हटाइँदै सडक अतिक्रमण

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा र अन्य संरचना हटाउने प्रक्रिया सुरु गरेको छ । छिन्चु–जाजरकोट खण्डको रैकर बजारदेखि भेरीपुल र सल्लीबजार–चौरजहारी खण्डको मुख्य चोकदेखि सीमा क्षेत्रसम्म सडक अतिक्रमण गरिएका संरचना हटाउन थालिएको हो । 

सडक डिभिजन कार्यालयसँग समन्वय गरी १५ मिटर आसपासका क्षेत्रका संरचना हटाइन थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार घरटहरा हटाउन तीनमहिने सूचना प्रकाशित गरिएको हो ।


तोकिएको अवधिभित्र सम्बन्धित व्यक्तिले घरटहरा नभत्काए डोजर प्रयोग गरी भत्काइने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । उनका अनुसार सडक चौडा नहुँदा दिनहुँ सल्लीबजार आसपासमा दुर्घटना बढ्दै गएको छ ।


‘अहिले सल्लीबजारको सडक क्षेत्र १५ मिटर चौडा छ, थप १५ मिटर कायम गरी सडक फराकिलो बनाउन लागिएको हो,’ उनले भने, ‘सल्लीबजार–चौरजहारी खण्डको सुनौली, नाथेखोला, शंखपिपल, च्युरा र गर्चे बजारमा पनि १५ मिटर चौडा बनाइनेछ ।’ उनले नगरका विभिन्न क्षेत्रमा अतिक्रमण बढेको भन्दै क्रमशः हटाउने योजना बनाइएको जानकारी दिए ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?