ,’ उनले भनिन्, ‘यातायातका साधन ठाउँठाउँमा अवरुद्ध भएका छन्, सडक सुचारु गर्न सरकारको ध्यान पुगेकै छैन ।’

सांसद अम्मरबहादुर थापाले पनि हरेक ठाउँमा बिग्रिएको सडकका कारण यात्रुले सास्ती भोग्नुपरेकोले सरकारलाई गम्भीर हुन आग्रह गरे । सांसद यज्ञबहादुर बीसीले सुर्खेतको बड्डीचौर–लगाम–बेतान सडक भत्किएर विजौरादेखि लगाम बेतानसम्म गाडी जान नसकेको बताए । दसै–तिहार अगाडि नै बाटो मर्मत गर्नुपर्ने उनको सुझाव छ । यस्तै, विशेष समयमा सांसद दिनबन्धु श्रेष्ठले रारालाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा लिए पनि रारा पुग्ने सडक मर्मत नहुनु दुःखद भएको बताए ।

‘सुर्खेतदेखि नाग्मसम्मको सडकको स्थिति नाजुक छ,’ उनले भने, ‘नाग्मदेखि गमगढीसम्मको बाटो पनि चल्न सकेको छैन, चाडपर्वलाई मध्यनजर गर्दै सरकारले तत्काल बाटो मर्मत गर्नुपर्नेछ ।’ यस्तै, सांसद वीरबहादुर शाहीले डोल्पाको सुलीगाडदेखि से–फोक्सुण्डोसम्म ७ पुल बाढीले बगाएको भन्दै पुल मर्मत गर्न सरकारसँग आग्रह गरे । रुकुम–जाजरकोट–डोल्पा भेरी कोरिडोरअन्तर्गतको सडक वर्षातका कारण अलपत्र परेको उनको भनाइ छ । उनले सडक मर्मत गरी आवतजावतमा सहज गराउन सुझाव दिए ।


सांसद पद्मा खड्काले सुर्खेतको मालारानीदेखि पश्चिम सुर्खेतको लगाम बेतान हुँदै अछाम जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत बन्दै गरेका पुलहरू अलपत्र भएकोप्रति सरकारको ध्यानाकर्षण गराईन् । सांसदहरूले बजारमा बढेको महंगी, अव्यवस्थित नापतौलले चलेको लुटतन्त्र, म्याद गुज्रिएका सामग्री बिक्री वितरण र मूल्य निर्धारणमा भएको मनपरीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, सुर्खेतलगायत कर्णालीका विभिन्न जिल्लामा रहेका बाढीप्रभावितका लागि सरकारले वितरण गरेको राहतबारे पनि सांसदहरूले प्रश्न उठाएका छन् ।


बाढीपीडितका विषयमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सुर्खेतका बाढी प्रभावितका लागि जग्गा भएकालाई पहिलो किस्तास्वरुप ९ करोड ६१ लाख ५० हजार रुपैयाँ निकासा गरिएको जानकारी दिए । उनका अनुसार उक्त रकम ६ सय ४१ परिवारलाई १ लाख ५० हजारका दरले निकासा गरिएको हो । जसमध्ये सात स्थानीय तहका ५ सय ८९ परिवारलाई स्थानीय तहले रकम दिएको उनको भनाइ छ । विपत्पीडित आवास निर्माण कार्यबिधि मन्त्रीपरिषद्मा पठाइएको भन्दै उनले जग्गा नभएका कर्णालीका सबै बाढीपीडितका लागि आवास बनाइने जनाए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?