भाइरलका बिरामी बढे

रुकुम पश्चिम — केही दिनयता जिल्लामा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा बिरामीको भीड थेगिनसक्नु रहेको चिकित्सकले बताएका छन् । 

अस्पताल प्रमुख डा. महेश चौलागाईंले दैनिकजसो आउने बिरामीमा एउटै लक्षण देखिने गरेका बताए । अधिकांशलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र खोकी लाग्ने समस्या छ । प्रयोगशाला परीक्षणबाट ती बिरामीमा भाइरल ज्वरोका देखिएको उनले बताए । ‘यस्ता लक्षण बताएर आउने बिरामीको ल्याब टेस्ट गर्ने गरेका छौं । त्यस्तो असमान्य रिपोर्ट कसैको छैन,’ उनले भने, ‘यसले बिरामीमा भाइरल ज्वरोको पुष्टि हुन्छ ।’


अस्पतालमा दैनिक २ सय ५० जनासम्म बिरामी आउने गरेका छन् । जिल्ला अस्पतालका साथै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी अस्पताल र मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी उत्तिकै बढेका छन् ।


भाइरल ज्वरोबाट बालबालिका र वृद्धवृद्धा बढी ग्रस्त छन् । बाँफिकोट गाउँपालिका–२ को स्वास्थ्य चौकीका इन्चार्ज सन्देश चन्दले साउन अन्तिमदेखि भाइरल ज्वरोका बिरामी बढेको बताए । स्वास्थ्य चौकीमा आउने हरेकसँग बुझ्दा एउटै लक्षण बताउने गरेको उनको भनाइ छ ।


‘भाइरल ज्वरोले गाउँमा धेरैलाई सताएको छ,’ उनले भने, ‘कतिपय स्वास्थ्य चौकीमा आउँछन्, कति त मेडिकल र अरू अस्पतालमा जान्छन् ।’ भाइरल ज्वरोका बिरामी बढेपछि गाउँमा औषधि भने अभाव हुन थालेको उनले बताए । जिल्ला अस्पतालमा पनि एउटै प्रकारका औषधि दिनुपर्दा अभाव देखिन थालेको छ ।


अस्पतालको फार्मेसीले समेत केही दिनको घटाएर औषधि दिइरहेको छ । जिल्लाका अन्य स्वास्थ्य चौकीले पनि भाइरल ज्वरोका बिरामी तुलनात्मक रूपमा बढिरहेको जनाएका छन् ।

प्रकाशित : भाद्र २२, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?