१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डोजर प्रयोगमा प्रतिबन्ध

स्थानीय तहमा ४/५ लाख रुपैयाँका विकास निर्माणमा पनि डोजर प्रयोग गर्दा बेरोजगारी समस्या बढ्दै
भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिकाले डोजर प्रयोगमा प्रतिबन्ध लगाएको छ । स्थानीय बासिन्दाको रोजगारी खोसिएको र पर्यावरणमा असर परेको भन्दै डोजर प्रयोगमा रोक लगाइएको हो । 

डोजर प्रयोगमा प्रतिबन्ध

स्थानीय तहमा ४/५ लाख रुपैयाँका विकास निर्माणमा पनि डोजर प्रयोग गर्दा बेरोजगारी समस्या बढ्दै गएको छ । वातावरणीय प्रभाव मुल्यांकन बिना नै जथाभाबी डोजरले सडकलगायत पूर्वाधार निर्माण गर्दा पहिरोको जोखिम बढेको जनप्रतिनिधिको भनाइ छ ।


रोजगारी सिर्जना गर्न र गाउँबस्तीलाई पहिरोलगायत प्राकृतिक विपद्को जोखिमबाट बचाउन डोजरमा प्रतिबन्ध लगाइएको अध्यक्ष हरिचन्द्र बस्नेतले वताए । ‘चालु आर्थिक वर्षदेखि एक करोडभन्दा कम बजेटका योजनामा डोजर प्रयोग गर्न नपाइनेगरी कार्यपालिका बैठकबाटै निर्णय गरिएको हो,’ उनले भने, ‘तर प्राविधिक दृष्टिकोणले योजना सम्पन्न गर्न नसकिने अवस्था आएमा भने डोजर प्रयोग गरिनेछ ।’


दुई वर्षको अवधिमा दर्जन सडक निर्माण गरेर कुशेले सबै वडा र गाउँपालिकाको केन्द्रमा सडक सञ्जाल विस्तार गरेको छ । स्थानीय तह गठनपछि एक सय ४२ किलोमिटर सडकको ट्रयाक खोलिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा ट्रयाक खोल्न बाँकी रहेका ३ वटा सडकमा डोजर प्रयोग नगरिने अध्यक्ष बस्नेतले बताए ।


‘गाउँका सडक निर्माणमा डोजरवालाको एकाधिकार देखियो । युवा गाउँमा काम नपाएर खाडी मुलुक र भारत पलायन हुन थालेपछि डोजर प्रतिबन्धको निर्णय गर्न बाध्य भएका हौं,’ उनले भने, ‘डोजरले निर्माण कार्य छिटो भए पनि भूक्षयको जोखिम बढाएको पाइयो ।’


कुशेका ३ वडाध्यक्ष डोजर व्यवसायी छन् । डोजर व्यवसायी रहेका जनप्रतिनिधिले भने निर्णयको बिरोध गरेका छन् । कतिपय जनप्रतिनिधिको विरोधका बाबजुद निर्णय कार्यान्वयन गरेर युवालाई गाउँमै रोजगारी दिने योजना रहेको उनी बताउँछन् । ‘एक करोडभन्दा माथिका योजना टेण्डर प्रक्रियामार्फत हुने भएकोले गाउँपालिकाले हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत हुने काममा डोजर प्रयोग गर्न दिइनेछैन ।’


स्थानीय दलबहादुर मल्लले गाउँपालिकाको निर्णयले स्थानीय उत्साही बनेको बताए । ‘गाउँपालिकाले उदाहरणीय र जनपक्षीय निर्णय गरेको छ,’ उनले भने, ‘अब युवाले गाउँमै रोजगारी पाउने अपेक्षाा छ ।’ उनका अनुसार जाजरकोटका ७ वटै गाउँ/नगरले डोजरले धमाधम सडक खन्ने काम गरिरहेका छन् । उनले सडक, कुलो, पुलको जग, घरको जगलगायत निर्माणका काममा डोजर निर्माण बढी हुने गरेको जनाए ।


मल्लले स्थानीय सरकार गठनसँगै गाउँमै रोजगारी नपाउँदा युवा निरास बनेको बताए । ‘जनप्रतिनिधि नै डोजर मालिक छन्,’ उनले भने, ‘डोजर भएका जनप्रतिनिधिले आफै ठेक्का लिएर सरकारी रकम दुरुपयोग गर्ने प्रवृत्ति बढ्दो छ ।’ उनले जिल्लाका करिव २ दर्जन जनप्रतिनिधिका नाममा डोजर प्रयोग भइरहेको जानकारी दिए ।


जिल्लामा दुई वर्षयता तीन दर्जन डोजर भित्रिएको भेरी नगरपालिका –३, का बुद्धिबहादुर खत्रीले बताए । ‘स्थानीय तह गठन नहुँदासम्म गाउँमा डोजर देख्न मुस्किल थियो,’ उनले भने, ‘जनप्रतिनिधि र उनीहरूका नातागोताका नाममा डाँडाकाँडामा डोजर पुगेका छन् ।’ उनका अनुसार प्राविधिक सर्भे, डिजाइन नगरी मनोमानी रुपमा डोजरमार्फत सडक खन्ने काम भइरहेको उनी बताउँछन् । जनप्रतिनिधिका डोजर गाउँमा भित्रिएपछि अन्य व्यवसायीले समेत काम पाउन छाडेको उनको भनाइ छ ।


प्रतिघण्टा चार हजार रुपैयाँमा सडक निर्माण गर्छु भन्दा पनि काम नपाइने गरेको निर्माण व्यवसायीको गुनासो छ । जनप्रतिनिधिको मिलोमतोमा भित्रिएका डोजरले प्रतिघण्टा १२ हजारसम्म रुपैयाँसम्म ज्याला लिने गरेको खत्री बताउँछन् । ‘जनप्रतिनिधिले नियम/कानुन मिचेर सडकलगायत पूर्वाधार निर्माणमा प्रत्यक्ष सहभागिता जनाउँदा व्यवसायी मर्कामा परेका छन्,’ उनले भने, ‘प्रकोपको जोखिमसँगै स्थानीयबासी बेरोजगार बन्ने क्रम बढिरहेको छ ।’

प्रकाशित : भाद्र २३, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?