कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहरमा तीज गाउँमा कामकै चटारो

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका ४ की झुपरी शाही खेतबारीमा धान गोडमेल गर्न व्यस्त छिन् । उनलाई तीजले छोएको छैन ।

सहरमा तीज गाउँमा कामकै चटारो

सदरमुकामलगायत सहरी क्षेत्रका महिलाहरू नयाँ पहिरनका साथ धार्मिक मठमन्दिरमा पूजापाठ गरी पतिको दीर्घायूको कामना गरिरहेको बेला उनी भने कामको चटारोमा छिन् । ‘तीज भन्ने त सुनकी छु,’ उनले भनिन्, ‘हामीलाई खेतीपातिमै फुर्सद छैन, के को तीज मान्नु ?’


झुपरीजस्ता ग्रामीण महिलाहरू तीजदेखि धेरै टाढा छन् । उनीहरूलाई कामै प्यारो छ । गमगढी बजार क्षेत्रमा सोमबार तीजको रमझम भए पनि सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाका बस्तीहरूमा यो पर्वले छोएन । मुन्दुगाउँकी माया बोहोराले घाँसदाउरा, मेलापात गर्ने आफूजस्तालाई तीजको रमझमसँग सरोकार नभएको बताइन् ।


मुगुमा छायानाथरारा नगरपालिकाको गमगढी, कार्कीबाडा, भामबाडा, ढुम, रोवा, रुघालगायत बस्तीमा मात्र तीजको प्रभाव देखियो । अन्य क्षेत्रका महिलालाई तीज आएको पत्तो पनि भएन । नेपाल पत्रकार महासंघकी उपाध्यक्षसमेत रहेकी सुमित्रा रावलले ग्रामीण क्षेत्रमा तीजको महत्त्व र प्रवाह नहुने गरेको बताइन् । ‘एक त उनीहरूलाई तीजबारे कुनै चासो छैन,’ उनले भनिन्, ‘भइहाले पनि रमाइलो गर्ने फुर्सदै हुँदैन ।’


जिल्लाको उत्तरी क्षेत्रमा पर्ने मुगुमकर्मारोङ गाउँपालिकामा बौद्ध धर्मालम्बीको बसोबास छ । यसले गर्दा पनि त्यहाँ तीज मनाइँदैन । बरु त्यहाँल्होसारमा रमझम हुने गर्छ ।


गमगढीमा रौनक

जिल्ला सदरमुकाम गमगढी बजारमा भने सोमबार तीजको रौनक निकै देखियो । महिलाले व्रत बसेर छायानाथ शिव मन्दिरमा पूजापाठ गरी गमगढी बजारको चोक–चोकमा नाचगान गरि रमाइलो गरे ।


गमगढीको मिलनचोक, कृष्णचोक, अदालतचोकलगायत बस्तीमा महिलाले समूहगत रुपमा नाचगान गरी तीज मनाएका छन् । गमगढीकी बैदेवी शाहीले तीजकै कारण गमगढी बजार पनि गुल्जार भएको बताइन् । गमगढी बजारमा तीज हेर्न वरपर बस्तीका युवायुवती र बुढापाका आएका छन् । मुगुमा करिब ५ वर्षदेखि तीजको प्रभाव देखिएको हो ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?