कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘हेयर कटिङ’ मा युवा आकर्षण 

काठमाडौँ — मुगुको छायानाथरारा नगरपालिका ७, पिनागाउँका ३६ वर्षीय गोर्ख सुनारले १० वर्षदेखि सदरमुकाममा सैलुन सञ्चालन गरिरहेका छन् । काठको टहरो बनाएर कपाल काट्ने व्यवसाय सुरु गरेका उनको आम्दानी मासिक ३५ हजार रुपैयाँसम्म छ ।

‘हेयर कटिङ’ मा युवा आकर्षण 

बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म उनी पसलमै व्यस्त रहन्छन् । सायाखोलाका २१ वर्षीय प्रेम बिकले पनि गमगढीमा यो व्यवसाय सञ्चालन गर्न थालेको ७ वर्ष पुग्यो । उनको कमाइ दैनिक न्यूतम हजार रुपैयाँ छ ।


मनग्गे आम्दानी हुन थालेपछि जिल्लाका युवामा ‘हेयर कटिङ’ व्यवसायप्रति आकर्षण बढिरहेको छ । सदरमुकाम र आसपासका बजारमा एक दर्जन बढी सैलुन सञ्चालनमा छन् भने गाउँगाउँमा यो व्यवसाय गर्ने युवाको संख्या बढिरहेको छ । ग्रामीण क्षेत्रका व्यापारिक केन्द्रमा सैलुन खुल्ने क्रम बढेको छ ।


सुनारले ०६६ सालदेखि कपाल काट्न सुरु गरेका हुन् । एक दिनमा २० देखि २५ जनासम्मको कपाल काट्ने गरेको उनको भनाइ छ । ‘एक जनाको कपाल काट्न १५ मिनेट पनि लाग्दैन, ग्राहकको चाप सधैं उस्तै हुने भएकाले दिनभर व्यस्त हुन्छु,’ उनले भने,‘एक जनाको कपाल काटेबापत सय रुपैयाँ लिने गरेको छु ।’


उनका अनुसार बर्सेनि पारि श्रमिक बढ्दै व्यवसायमा उत्साह मिलेको छ । कपाल काटेरै गमगढीमा ४ कोठे पक्की घर बनाएको उनले जनाए । खर्च खासै नहुने भएकाले सबै रकम बचत हुने उनको भनाइ छ । उनले कपाल काटेरै १ छोरा र ३ छोरीलाई निजी विद्यालयमा पढाइरहेका छन् । घरखर्च चलाएर महिनामा २० हजार रुपैयाँ बचत हुने गरेको उनी बताउँछन् ।


विक पनि आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । ‘यो व्यवसायमा खर्च धेरै नभएकाले अधिकांश रकम बचत हुन्छ,’ उनले भने, ‘दिनमा १५ जनासम्मको कपाल काट्दै आइरहेको छु, यही आम्दानीले घरखर्च चलेको छ, मासिक बचत पनि बढिरहेको छ ।’ सायाँखोलाबाट एसइई उतीर्ण गर्ने उनी पहिलो व्यक्ति हुन् ।


घरको आर्थिक अवस्था कमजोर भएकाले उनले एसइई उतीर्ण गर्नबित्तिकै व्यवसाय सुरु गरेको जनाए । उनले पढाइलाई पनि निरन्तरता दिइरहेको जानकारी दिए । उनका अनुसार अहिले घरको अवस्था पनि सुध्रिएको छ । शनिबार र बिदाको दिन सदमुकामका सैलुन भरिभराउ हुने गरेका छन् । स्थानीय, कर्मचारी, व्यापारी र विद्यार्थीको भीडले दिनभर व्यस्त बन्ने गरेको उनको भनाइ छ ।


अहिले युवापुस्तामा ‘हेयर कटिङ’ व्यवसायप्रति आकर्षण बढिरहेको उद्योग वाणिज्य संघका कोषाध्यक्ष जयबहादुर शाहीले बताए । उनका अनुसार अहिले स्थानीय युवाकै भरमा सैलुन व्यवसाय चलिरहेको छ । केही वर्षअघिसम्म गमगढीमा मधेसी मुलका व्यक्तिहरूका सैलुन सञ्चालनमा थिए ।


उनले आम्दानी राम्रो हुन थालेपछि गाउँगाउँमा सैलुन खोल्ने युवाको संख्या बढेको जनाए । ‘यो व्यवसायबाट युवाहरू स्वरोजगार र आत्मनिर्भर बनेका छन्,’ उनले भने, ‘खर्चको तुलनामा आम्दानी बढी भएकाले युवा आकर्षण बढेको हो ।’

प्रकाशित : भाद्र २०, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?