२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रहेनन् सडक–सर्जक

वीरेन्द्रनगर — वीरेन्द्रनगरका हरेक चोक र गल्लीदेखि सांस्कृतिक, धार्मिक र राजनीतिक कार्यक्रममा उनको आवाज घन्किन्थ्यो । सडक र चोकका सांगीतिक सहयात्री बने मैतुराम नेपाली । 

रहेनन् सडक–सर्जक

आँखाले संसार नदेखे पनि हरेक सडकसँग परिचित उनी अन्ततः सडकबाटै सदाका लागि बिदा भएका छन् । वीरेन्द्रनगर ६, खोर्केखोलाका नेपाली शनिबार दिउँसो मूलपानी चोकमा अटोबाट खस्दा टाउकोमा चोट लाग्दा सख्त घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि लखनउ लगिएको थियो ।


उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नेपाली धारापानी जाँदै गर्दा भे.१स ७९१८ नम्बरको अटोबाट खसेका थिए । हातमा छडी मात्र नभई एउटा न एउटा बाध्ययन्त्र बोकेर हिँड्ने मैतुले बजाउने हार्मोनियम, मादल र सारंगीको धुन अनि उनको आवाज अब वीरेन्द्रनगरका घुम्तीमा गुञ्जिने छैनन् । तर यहाँका संगीतप्रेमीको मनमा भने उनी सदा जीवित हुनेछन् ।


वरिष्ठ बाध्यवादक प्रेमदेव गिरी बहु प्रतिभाका धनी मैतुलाई गुमाउनुपरेको बताउँछन् । मैतुले कसैको सहाराबाट भन्दा पनि आफ्नो कलाको माध्यमबाटै जीवन चलाइरहेका थिए । ‘मैले धेरैपटक उसको हार्मोनियम र सारंगीको तारहरू बनाइदिएको छु,’ गिरी भन्छन्, ‘कसैसँग हात थाप्नुभन्दा संगीतकै माध्यमबाट बाँच्छु भनेर उसले संघर्ष गरेको थियो ।’ वाद्यवादन नेपालीले तबलामा ख्याति प्राप्त गरेको जनाउँदै गिरीले जुनसुकै बाध्ययन्त्र पनि बजाउने क्षमता उनमा रहेको जनाए ।


कर्णाली कला प्रतिष्ठानका अध्यक्ष बालकृष्ण सुनार बहुप्रतिभाका धनी नेपालीको निधनले सुर्खेतको सांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताउँछन् । उनको गायन तथा बाद्यवादन क्षमताको कदर सबैले गर्नुपर्ने उनको भनाइ छ । ‘यहाँका हरेक चोकलाई माधुर्य पारेका नेपालीले सबै बटुवालाई आफ्नो गीतमार्फत मन जितेर अर्थोपार्जन गरेका थिए,’ उनले भने, ‘दृष्टिविहीन भए पनि उनले कहिल्यै मागेर खाएनन्, सडकमै गाएर बसे पनि उनले आफ्नो कला बेचेर आर्जन गरेका थिए ।’ उनले नेपालीको मिहिनेत र कला सम्झनलायक भएको सुनाए ।

प्रकाशित : भाद्र १६, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?