२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

धरालो बस्दा पढाइमा बाधा

सल्यान — बन्गाडकु पिण्डे नगरपालिका १२, निगालचुलाकी १० वर्षीया पिरमी पुनले उमेर अनुसार कक्षा ४ मा पढ्नुपर्ने हो । विद्यालय गाउँभन्दा टाढा हुँदा र भाइ–वहिनीको धरालो (हेरालु) बस्नुपर्दा उनी कक्षा १ भन्दा माथि उक्लिन सकेकी छैनन् । गाउँकै ७ वर्षीया दीपा राना पनि उनी दुई भाइ र एक बहिनीको धरालो बस्न बाध्य छिन् । 

उनीहरू उदाहरण मात्र हुन्, जिल्लाका ग्रामीण क्षेत्रका बालबालिका धरालो बस्नुपर्दा पढाइबाट वञ्चित हुँदै आइरहेका छन् । अभिभावक मजदुरी र घरको काममा व्यस्त हुने भएपछि विपन्न परिवारका बालबालिकाले नै भाइ–बहिनीको स्याहारसुसार गर्दै आइरहेका छन् । घर नजिकै विद्यालय भए पनि धरालो बस्नुपर्ने कारणले बालबालिकाको पढाइ उमेर अनुसार हुन नसकेको हो ।


पुनका २ बहिनी र ३ भाइ छन् । ‘आमा सधै घरका अन्य काममा व्यस्त भइरहनुहुन्छ,’ उनले भनिन्, ‘त्यसैले भाइ–बहिनीलाई खाना खुवाउने, घुमाउनेलगायत जिम्मा मेरै काँधमा हुन्छ ।’ उनका बाबु रोजगारीका लागि भारतमा छन् । पढ्ने चाहना धेरै भए पनि घरायसी समस्याका कारण नियमित विद्यालय जान नसकेको पुनको गुनासो छ ।


‘आमाले मजदुरी नगरे बिहान–बेलुकाको छाक टार्न मुस्किल हुन्छ,’ उनले भने, ‘होमवर्कका लागि समय छुट्याउन पनि समस्या छ ।’ उनी बिहान सबेरैदेखि साँझ अबेरसम्म भाइबहिनी स्याहारमै व्यस्त रहन्छिन् । पिरमीकी आमा निर्मलाले आर्थिक अवस्था कमजोर भएकाले छोरीको पढाइमा असर परिरहेको बताइन् । उनले आर्थिक अवस्था कमजोर हुँदा शैक्षिक सामग्री जुटाउन पनि समस्या भएको गुनासो गरिन् ।


स्थानीय प्रेमबहादुर रानाले धरालो बस्दा गाउँका दुई दर्जन बढी बालबालिकाको पठनपाठन नियमित नभएको बताए । ‘विद्यालयमा भर्ना त हुन्छन्, तर नियमित विद्यालय जान नपाउँदा उत्तीर्ण हुन समस्या छ,’ उनले भने, ‘घरकै समस्याका कारण विपन्न बालबालिकाले पढाइ छाड्ने समस्या बढ्दै गएको छ ।’ उनका अनुसार गाउँका अधिकांश पुरुष मजदुरीका लागि भारतमा छन् ।


शैक्षिक सामग्री अभाव, घरमा नियमित होमवर्क गर्न नभ्याउनु, खाजा खर्च नहुनु, घरायसी कामको बोझलगायत कारण विपन्न बालबालिकालाई पढाइ छाड्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । गाउँका केही बालबालिका आर्थिक अवस्था कमजोर हुँदा काठमाडौ, पोखरालगायत ठाउँका इटाभट्टामा काम गर्न गएको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र २३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?