कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहिरोमा परिवार गुमाएर एक्लो

भीमबहादुर सिंह

जाजरकोट — गत शनिबार राति ८ बजेदेखि लगातार वर्षा भइरहेको थियो । भेरी नगरपालिका २, तिमिलेका ३५ वर्षीय दलबहादुर ओलीलाई पहिरो आउला भन्ने कल्पनासमेत थिएन ।

पहिरोमा परिवार गुमाएर एक्लो

९ दशकअघि बसोबास गरेको ठाउँमा अहिलेसम्म पहिरो गएको पनि थिएन । तर उनले पहिरोमा परिवारका सबै सदस्य गुमाएका छन् ।


ओलीको परिवार शनिबार बेलुकीको खानपिन गरी सधैंझैं १० बजे सुत्यो । उनकी पत्नी र २ छोरी घरको भित्री कोठामा सुते । दलबहादुर बाहिर कोठामा सुते । सुतेको १ घण्टा नबित्दै राति सवा ११ बजे पहिरो खस्यो । १ सय मिटर माथिबाट आएको पहिरोले दलबहादुरको ४ कोठे घर त पुर्‍यो नै, परिवारका ३ सदस्यले ज्यान गुमाए । पहिरोमा परी पत्नी ३२ वर्षीया पार्वती, ९ वर्षीया छोरी मोतिकला र ३ वर्षकी छोरी धनसराको मृत्यु भयो । अर्को कोठा सुतेका दलबहादुरले भने धन्न ज्यान जोगाए ।


पहिरो खसेपछि उनी ब्युझँदा पत्नी र छोरीहरू ‘बचाउ बचाउ’ भन्दै चिच्याउदै थिए । ‘घरको तल्लो कोठाको भित्ताको प्वालबाट फुत्केर मैले त ज्यान जोगाए,’ भावविह्वल हुँदै उनले भने,‘तर छोरीहरू र पत्नीलाई बचाउन सकिन् ।’ पहिरोमा पुरिएरका पत्नी र छोरीलाई खोज्दा सफल नभएपछि उनले छिमेकीलाई गुहारे । छिमेकीहरू घटनास्थल आउँदा उनीहरूको ज्यान गइसकेको थियो ।


दलबहादुरको खुट्टा र ढाडमा चोट लागेको छ । ‘मैले कसरी ज्यान जोगाए, मलाइ नै थाहा छैन,’ उनले भने, ‘कहिल्यै नखसेको ठाउँमा पहिरोले मेरो सबै सखाप बनायो, परिवारै गुमाएर म एक्लै कसरी बाँचु ?’ स्थानीयका अनुसार सुरक्षाकर्मी र स्थानीयले आइतबार बिहान ८ बजे मात्र घरभित्र पुरिएका ३ आमाछोरीको शब निकालेका थिए ।


घटनास्थल सदरमुकाम खलंगाबाट ३ घण्टाको पैदल दूरीमा छ । घटनास्थलबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल शब ल्याउन समस्या पर्ने भएकोले स्थानीयको आग्रहमा घटनास्थलमै प्रहरी मुचुल्का उठाएर मृतकको सामुहिक अन्त्यष्टी भएको छ ।


यातायातको सुविधा नभएको अवस्थामा ३/३ वटा शब बोकेर ल्याउन समस्या पर्ने भएपछि स्थानीयको आग्रहमा मुचुल्का उठाएर दाहसंस्कार गर्ने अुनमति दिइएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले बताए । पहिरोमा पुरिएर १५ दिने भैसीको पाडो समेत मरेको छ । पहिरोले दलबहादुरको नगद, अन्नपात, लत्ताकपडा, भाडावर्तन र मकैबालीलगायत नष्ट गरेको उनले जानकारी दिए ।


दलबहादुरका १२ वर्षीय छोरा दीपेन्द्र भने बाँकेको कोहलपुरमा अध्ययनरत छन् । अहिले दलबहादुरको घरमा मृतकको किरिया कर्म चलिरहेको छ । आफ्नो घर पहिरोले पुरेपछि दलबहादुरले भाइको घरमा किरियाको काम भइरहेको हो । यस वर्ष जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ ।


सदरमुकाम खलंगाका दर्जन बढी स्थान पहिरोको उच्च जोखिममा छन् । गत वर्ष पनि खलंगा ठाँटीबजारमै गएको पहिरोमा परेर ९ जनाको ज्यान गएको थियो । उक्त पहिरोमा परेर एकै परिवारका ४ जनाका साथै ८ जना बालबालिकाको मृत्यु भएको थियो । अघिल्लो वर्ष खसेको पहिराले नलगाड नगरपालिकाको अवलगुर्तामा ५ जना र भेरी नगरपालिका–४, बोहोरामा एकै परिवार ११ जनाको ज्यान गएको थियो ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?