भाइरल ज्वरोका बिरामी बढे

ज्वरोले बारेकोटकी एक बालिकाको मृत्यु 
भीमबहादुर सिंह

जाजरकोट — दुई सातादेखि भेरी नगरपालिकालगायत गाउँ/नगरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । भाइरल ज्वरो फैलिएपछि गाउँका स्वास्थ्यचौकी र सदरमुकामस्थित जिल्ला अस्पतालमा बिरामीको फैलिएपछि जाजरकोट अस्पतालमा बिरामीको चाप बढेको छ ।

भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोको कारण बारेकोट गाउँपालिका ६, ताँसीधुमकी १४ वर्षीया आशा विकको आइतबार मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।


बालिकाको जाजरकोट अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक बालिका एक सातासम्म भाइरल ज्वरोबाट थलिएकी थिइन् । बालिकालाई ६ दिनसम्म जाजरकोट अस्पतालमा उपचार गराइएको थियो ।


भेरी नगरपालिका, जुनीचाँदे, बारेकोट गाउँपालिका, नलगाड नगरपालिकालगायत क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढिरहेका छन् । दैनिक १ सय ५० बढी भाइरलका बिरामी जिल्ला अस्पतालमा आउने गरको डा. केशरजंग कार्कीले बताए । भाइरलबाट बालबालिका र वृद्ध बढी प्रभावित भएको डा. कार्कीले जानकारी दिए ।


‘ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेलगायत लक्षणका बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने, ‘मौसम परिवर्तन, दूषित पानी, बासी खानेकुरा र सरसफाइको कमीले भाइरलको प्रकोप फैलिएको हो ।’ भाइरलले रोगविरुद्ध लड्ने शक्ति कमजोर भएका र दम तथा श्वासप्रश्वासका बिरामीलाई बढी समस्या भएको उनको भनाइ छ ।


ताजा, तातो र पोषिलो तथा झोलिलो खाना खाने, आराम गर्ने, उमालेर पानी पिउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव बिरामीलाई दिइएको डा. कार्कीले बताए ।


अस्पतालमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या आएको उनी बताउँछन् । अस्पतालमा पुरानो स्टक औषधि सकिएको छ भने नयाँ खरिद गर्न बजेट छैन ।


दुर्गम गाउँका स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले उपचार पाउन नसकेको बारेकोट ८, का रामचन्द्र उपाध्यायले बताए । ‘भाइरल प्रभावित बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजादा न औषधि पाइन्छ, नत स्वास्थ्यकर्मी फेला पर्छन्,’ उनले भने, ‘गाउँ/नगरपालिकाले चालु आवका लागि औषधि खरिद प्रक्रिया अघि नबढाउँदा समस्या भएको हो ।’ उनका अनुसार बिरामी निजी मेडिकलको महँगो औषधि किन्न बाध्य छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?