महिलाले पाउँदैनन् प्रधानाध्यापकको जिम्मेवारी

१ सय ८२ सामुदायिक विद्यालयमध्ये ३ मात्र महिला प्रधानाध्यापक
राजबहादुर शाही

मुगु — जिल्लाभर १ सय ८२ सामुदायिक विद्यालय छन् । केही विद्यालयमा कनिष्ट पुरुष शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ । तर, ३ महिलाले मात्र सामुदायिक विद्यालयको नेतृत्व गर्ने मौका पाएका छन् । 

वरिष्ठ शिक्षकबाट प्रधानाध्यापक छनोट गर्ने शिक्षा नियमावलीमा व्यस्था गरिएको छ । तर ग्रामीण क्षेत्रमा प्रावि शिक्षकले माध्यमिक तहको नेतृत्व गरिरहेका छन् । जिल्लामा बर्सेनि करिब २ दर्जन विद्यालयको नेतृत्व फेरिन्छ तर महिला शिक्षकले त्यो अवसर पाउन सकेका छैनन् ।


छायानाथरारा नगरपालिकास्थित पशुपति प्रावि, इमामा चेतना शाही, प्रावि त्रिपमा आशा रावल र खत्याड गाउँपालिकाको गाडेखोला प्राथमिक विद्यालयमा माया खड्काले मात्र प्रअको जिम्मेवारी पाएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार १ सय ७९ विद्यालयमा पुरुष प्रधानाध्यापक कार्यरत छन् ।


सेतीबाडा प्राथमिक विद्यालयकी शिक्षिका अम्बिका आचार्यले सबै क्षेत्रमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था भए पनि मुगुमा प्रअको हकमा लागू नभएको बताइन् । ‘सबै सामुदायिक विद्यालयले पुरुष शिक्षकलाई मात्र प्रधानाध्यापकको जिम्मेवारी दिँदा महिला शिक्षक निराश बनेका छौं,’ उनले भनिन्, ‘महिलाले जिम्मेवारी पूरा गर्न सक्दैनन् भन्ने गलत धारणा सबैमा छ, जसका कारण हामीले अवसर पाउन नसकेका हौं ।’


जिल्लामा प्राथमिकदेखि माध्यमिक तहसम्म ६५ शिक्षिका कार्यरत छन् । तीमध्ये ५१ जना मात्र स्थायी हुन् । जिल्लाका २२ माध्यमिक र २० निम्न माध्यमिक विद्यालयमा महिला प्रअको संख्या शून्य रहेको आचार्यको गुनासो छ । १ सय ४० मध्ये १ सय ३७ प्राथमिक तह पुरुष शिक्षककै नेतृत्वमा चलिरहेको उनी बताउँछिन् । इकाईका अनुसार प्राथमिक तहमा ३ सय ३६ स्थायी र १८ राहत, निम्न माविमा ६५ स्थायी र १० राहत तथा माध्यमिकमा ४५ स्थायी र १० राहत शिक्षकको दरबन्दी छ ।


प्रधानाध्यापक बन्न स्थायी शिक्षक हुनुपर्ने, विद्यालयको वरिष्ठ शिक्षक हुनुपर्ने, माथिल्लो शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, तालिम प्राप्त हुनुपर्नेलगायत व्यवस्था शिक्षा नियमावलीले गरेको छ । नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि र स्रोतव्यक्ति सम्मिलित ३ सदस्यीय समितिले विद्यालयमा प्रअ नियुक्त गर्ने प्रावधान छ ।


तर कतिपय विद्यालयले महिला शिक्षकलाई बेवास्ता गरी कनिष्ट पुरुष शिक्षकलाई प्रअको जिम्मेवारी दिएको महाकाली नमूना माविमा कार्यरत शिक्षिका गीता शाहीले बताइन् । ‘म प्रअ हुन्छु भन्दा पनि घरायसी कामको बोझ र विद्यालय प्रशासन सञ्चालन गर्न नसक्ने भन्दै महिलालाई प्रअको जिम्मेवारी दिइदैन,’ उनले भनिन्, ‘प्रअको जिम्मेवारी पाए महिला शिक्षकको नेतृत्व विकास हुने थियो ।’ उनले महिलाले जिम्मेवारी पाए जस्तोसुकै भूमिका निर्वाह गर्नसक्ने दावी गरिन् ।


पशुपति प्राविकी प्रअ शाहीले जिम्मेवारीबाट पन्छाउने काम भएकाले महिला शिक्षिकाले आफ्नो क्षमता देखाउने अवसर नपाएको बताइन् । उनले वरिष्ठ महिला शिक्षिकालाई प्रअको जिम्मेवारी दिइए उत्साह बढ्ने जनाइन् । ‘विद्यालयहरूमा महिला शिक्षिकाको संख्या कम हुँदा पनि समस्या भएको हो,’ उनले भनिन्, ‘शिक्षिक सेवा आयोगमार्फत अब आउने महिला शिक्षिकालाई प्रअको जिम्मेवारी दिइन जरुरी छ ।’


छायाँनाथरारा नगरपालिकाको महाकाली नमूना माध्यमिक विद्यालयमा टिका हितान र रञ्जना कर्ण मात्र स्थायी पदमा कार्यरत छन् । ग्रामीण क्षेत्रका विद्यालयमा महिला शिक्षिकाको संख्या न्यून रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी नदिँदा जिल्लाभर महिला प्रअको संख्या कम

भएको हो । उनका अनुसार जिल्लाका कुनै पनि विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष महिला छैनन् ।


प्राथमिक तहका शिक्षक माविका प्रअ

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा कनिष्ट शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको छ । सोरु गाउँपालिकास्थित गुरु मावि भीइमा उम्मेर बुमी, जनज्योति मावि नार्थपुमा अंगबहादुर शाही र जगत माला धैनकोटमा धनराज जोशीले प्रअको जिम्मेवारी पाएका छन् । त्यस्तै खत्याड गाउँपालिकास्थित महादेवमष्टा माविमा उत्तम कार्की, मावि श्रीकोटमा रामनाथ योगी, सर्वोदय मावि सुकाढिकमा लोकेन्द्र कार्की प्रअको जिम्मेवारीमा छन् ।


सबैजना प्राथमिक तहका शिक्षक हुन् । जिल्ला बाहिरका मावि तहका शिक्षकलाई प्रअको जिम्मेवारी नदिँदा स्थानीय प्रावि शिक्षकले उक्त जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खत्रीले जानकारी दिए ।

प्रकाशित : भाद्र १८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?