बढ्यो रारालक्षित बजेट

राजबहादुर शाही

मुगु — नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा रारालाई लक्षित गरी बजेट बढेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्ना तर्फबाट पूर्वाधार विकासमा बजेट विनियोजन गरेका छन् ।

बढ्यो रारालक्षित बजेट

संघीय सरकारले रारामा बृहत् पर्यटकीय सूचना केन्द्र निर्माणको लागि ६० लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै, ताल वरिपरि मचान बनाउन ८० लाख रुपैयाँ विनियोजन गरिएका रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । प्रदेश सरकारले ताल वरिपरि साइकलमार्ग बनाउने योजना बनाएको छ ।


यसको लागि ५ करोड रुपैयाँ विनियोजनको तयारी भइरहेको मुगुका प्रदेशसभा सदस्य दानसिंह परियारले बताए । ‘हामीले कर्णालीमा भ्रमण वर्षलाई सफल पार्न राराको पूर्वाधार विकासमा जोड दिनुपर्छ भनेर बजेट मागेका छौं,’ उनले भने, ‘यसमा सरकार पनि सकारात्मक छ, रारामा साइकलमार्ग प्रदेश सरकारको पनि योजना भएकाले काम हुन्छ होला ।’


विगतमा पर्यटन बोर्डमार्फत राराको लागि निकै न्यून बजेट आउँथ्यो । यसले गर्दा काम प्रभावकारी रुपमा देखिँदैनथ्यो । अहिले भने योजनासहित ठूलो बजेट विनियोजित गरिएपछि स्थानीयमा आशा जागेको छ । नेपाल भ्रमण वर्ष २०२० कर्णाली प्रदेशस्तरीय पर्यटन समिति संयोजक राजु कार्की बजेटको सही सदुपयोग भए राराको विकासमा यो वर्ष कोसेढुंगा साबित हुने बताउँछन् ।


संघीय सरकारले सडक सुधारमा मात्र ५० करोड विनियोजन गरेको छ । रारा पुग्ने प्रमुख सडक नाग्म–गमगढी सडक

स्तरोन्नतिका लागि उक्त बजेट छुट्याइएको हो । उक्त बजेटबाट नाग्मदेखि गमगढीसम्म सडक डबल कटिङ गरी हिलोमा गिट्टी बिछ्याई ग्राबेल गर्ने लक्ष्य राखिएको डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर श्रवणकुमार महताराले बताए । ‘यो वर्ष ग्राबेलको काम सकिएपछि आगामी वर्ष कालोपत्रे गरिनेछ,’ उनले भने, ‘यत्ति काम भयो भने रारामा घुम्न आउने पर्यटकलाई निकै सुविधा हुने अपेक्षा गर्न सकिन्छ ।’ कर्णाली प्रदेश सरकारले ताल्चा र लामाचौरमा होमस्टे निर्माण थालेको छ ।


यसको लागि ५० लाख रुपैयाँ दिइएको छ । प्रदेश सरकारको डिभिजन वन कार्यालयले दुबै ठाउँमा सुविधायुक्त होमस्टे बनाइरहेको छ ।


दसैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको डिभिजन वन प्रमुख भरत बुडथापाले बताए । उनका अनुसार एक होमस्टेमा दुई दर्जन पाहुना बस्न सक्नेछन् । ‘होमस्टेमा विद्युत, खानेपानी, शौचालय, मचानलगायतको सुविधा रहेको छ,’ उनले भने, ‘यसले रारा घुम्न आउने पर्यटकलाई बासको समस्या हुने छैन ।’ छुट्याएको छ । ‘रारा जाऔं’ अभियानअन्तर्गत १० लाख विनियोजन गरिएको नगरपालिकाको भनाइ छ । काठमाडौं, पोखरा, लुम्बिनी, भैरहवा, चितवन, नेपालगन्ज र सुर्खेतमा यो अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको छ ।


त्यसैगरी रारा घुम्न आउने पर्यटकको लागि सल्लेरीमा गाडी पार्किङस्थल बनाइएको छ । घोडाको गोबरले वातावरणीय प्रदूषणमा प्रभाव पार्ने भएकाले गोबर संकलन केन्द्र पनि बनाइएको नगरपालिका प्रमुख हरिजंग शाहीले बताए ।


पर्यटन वर्षकै सन्दर्भमा रारा भिलेज रिसोर्ट निर्माण सुरु गरिने कम्पनीका कार्यकारी अध्यक्ष अनुपविक्रम शाहले बताए । उनका अनुसार कम्पनीले असोज पहिलो साता सल्लेरी र मुर्माकोटमा ६० कोठा भएका दुई रिसोर्ट निर्माणको काम सुरु गर्न लागेको छ । यसका लागि जग्गासमेत खरिद गरिसकिएको उनले बताए । ‘रिसोर्ट बनेपछि पर्यटकलाई खानबस्नको सुविधामात्र हुने छैन, स्थानीयलाई पनि निकै लाभ मिल्नेछ,’ उनले भने, ‘यसले रारा आसपास क्षेत्रको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने विश्वास लिएका छौं ।’


यसका लागि तालिम, गाइड तालिम, असला माछा एवं जलचर संरक्षण अभियान, ताल सरसफाइ कार्यक्रमको कार्ययोजना पनि बनाइएको परियोजनाका जलचर व्यवस्थापन विज्ञ वन्दना अवस्थीले बताइन् । कार्यक्रमको सञ्चालनको लागि बजेट प्रस्ताव गरी भइसकेको र स्वीकृति आउने बित्तिकै काम सुरु गरिने उनको भनाइ छ ।


स्थानीय सरोकारवालाले यस वर्ष राराको पूर्वाधार विकासको लागि पर्याप्त बजेट आए पनि सदुपयोग हुनेमा चुनौती औंल्याएका छन् । निकुञ्जका संरक्षण अधिकृत भण्डारीले पर्यटन वर्षकै कारण विभिन्न क्षेत्रबाट बजेट आएको बताए ।


त्यस्तै जिल्ला नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बिगतमा पनि राराको लागि बजेट आउने, तर उपलब्धि नदेखिने समस्या रहेको बताउँदै यस वर्ष देखिने गरी काम गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

प्रकाशित : भाद्र २१, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?