२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

किशोरी बने बाल अभियन्ता

कालीकोट — सान्नीत्रिवेणी २, रकु की पूजा बीसी गाउँमा कसैको उमेर नपुगी विवाह हुन लागेको सूचना पाउनेबित्तिकै बाल क्लबमा आबद्ध साथीहरू लिएर पीडितको घर पुग्छिन् । उमेर नपुगी विवाह गर्ने पक्षलाई सम्झाएर उनले धेरै विवाह रोकिसकेकी छिन् । 

किशोरी बने बाल अभियन्ता

यही कारण बाल अभियान्ताका रूपमा उनको परिचय फेरिएको छ । गाउँस्तरीय बाल क्लबको सचिव र अध्यक्ष हुँदै जिल्ला बाल मञ्चकी अध्यक्ष बनेकी पूजाले १३ वटा विवाह रोकेको सुनाइन् ।


‘नबुझेका अभिभावकलाई सम्झाउन निकै कठिन छ,’ १७ वर्षीया पूजाले भनिन्, ‘कोही त मेरो छोराले विवाह गरेको तेरो के कपाल (टाउको) दुख्यो ? भन्दै झगडा गर्न आउथे ।’ सुरुमा ०७५ वैशाखमा हुन लागेका ३ विवाह रोक्न सफल भएको उनले सुनाइन् । बालअधिकार, नेतृत्व विकास, बाल पत्रकारिता, बालक्लब व्यवस्थापनलगायत तालिम पाएकी पूजा गत वर्ष राष्ट्रिय बालिका सम्मेलनमा पनि सहभागी भएकी थिइन् ।


सुर्खेत र नेपालगन्जमा हुने बालबालिकासम्बन्धी कार्यक्रममा जिल्लाको प्रतिनिधित्व गर्ने मौका पाएकी उनले गत वर्ष कालीकोटका बालबालिकाले भोग्नु परेका समस्याबारे बोल्दै आएकी छन् । साबिकको रकु गाविसलाई बालविवाहमुक्त घोषणा गर्न उनको भूमिका पनि महत्त्वपूर्ण बन्यो ।


अर्की अभियान्ता हुन्, फोइमहादेव ३ की १६ वर्षीया संगीता दमाईं । उनले पठनपाठनबाट वञ्चित बालबालिकालाई विद्यालय भर्ना गरी वाहवाही पाएकी छिन् । उनी विद्यालयमा गठन भएको बाल क्लबमा रहेर बालविवाहविरुद्धको अभियान चलाइरहेकी छन् ।


वडास्तरीय बाल सञ्जालकी अध्यक्ष हुँदै नगरपालिकास्तरीय बाल सञ्जालकी अध्यक्ष रहेकी उनको पहलमा ५ बालविवाह रोकिएका छन् । छाउपडी प्रथा अन्त्य गर्न गाउँमा उनको भूमिका महत्त्वपूर्ण छ । महादेव मावि फोइकोटका प्रधानाध्यापक नरदीप शाहीले छात्राका समस्या विद्यालय प्रशासनसँग खुलस्त राख्ने क्षमता संगीतामा रहेको बताए ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?