२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

लोप हुँदै चर्खेपिङ

विप्लव महर्जन

सल्यान — दशक अघिसम्म विभिन्न चाडपर्वका बेला गाउँगाउँमा चर्खेपिङ बनाइन्थ्यो । चर्खेपिङ बनाइएसँगै जिल्लामा चाडपर्वको रौनक आरम्भ हुन्थ्यो । कुनै बेला चाडपर्वको समयमा निकै महत्त्वपूर्ण मानिने चर्खेपिङ ग्रामीण क्षेत्रमा अहिले देख्न पनि मुस्किल छ ।

लोप हुँदै चर्खेपिङ

मनोरञ्जनका आधुनिक सामग्री भित्रन थालेसँगै चर्खेपिङ लोप भएका हुन् । कुनै समय मेलापर्वमा रमाइलोको साधन चर्खेपिङ हुन्थ्यो । चाडपर्व तथा मेला मनाउने चलन फेरिएसँगै चर्खेपिङको प्रयोग घटेको सिद्धकुमाख गाउँपालिका २, का वीरबहादुर चलाउनेले बताए । उनका अनुसार गाउँमै लाग्ने कुमाख मेलाको समयमा ५ वर्षअघिसम्म २ दर्जन बढी चर्खेपिङ जडान गरिन्थ्यो ।


‘५ दिनसम्म लाग्ने मेलामा चर्खेपिङ चढ्नकै लागि गाउँगाउँबाट मानिसको भीड लाग्थ्यो, केही वर्षयता मुस्किलले २/३ वटा चर्खेपिङ मात्र राखिन्छन्,’ उनले भने, ‘कुनै समय कुमाख मेलाको रौनकै चर्खेपिङ थियो, यो लोप भएसँगै मेलाको महत्त्व पनि घट्न थाल्यो ।’ स्थानीयका अनुसार सामुदायिक वनले रूख काट्न रोकेपछि पनि चर्खेपिङको प्रयोग घटेको हो ।


चर्खेपिङका लागि बलियो काठ आवश्यक पर्छ । २/३ वटा रुखबाट मात्र एउटा चर्खेपिङ बन्ने उनले बताए । ‘युवापुस्तामा चर्खेपिङप्रति रुची पनि घट्यो,’ चलाउनेले भने, ‘चर्खेपिङ बनाउने सीप भएका व्यक्ति नै पछिल्लो समय भेटिन छोडेका छन् ।’ उनका अनुसार विगत वर्षमा तीज भित्रिएसँगै गाउँगाउँमा पिङ बनाउने लहर चल्थ्यो । दसैं तिहार सकिएपछि मात्र गाउँबाट पिङ निकालिन्थ्यो । मेलापर्वमा चर्खेपिङसँगै लोकबाजा, लोकगीत र नाच पनि लोप हुन थालेको उनी बताउँछन् ।


कुनै समय दसैंको टीकाको दिन धर्ती छाड्दा पवित्र भइन्छ भन्ने मान्यता गाउँगाउँमा विद्यमान थियो । मनोरञ्जनका आधुनिक साधनले चर्खेपिङ विस्थापित गरेको स्थानीय पूर्णबहादुर भण्डारी बताउँछन् ।


‘विगतमा मेलापर्वको बेला चर्खेपिङले ठूलो महत्व राख्थ्यो, बालबालिकादेखि वृद्धसम्मको पिङमा घुँइचो हुन्थ्यो,’ उनले भने । परम्परागत मनोरञ्जनका साधनको संरक्षणमा स्थानीय तहको पनि ध्यान जान नसकेको जयतपानीका वीरबहादुर घर्तीले बताए ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?