१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाईगोरु प्रकरणले स्थानीय तहबीच विवाद

ज्योति कटुवाल

दैलेख — जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई माग गरेको रहस्य खुलेपछि स्थानीय तहबीच विवाद सुरु भएको छ । सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले जिसस पदाधिकारीले व्यक्तिगत स्वार्थका आधारमा गाई मागेको आरोप लगाएका छन् ।

गाईगोरु प्रकरणले स्थानीय तहबीच विवाद

जिसस प्रमुख प्रेमबहादुर थापा र उपप्रमुख लक्ष्मीदेवी शाहद्वारा हस्ताक्षरित चिठीमा ‘पञ्चकोसी धार्मिकस्थलहरू श्रीस्थान, नाभिस्थान, कोटिला, धुलेश्वर, पादुकालगायत स्थलमा पाल्नका लागि र नारायण नगरपालिकासहित अन्य स्थानीय तहमा व्यावसायिक गाईपालन प्रयोजनका लागि स्वच्छ र पाल्नयोग्य गाई उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ’ भनेर लेखिएको छ । सामान्यतयाः यस्तो चिठी जिल्ला समन्वय अधिकारीले पठाउने चलन रहे पनि प्रमुख र उपप्रमुखले नै किन हस्ताक्षर गरे भन्नेबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । चिठी भदौ ९ गते बनेको थियो ।


चिठीमा नाम उल्लेखित नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भने गाई नमागेको दाबी गरेका छन् । किसानलाई व्यावसायिक गाईपालनका लागि वितरण गर्ने कार्यक्रम भए पनि छाडा चौपाया वितरण गर्नेबारे भने सोच्नै नसकिने उनले बताए । ‘नेपालगन्जका छाडा चौपाया ल्याउनेबारे हामीसँग कुनै सम्पर्क भएको छैन,’ उनले भने, ‘यी गाई कसले, कसरी ल्याए हामीलाई थाहा छैन ।’ उनले गाई मृत्यु प्रकरणमा नगरपालिकालाई मुछेकामा आपत्ति जनाए ।


गत बिहीबार राति नेपालगन्ज उपमहानगरपालिकाले ३ सय ७० गाईगोरु ट्रकमा हालेर दैलेख पठाउने क्रममा ३७ वटा सुर्खेत क्षेत्रमा मरेका थिए । ट्रकका ७ जना चालक र २ जना सहचालकलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


श्रीस्थान मन्दिरका महन्त गोकर्ण योगीले मन्दिरमा गाई हेर्ने गोठाला र गौशाला नहुँदा दान दिएका गाई व्यवस्थापनमै समस्या भइरहेका बेला जानकारीबिनै बाहिरबाट ल्याइनु आपत्तिजनक रहेको बताए । उनका अनुसार हरेक दुई/तीन दिनमा एउटाको दरले गाई आउने गरेका छन् । नाभिस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले पनि भएकै गाईबस्तु कसरी व्यवस्थापन गर्ने भन्नेमा टाउको दुःखाइ भइरहेका बेला नेपालगन्जबाट यहाँका लागि ल्याउन माग गरेको भन्नु गलत भएको बताए ।


नेपालगन्ज उपमहानगरपालिकाद्वारा अधिवक्ता विकास आचार्यको संयोजकत्वका गठित छानबिन समितिले सोमबार दैलेख पुगेर काम थालेको छ । समितिले जिससले गाई माग गरेको चिठी देखायो भने अन्य स्थानीय तहका जनप्रतिनिधिले यसबारे अनभिज्ञता जाहेर गरे । जिसस प्रमुख थापाले मठमन्दिर र किसानका लागि गाई मागिएको बताए ।


‘हामीले जिल्लाका विभिन्न स्थानीय तहसँग मौखिक सम्पर्क गरी गाई मागेका हौं,’ उनले भने, ‘यसको उद्देश्य राम्रो भए पनि बीचैमा गाई मर्दा परिणाम नराम्रो देखियो ।


घटनामा संलग्न अन्यलाई पनि अनुसन्धानको दायरामा ल्याउनेबारे प्रक्रिया थालिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । यसैबीच नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले सोमबार पत्रकार सम्मेलन गर्दै राम्रो उद्देश्यका लागि गाई स्थानान्तरण गर्न खोजे पनि घटना भएकामा दुःख व्यक्त गरेका छन् ।


दैलेख जिससको लिखित पत्रपछि गाईगोरु पठाएको उनले बताए । ‘हामीले कुनै गलत उद्देश्यका लागि गाई स्थानान्तरण गर्न लागेका थिएनौं,’ उनले भने, ‘राम्रो गर्न खोज्दाखोज्दै पनि बीच बाटोमा दुर्घटना भयो, यसमा दुःख व्यक्त गर्दछौं ।’

प्रकाशित : भाद्र १८, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?