गमगढी–नाग्मा सडक : २ महिनापछि खुल्यो अवरोध

जिल्लाका व्यवसायी भन्छन्, ‘अब सडक खुल्यो, दसैं तिहारका लागि सामान ल्याउन सजिलो हुने भयो’ 
राजबहादुर शाही

मुगु — अविरल वर्षाका कारण २ महिनादेखि अवरुद्ध भएको नाग्मा–गमगढी सडक सोमबारदेखि खुलेको छ । सडक खुलेसँगै स्याउ बाहिर पठाउन किसानले तयारी थालेका छन् ।

गमगढी–नाग्मा सडक : २ महिनापछि खुल्यो अवरोध

सडक अवरुद्ध हुँदा जिल्लामा उत्पादित स्याउ बाहिर पठाउन नसकेको किसानको गुनासो थियो । वर्षाका कारण असार अन्तिम साताबाट सडक अवरुद्ध बनेको हो । गमगढीको ताल्चा क्षेत्रको हिलो र पहिरो पन्छाएपछि सडकमा यातायतका साधन सञ्चालन हुन थालेका छन् । उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाका अनुसार सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको थियो ।


ढुवानी सहज भएपछि बढाइएको मूल्यसमेत घट्ने उनले जानकारी दिए । डोजरमार्फत हिलो र पहिरो पन्छाएपछि सडक खुलेको उनको भनाइ छ । ‘सडक सुचारु भएपछि एक दर्जन बढी मालबाहक गाडी गमगढी भित्रिएका छन्,’ उनले भने, ‘नेपालगन्ज र सुर्खेतबाट चामल, चिनी, दाल, मैदा, तेललगायत दैनिक उपभोग्य सामग्री ढुवानी गरिएका गाडी गमगढी भित्रिएका हुन् ।’


सवारी साधन सहज रुपमा जिल्लामा भित्रिएसँगै कृषिजन्य उत्पादनले बजार पाउने किसानको भनाइ छ । ‘अब सडक खुल्यो, दसैं तिहारका लागि सामान ल्याउन सजिलो हुने भयो,’ व्यापारी जयबहादुर शाहीले भने, ‘वर्षाका कारण एक दर्जन गाडी बाटोमै अलपत्र परेका थिए ।’ उनका अनुसार स्याउ नेपालगन्ज, सुर्खेतलगायत स्थानमा पठाउन पनि सहज भएको छ ।


सडक अबरुद्ध हुँदा किसानले टिपेका स्याउ घरगोठमा थन्क्याइएको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयका अनुसार जुम्लाको सिजा क्षेत्रमा खसेको पहिरो पनि डोजरमार्फत पन्छाइएको हो । मुगु खण्डको सातमोड क्षेत्रमा गएको पहिरो डिभिजन कार्यालयले पन्छाएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । ‘सडक खुलेपछि रारा भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ,’ उनले भने, ‘साना/ठूला यातायातका साधन सहजै जिल्लामा भित्रन थालेका छन् ।’


गमगढी–नाग्मा सडक सञ्चालनमा आएको सात वर्षसम्म कालोपत्रे नहुँदा जिल्लाबासी र रारा घुम्न आउने पर्यटक सास्ती भोग्न बाध्य छन् । आगामी वर्षदेखि कालोपत्रेको काम सुरु गर्न लागिएको सडक डिभिजन प्रमुख श्रवणकुमार घिमिरेले बताए । उनका अनुसार त्यसका लागि आवश्यक पहल सुरु गरिएको छ ।

प्रकाशित : भाद्र २४, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?