संसद्मा सडक सुधारको माग

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — कर्णालीका प्रदेश सांसदहरूले वर्षाका कारण भत्किएका सडक दसैं–तिहारअगाडि नै मर्मत गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्  । मंगलबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदले कर्णालीका विभिन्न सडक पहिरोका कारण अवरुद्ध हुँदा नागरिकले आवतजावतमा सास्ती खेप्नुपरेको भन्दै ध्यानाकर्षण गराएका हुन्  ।

सांसद झोवा विकले हवाइजहाजमा उड्ने सरकारका मुख्यमन्त्री र मन्त्रीले स्थलमार्ग भएर यात्रा गर्ने नागरिकको समस्या नबुझेको बताइन् । ‘जताततै सडक भत्केको छ,’ उनले भनिन्, ‘यातायातका साधन ठाउँठाउँमा अवरुद्ध भएका छन्, सडक सुचारु गर्न सरकारको ध्यान पुगेकै छैन ।’

सांसद अम्मरबहादुर थापाले पनि हरेक ठाउँमा बिग्रिएको सडकका कारण यात्रुले सास्ती भोग्नुपरेकोले सरकारलाई गम्भीर हुन आग्रह गरे । सांसद यज्ञबहादुर बीसीले सुर्खेतको बड्डीचौर–लगाम–बेतान सडक भत्किएर विजौरादेखि लगाम बेतानसम्म गाडी जान नसकेको बताए । दसै–तिहार अगाडि नै बाटो मर्मत गर्नुपर्ने उनको सुझाव छ । यस्तै, विशेष समयमा सांसद दिनबन्धु श्रेष्ठले रारालाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा लिए पनि रारा पुग्ने सडक मर्मत नहुनु दुःखद भएको बताए ।

‘सुर्खेतदेखि नाग्मसम्मको सडकको स्थिति नाजुक छ,’ उनले भने, ‘नाग्मदेखि गमगढीसम्मको बाटो पनि चल्न सकेको छैन, चाडपर्वलाई मध्यनजर गर्दै सरकारले तत्काल बाटो मर्मत गर्नुपर्नेछ ।’ यस्तै, सांसद वीरबहादुर शाहीले डोल्पाको सुलीगाडदेखि से–फोक्सुण्डोसम्म ७ पुल बाढीले बगाएको भन्दै पुल मर्मत गर्न सरकारसँग आग्रह गरे । रुकुम–जाजरकोट–डोल्पा भेरी कोरिडोरअन्तर्गतको सडक वर्षातका कारण अलपत्र परेको उनको भनाइ छ । उनले सडक मर्मत गरी आवतजावतमा सहज गराउन सुझाव दिए ।


सांसद पद्मा खड्काले सुर्खेतको मालारानीदेखि पश्चिम सुर्खेतको लगाम बेतान हुँदै अछाम जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत बन्दै गरेका पुलहरू अलपत्र भएकोप्रति सरकारको ध्यानाकर्षण गराईन् । सांसदहरूले बजारमा बढेको महंगी, अव्यवस्थित नापतौलले चलेको लुटतन्त्र, म्याद गुज्रिएका सामग्री बिक्री वितरण र मूल्य निर्धारणमा भएको मनपरीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, सुर्खेतलगायत कर्णालीका विभिन्न जिल्लामा रहेका बाढीप्रभावितका लागि सरकारले वितरण गरेको राहतबारे पनि सांसदहरूले प्रश्न उठाएका छन् ।


बाढीपीडितका विषयमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सुर्खेतका बाढी प्रभावितका लागि जग्गा भएकालाई पहिलो किस्तास्वरुप ९ करोड ६१ लाख ५० हजार रुपैयाँ निकासा गरिएको जानकारी दिए । उनका अनुसार उक्त रकम ६ सय ४१ परिवारलाई १ लाख ५० हजारका दरले निकासा गरिएको हो । जसमध्ये सात स्थानीय तहका ५ सय ८९ परिवारलाई स्थानीय तहले रकम दिएको उनको भनाइ छ । विपत्पीडित आवास निर्माण कार्यबिधि मन्त्रीपरिषद्मा पठाइएको भन्दै उनले जग्गा नभएका कर्णालीका सबै बाढीपीडितका लागि आवास बनाइने जनाए ।

प्रकाशित : भाद्र २५, २०७६ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरमा पनि फैलिँदै डेंगु

प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशी भन्छन्, ‘यस वर्ष डेंगुको प्रकोप बढी नै देखियो, अन्य क्षेत्रमा झैं सुदूरपश्चिममा पनि बिरामी दिनदिनै बढेका छन्’
भवानी भट्ट, मोहन बुुढाऐर, तृप्ति शाही

धनगढी/कञ्चनपुर/बैतडी — देशभरि महामारीकै रुप लिन थालेको डेंगुको संक्रमण सुदूरपश्चिममा पनि फैलिएको छ । हालसम्म डोटीमा १ जनाको मृत्यु भइसकेको छ  । मंलबारसम्म प्रदेशका विभिन्न जिल्लामा ३० डेंगु संक्रमित बिरामी फेला परेका छन् ।

बिरामीको संख्या दिनदिनै बढिरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार मंगलबार अपराहन्नसम्म यहाँका विभिन्न जिल्लामागरि ३० जना डेंगुका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन् । निर्देशनालयका अनुसार कैलालीमा १७ जना, कञ्चनपुरमा ६, दार्चुलामा ५ र डोटी तथा अछाममा १/१ जना डेंगुका बिरामी भेटिएका छन् । ‘यस वर्ष डेंगुको प्रकोप बढी नै देखियो, अन्य क्षेत्रमा झैं सुदूरपश्चिममा पनि बिरामी दिनदिनै बढिरहेका छन्’ प्रदेश स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले भने, ‘स्वास्थ्य संस्थाहरूमा डेंगुका बिरामी आउने क्रम दिनदिनै बढिरहेको छ ।’


सबैभन्दा बढी प्रभावित रहेको कैलालीको टिकापुरमा ३, घोडाघोडी ५, गोदावरी नगरपालिकामा २, जानकारी गाउँपालिकामा १ र लम्कीचुहा नगरपालिकामा २ जना गरी बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका औलो फाँटका श्रोतव्यक्ति जयसिंह.भण्डारीले बताएका छन् । कैलालीमा अघिल्ला बर्षको तुलनामा झण्डै दोब्बरको सख्यामा डेंगुका बिरामी अस्पताल भर्ना भएका छन् । गत आर्थिक वर्षमा ९ जनालाई डेंगु देखिएको थियो । कैलालीमा ०६७ मा पहिलो पल्ट डेंगु देखा परेको थियो । पहिलो वर्षमा एक जना बिरामी डेंगुको कारण मृत्यु भएको थियो । त्यसपछिका वर्षहरूमा लगातार डेंगु देखापर्दै आएको धनगढीको प्रादेशिक अस्पतालमा ४ जना डेंगुका बिरामी उपचारत रहेको भण्डारीले जानकारी दिए । सेती अस्पतालमा भने एक जना बिरामी मात्रै भर्ना भई निको भएर घर फर्केको अस्पतालका प्रवक्ता दीलिप सिंह श्रेष्ठले जानकारी दिए ।


‘कैलालीमा केहि बिरामीहरू उपचारपछि घर फर्किएका छन्’ औलो फाँटका श्रोतव्यक्ति भण्डारीले बताए । उनले भने, ‘रोगको नियन्त्रण र रोकथामका लागि प्रयासरत छौ ।’ उनले तत्काल डेंगु सम्बन्धि अभिमुखिकरण तथा डेंगुको लार्भा पत्ता लगाउने र नष्ट गर्ने काम सुरु भएको बताए । कञ्चनपुरमा ६ जना डेंगुका बिरामी देखिए पनि उपचारका लागि भने महाकाली अस्पतालमा हालसम्म १ जना मात्रै आएका छन् । अस्पतालकाअनुसार भदौं ७ मा भीमदत्त नगरपालिका ६ ऐठपुरका खेमराज पाण्डेमा डेंगु देखिएको र उनी उपचारपछि निको भएर घर फर्किएको अस्पतालमा मेडिकल रेकर्डर नारद भट्टले जानकारी दिए । उनका अनुसार अस्पतालमा डेंगु परीक्षणका लागि टेस्ट किट नहुँदा पहिचान गर्नसमेत समस्या देखिएको छ ।


स्वास्थ्य मन्त्रालयले प्लेटलेट्स, डब्लुबिसी र हेमाटोक्रेट परीक्षण गरेर डेंगुको पहिचान गर्नु भन्ने परिपत्र गरेअनुसार परीक्षणको काम भइरहेको छ । यसबाट ठ्याक्कै डेंगु पहिचान गर्न नसकिए पनि लक्षणका आधारमा उपचार गराउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘डेंगुको छुट्टै उपचार छैन, प्लेटलेट्स र डब्लुबिसीका आधारमा पहिचान गरेर उपचार गर्न सकिन्छ’ महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले भने, ‘टेस्ट कीट नभएर परीक्षणमा कुनै समस्या छैन ।’ महाकाली अस्पतालमा यतिबेला भाइरलका बिरामीको भीड छ । ओपिडीमा दैनिक २ सय बिरामी आउने गरेका छन् । यसैगरि आकस्मिक कक्षमा पनि दैनिक १ सय बिरामी आउने गरेका छन् । डेंगु पनि एक प्रकारको भाइरल नै भएको डा. श्रेष्ठ बताउँछन् । यसको उपचार पनि अन्य ज्वरो जस्तै गरिने उनले बताए ।


निर्देशनालयका कीटजन्य रोग नियन्त्रक हेमराज जोशीका अनुसार रगतमा प्लेटलेट्सको १ लाख भन्दा बढी र डब्लुबिसीको मात्रा ४ लाख भन्दा बढी देखिएमा डेंगुको लक्षण मान्न सकिने भएकाले त्यहिअनुसार उपचार गर्नुपर्ने हुन्छ । कीट नभएर त्यसकै लागि पर्खिन नहुने उनले बताए । सामाजिक विकास मन्त्रालयले विभिन्न महामारी नियन्त्रण गर्न अस्पतालमा एकमुष्ट बजेट पठाइएको जनाउदै त्यसै बजेटबाट किट खरिद गर्न सकिने उनले बताए ।


एडिस एल्बोपिक्टर र एजिप्टाई जातको संक्रमित लामखुट्टेबाट डेंगुको संक्रमण हुने गर्छ । उक्त लामखुट्टे धेरै उड्न नसक्ने भएकाले प्रायः घुँडामुनि दिउसो र बेलुकीको समयमा टोक्ने गर्छ । त्यसकारण दिउँसो र साँझको समयमा शरीर ढाकिने खालका कपडा लगाउन स्वास्थ्यकर्मीहरूको सुझाव छ । स्थानीय तहले मुख्य भुमिकामा आउनु अत्यावश्यक भइसकेको उनी बताउँछन् । जोशीले उनले जिल्ला स्वास्थ्य कार्यालयको मुख्य भुमिका स्थानीय तहका स्वास्थय एकाइको समन्वयात्मक मात्रै भएको बताए । स्थानीय तहले बजेट तथा योजना तर्जुमागरि डेंगु नियन्त्रणका काममा अग्रसर हुनुपर्ने बताए । हालसम्म स्थानीय तहबाट डेंगु नियन्त्रणका लागि त्यस्तो बिशेष कार्यक्रम शुरु नभएको उनले बताए । सेती प्रादेशिक अस्पतालको तथ्यांकअनुसार ०६७ देखि हालसम्म डेंगुबाट ३ जनाको मृत्यु भएको जनाएको छ । जोशीका अनुसार मलेरिया र डेंगु लामखुट्टेबाट पैदा हुन्छ । तर दुई अलग जातका लामखुट्टेबाट यी रोग उत्पन्न हुन्छन् ।


कैलालीमा ०५१ देख ६० सम्म मलेरियोको प्रकोप बढ्दो थियो । यस अवधिमा मलेरियाबाट करिव एक सय जनाको ज्यान गएको थियो । भ्याक्सिन, बिषादी औषधी स्प्रे, र झुल वितरणसँगै सचेतनात्मक कार्यक्रमले पछिल्लो समयमा मलेरियाको प्रकोप नियन्त्रण हुँदै गएको स्वास्थ्य कार्यालय कैलालीका स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्यकर्मीकाअनुसार मलेरिया एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।

प्रकाशित : भाद्र २५, २०७६ १३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्