२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बुढेसकालमा कामको बोझ 

विप्लव महर्जन

(सल्यान) — शारदा नगरपालिका ६, टाकुराका नरबहादुर बिक उमेरले ७५ बर्ष पुगे । उनी शारीरिक रूपमा समेत कमजोर छन् । तर, कामको बोझ घटेको छैन । ‘काम नगरी बिहानबेलुकी खान पुग्दैन,’ उनी भन्छन्, ‘त्यही भएर सकिनसकी काम गरिरहेको छु ।’

बुढेसकालमा कामको बोझ 

उनी चोया काट्ने र डोको बुन्ने काम गर्छन् । यो काम उनले १२ वर्षको उमेरदेखि सुरु गरेका हुन् । साहारा दिने छोराहरू घर छाडेर बाहिर गएकाले सिपअनुसार काम गरिरहेको उनी बताउँछन् । उनले बाँसको चोयाबाट दैनिक एउटा डोको बुनेर तीन सयसम्म कमाउने गरेको बताए ।


बुढेसकालमा काम गर्नुपर्ने बाध्यतामा उनीमात्र छैनन् । छोराबुहारीले नहेर्दा जिल्लाका अधिकांश जेष्ठ नागरिक बुढेसकामलमा काम गर्न बाध्य छन् । कसैका घरमा कमाउने छोरा नभएका, कसैले कमाए पनि बाबुआमालाई नहेरेका कारण उनीहरू समस्यामा परेका छन् । सरकारले जेष्ठ नागरिक भन्दै सामाजिक सुरक्षा भत्ता नदिएको होइन । रकम अपुग हुँदा उनीहरू विभिन्न काम गर्न बाध्य छन् । बिहान चिसो हुँदा समयमै उठ्न मन नलाग्ने र काम गर्ने जाँगर नलागे पनि बाध्यताले गर्दा नगरी नहुने अवस्था रहेको जयतपानीका ७६ वर्षीय पिमलाल बुढा बताउँछन् । उनले बिहान बेलुकी खर्च जुटाउन हरेक किसिमका काम गर्दै आएको जानकारी दिए । ‘छोराहरू घरमा छैनन्, कामको खोजीमा विदेश गएका छन्,’ उनले भने, ‘कमाएको पैसा बुहारीलाई पठाउँछन् होला, हामी बुढाबुढीले आफ्नो ज्यान आफैं पाल्नुपर्छ ।’


घरबार केही नभएका कारण शारदा नगरपालिका-१, शान्तिनगरस्थित प्रतिक्षालयमा बस्दै आएका वर्ष ६० का बीरबहादुर बादीले आफूलाई पाल्ने कोही नभएकाले पनि सिपअनुसार मादल मर्मत गरेर गुजारा चलाउँदै आएको बताए । बुढेसकालमा प्रतिक्षालयमा चिसोमा बसेर काम गर्ने रहर नभए पनि बाध्यताले यस्तो बनाएको उनको भनाइ छ । ‘भोक लाग्छ, खाना खानैपर्छ,’ उनले भने, ‘त्यसको लागि काम नगरी सुख छैन ।’ बनगाडकुपिण्डे १०, ढोरपिपलकी ७५ वर्षीया वृद्धा कमला बुढाले घट्ट चलाएर चारजनाको परिवार पाल्दै आएको बताइन् । सरकारले दिने भत्ताले गर्जो नटार्ने हुँदा काम गर्नुपरेको उनको भनाइ छ ।


प्रकाशित : भाद्र १५, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?