२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्राविधिक शिक्षाको हब बन्दै जुम्ला

जुम्ला — जुम्ला प्राविधिक शिक्षाको हब बन्दै गएको छ । गाउँगाउँमा प्राविधिक शिक्षा पठनपाठन हुन थालेपछि जुम्ला प्राविधिक शिक्षाको हब बनेको हो । जुम्लामा अहिले प्राविधिक एसइईदेखि स्नातक तहसम्मका प्राविधिक कक्षा सञ्चालन भइरहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सातर्फ स्नातकोत्तर तहमा एमजीडीपी अध्ययनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

घुघुतिस्थित कर्णाली प्राविधिक शिक्षालयमा जुम्लासहित मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, दैलेख, अछाम र बाजुराका विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।


अहिलेसम्म शिक्षालयले ४ हजार ६ सय ६१ प्राविधिक जनशक्ति उत्पादन गरिसकेको जनाएको छ । २०३६ सालमा स्थापना भएको शिक्षालयले पहिलो वर्ष निर्माणतर्फ सब–ओभरसियर र कृषितर्फ जेटिएको पढाइ सुरु गरेको थियो । २०३८ सालमा ६ विद्यार्थी भर्ना गरी स्वास्थ्यतर्फ सीएमएको पढाइ सुरु गरेको शिक्षालयमा डिप्लोमा तहमा सब–इन्जिनियरसहित कृषि र वन विज्ञानको पढाइ सञ्चालन गरिरहेको छ ।


बर्सेनि दक्ष स्वास्थ्यकर्मी, कृषि प्राविधिक, भेटनरी प्राविधिक र निर्माण प्राविधिक उत्पादन गरिरहेको शिक्षालय प्रमुख आशा श्रेष्ठले वताइन् । ‘यो नेपालकै पहिलो प्राविधिक शिक्षालय हो,’ उनले भनिन्, ‘त्यसैले प्राविधिक शिक्षाको आरम्भ जुम्लाबाटै सुरु भएको मानिन्छ ।’


शिक्षालयले उत्पादन गरेको स्वास्थ्यकर्मी सरकारको स्वास्थ्य सेवा विभागमा सातौं तहसम्मका अधिकृत पदमा कार्यरत रहेको उनले जानकारी दिइन् । उनका अनुसार शिक्षालयका लागि वैदेशिक सहयोग जम्मा गर्न काठमाडौंमा स्थापना गरिएको सम्पर्क कार्यालयलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा रुपान्तरित गरिएको थियो । अहिले सीटीईभीटी मातहत देशभरका प्राविधिक शिक्षालय सञ्चालन भइरहेका छन् ।


जुम्लाबाट उत्पादन भएको जनशक्ति दुर्गम क्षेत्रको मेरुदण्डका रुपमा स्थापित भएको कर्णाली प्राविधिक शिक्षालयका पूर्वविद्यार्थी एवं चन्दननाथ नगरपालिकाका पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढाथापाले वताए । ‘कर्णालीमा जिल्ला बाहिरका कर्मचारी नबस्ने समस्यालाई यसले समाधान गरेको छ,’ उनले भने, ‘कर्णालीका विकट जिल्ला हुम्ला र डोल्पाका अधिकांश स्थानमा शिक्षालयले उत्पादन गरेका जनशक्ति कार्यरत छन् ।’ कर्णालीका अधिकांश जिल्लामा कार्यरत प्राविधिक र स्वास्थ्यकर्मी शिक्षालयकै उत्पादन भएको उनको भनाइ छ ।


थापाले प्राविधिक जनशक्ति उत्पादनमा जुम्ला देशकै उत्कृष्ट जिल्ला बन्न सफल भएको दाबी गरे । ‘शिक्षालयले उत्पादन गरेका जनशक्तिका कारण गाउँगाउँमा सरकारी सेवा प्रवाहमा सहयोग पुगेको छ,’ उनले भने, ‘स्थानीयले २/३ दिन हिँडेर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।’


त्यस्तै २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्यतर्फ डिप्लोमा, स्नातक र स्नातकोत्तर तहको अध्यापन भइरहेको जनाएको छ । प्रतिष्ठानको नर्सिङ महाविद्यालयमा स्टाफ नर्स र ब्याचलर अफ मिडवाइफ्रीको अध्ययन भइरहेको छ भने मेडिसिन महाविद्यालयअन्तर्गत हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ, एनेस्थेसिया असिस्टेन्ट र फार्मेसीका कक्षाहरू चलिरहेका छन् ।


प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले यस वर्ष चिकित्साशास्त्रअन्तर्गत स्नातकोत्तर तहको एमडीजीपी पढाइको अनुमति पाइसकिएको बताए । ‘प्रतिष्ठानको उद्देश्यअनुरुप एमबीबीएसको पढाइ सञ्चालन गर्ने लक्ष्यका साथ पहल थालिएको छ,’ उनले भने, ‘प्रतिष्ठानमा अध्ययन गरेका अधिकांश विद्यार्थी रोजगारीमा लागिसकेका छन् ।’


जनता माध्यमिक प्राविधिक विद्यालयले पनि सब–इन्जिनियरिङको पढाइ गरिरहेको छ । जिल्लाका ८ वटै स्थानीय तहले प्राविधिक शिक्षा सञ्चालन गरिरहेका छन् । गत वर्षदेखि ७ माविले प्राविधिक शिक्षा सञ्चालन गरेकोमा यस वर्ष ६ विद्यालय थपिएका छन् । त्यस्तै कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी माविमा पशु विज्ञान, पातारासी गाउँपालिकास्थित सरस्वती माविमा बाली विज्ञान र गुठीचौर गाउँपालिकाको त्रिभुवन माविमा बाली विज्ञानको पढाइ भइरहेको हो ।


गाउँका विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि धेरै संघर्ष गर्नुपरेको राष्ट्रिय कर्मचारी संगठन सीटीईभीटीका अध्यक्ष तेजबहादुर खत्रीले बताए ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?