कर्णाली राजमार्गमा कहर 

वैशाखयता पहिराले २३ दिनसम्म सडक अवरूद्ध हुादा कर्णालीका विभिन्न जिल्लाका बासिन्दालाई आउजाउमा सास्ती
तुलाराम पाण्डे

(कालिकोट) — भदौ ९ गते बेलुकी तिलागुफा–७, छाप्रेगाउँको मुनिबाट फुटेको पहिरोले कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) तीन दिन अवरुद्ध भयो । टाकुल्ला नजिकैको पहिरोले स्थानीयका ३ घर र १९ जनाको जग्गा बगायो ।

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको कालीकोट कालेखोलामा साउन अन्तिम साता गएको पहिरो पन्छाउँदै डोजर । काले खोला पुल छेउको चट्टान खसेपछि पहिरो हटाएर सडक सुचारु गर्न ५ दिन लागेको थियो ।तस्बिर : तुलाराम/कान्तिपुर

तिलागुफा नगरपालिका, सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरीसहित स्थानीयको पहलमा तीन दिनपछि सडक सञ्चालनमा आए पनि ठूलो पानी पर्दा फेरि सडक अवरुद्ध हुने सम्भावना छ । ‘जेनतेन सडक त खुल्यो,’ तिलागुफाका नगर प्रमुख रतनबहादुर शाहीले भने, ‘पहिरोले बेला बेलामा सडक नै अवरुद्ध हुन थाल्यो ।’

बैशाख पहिलो साता पनि यहीको भैसेगौंडामा भीषण पानी परेपछि आएको भेलले सडक अवरुद्ध गरेको थियो । साउन २४ गते कर्णाली राजमार्गको कालेखोलामामा चट्टान फुटेर पहिरो गएपछि पाँच दिन सडक ठप्प भयो । एक स्काभेटर र एक जेसिभीले रातदिन लागेर पहिरो हटाएपछि एकतर्फी सडक खुले पनि पुन ढुंगा खस्ने जोखिम छ ।

जेठ, असार र साउनमा पटक–पटक गरी ९ दिन कर्णाली राजमार्गको गगनेखोला पहिरोले सडक अवरुद्ध भयो । शुभकालिका–१ तल्लोछातीबाट फुटेको पहिरोले वर्षेनि यात्रुलाई सास्ती दिने गरेको छ । ‘कर्णाली राजमार्गमा कतिखेर सडक अवरुद्ध हुन्छ ठेगान नै हुँदैन,’ कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले भने, ‘यात्री र सामानको बिजोग हुन्छ ।’ उनले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा पल्टी गरेर सामान ल्याउनुपर्दा लागत पनि महँगो पर्ने बताए । कर्णालीका कालिकोट, जुम्ला, मुगुसँग प्रत्यक्ष जोडिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक वैशाखयता पहिरोले २३ दिन अवरुद्ध भएको छ ।

वैशाखमा चार दिन, जेठमा तीन दिन, असारमा पाँच दिन, साउनमा आठ दिन र भदौमा तीन दिन सडक अवरुद्ध भएको हो । ‘अरु कारणले त दिनको दुई–चार घण्टा गाडी रोकिनु सामान्यजस्तै मानिन्छ,’ नागरिक समाजका जिल्ला संयोजक कालीबहादुर मल्ले भने, ‘सरकारले कर्णाली राजमार्गको स्तरोन्नतिमा ध्यान दिनुपर्छ ।’ उनले कर्णाली राजमार्गबाट नै कर्णाली करिडोरको पल्लो कालिकोट, बाजुरा हुँदै हुम्ला जोड्ने र कालिकोटको मान्म हुँदै जुम्ला, मुगुसम्म पुग्ने भएकाले कम्तीमा दुई लेनको सडक बनाउनुपर्ने बताए ।

कर्णालीबाट सुर्खेत पुग्दा कतै न कतै विभिन्न कारण सडकमा दु:ख पाइने गरेको राराकर्णाली जिप समितिका अध्यक्ष हस्तबहादुर बमले बताए । उनले साँघुरो र अप्ठेरो सडकको कारण गाडी पनि छिटै बिग्रिने गरेको बताए ।

सडक जीर्ण
२०६३ चैत ३० गते ट्रयाक खुलेर जुम्ला सडक पुगेको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक ओटासिल प्रविधिमा कालोपत्रे सकिएको एक दशक नपुग्दै जीर्ण भएको छ । २ सय ३२ किलोमिटर लम्बाइको यो सडक ठाउँ–ठाउँमा भत्किएको छ । अधिकांश भागको पिच उप्किएको छ । सडकको डिलमा लगाइएका सेफ्टी बार पनि भाँचिएका छन् । कालिकोटको टाकुल्ला खोलामा पुल निर्माणको ठेक्का भएको ८ वर्ष पुगे पनि अझै निर्माण हुन सकेको छैन । दैलेखको घट्टे खोला र दैखोलामा पुल नबन्दा यात्रुले दु:ख पाउने गरेका छन् । यसको असर स्थलमार्ग हुँदै मुगुको रारा घुम्न आउने आन्तरिक पर्यटकलाई समेत पर्ने गरेको छ ।

९ जनाको टोलीसहित रारा घुम्न आएका बुटवलका नरेश ज्ञवालीले नाग्मबाट अगाडिको सडक राम्रो छैन भनेर सुनेर फर्किनुपरेको गुनासो गरे । ‘साँघुरो सडकले त्यसै सातो जान्छ, त्यही पनि विग्रिएर गाडी चल्न कठिन छ,’ उनले भने, ‘सरकारले त कर्णालीमा के–के न गर्‍यौं भन्छ, कर्णाली जोड्ने सडककै हालत यस्तो रहेछ ।’ कर्णाली राजमार्गको दैलेख, कालिकोट र जुम्ला खण्डको सयौं ठाउँमा कालोपत्रे गरिएको हो कि हैन भनेजसरी सडक जीर्ण बनेको छ । राजमार्गको अधिकांश ठाउँमा वर्षाको पानीले बगाएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे सडक बनेको छ । राँचुली, टाकुल्ला, सेरिघाटलगायत ठाउँमा त पिच नै गरिएको छैन ।

कमसल ओटासिल
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड दुई चरणमा ओटासिल कालोपत्रे गरिएको थियो । विश्व बैकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडीज्यूला १ सय ३० किलोमिटरसम्म र दोस्रो चरणमा खिडीज्युलादेखि जुम्लासम्म विभिन्न ७ वटा निर्माण कम्पनीमार्फत ओटासिल कालोपत्रेको काम भएको हो ।

कालोपत्रे गरेको दुई वर्ष नबित्दै अधिकांश ठाउँमा पिच गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ । जुम्लाका खरेन्द्र खत्रीले शुक्रबार जुम्लाबाट कालिकोट आउने क्रममा पाँच ठाउँमा ढुंगा खसेको बताए । ताडी भीरमा खसेको ढुंगाले त जिपको सिसा फुटेको र एकजना यात्रु घाइते भएको उनले सुनाए । राजमार्गको मर्मतसुधार, पुल र ग्याबिन पर्खालको लागि गत वर्ष ९ करोड रुपैयाँ बिनियोजन भएकोमा ६ करोड मात्र खर्च भएको सडक कार्यालय जुम्लाले जनाएको छ ।

अझै बनेनन् पुल
राजमार्गअन्तर्गत ९ वटा निर्माणाधीन पुल अझै सम्पन्न भएका छैनन् । सबैभन्दा बढी कालिकोटमा पाँच, दैलेखमा चार पुल ठेक्कापट्टा भएको वर्षौं पुगे पनि ठेकेदारको ढिलासुस्तीले सम्पन्न हुन सकेका छैनन् । कालिकोटको खल्लागाड पुल निर्माण सम्पन्न भए पनि पुल पारीको उकालामा गाडी चढ्न कठिन छ । छाप्रेमा पर्ने टाकुल्ला पुलको पनि हालत त्यस्तै छ ।

टाकुल्लाको पुल ७ वर्षदेखि अलपत्र छ । दैलेखको आठबीसकोट नगरपालिकामा पर्ने घट्टेखोलामा वर्षायाममा त सधैं यात्रुले दु:ख पाउने गर्छन् । दैलेखको जाक्सीखोला पुलको पनि अवस्था त्यस्तै छ । अझै ढलान भएको छैन । त्यस्तै, कालिकोटको बाली खोलाको पुल पनि अधुरै रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । दैलेख खण्डमा पनि ६ वटा नयाँ पुल यस वर्ष निर्माण सुरु भएका छन् । काम कहिले सकिने हो भन्ने ठेगान छैन ।

बेलिब्रिज जीर्ण
राजमार्गको कालिकोट सेरीघाटस्थित तिला नदीमाथिको फलामे बेलिब्रज जीर्ण भएको छ । तिला नदी तार्न बनाइएको तिला नदीमाथिको फलामे बेलिब्रिज खिाया लागेर जीर्ण छ । जतिखेर पनि खस्न सक्ने जिल्ला प्राविधिक कार्यालयका जुनियर इन्जिनियर कम्मरबहादुर बमले बताए ।

फलामे बेलिब्रिजको मर्मतसम्भार गरिरहे १० वर्ष आयु हुने भए पनि सेरिघाटको बेलिब्रिज बनेको १३ वर्ष पुगिसक्दा पनि पक्की पुल बनेको छैन । पुल बनाउन सडक विभागले टेण्डर गरेको एक वर्ष पुगेको छ । ठेकेदारले छेउमा कोट्याने बाहेकको काम गरेको देखिँदैन । बेलिब्रिज खसेपछि कर्णाली राजमार्ग नै ठप्प हुने खतरा रहेको नागरिक अगुवा भरतराज बिष्टले बताए ।

प्रकाशित : भाद्र १५, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

गाउँपालिका–शिक्षक सम्झौता

३१ बुँदे कार्यसम्पादन सम्झौताले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, समुदाय र जनप्रतिनिधिलाई जिम्मेवार बनाएको छ
तुलाराम पाण्डे

कालिकोट — यहाँको एक गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयसँग कार्यसम्पादन सम्झौता गरेको छ । सान्नीत्रिवेणी गाउँपालिकाले शिक्षक र समुदायसँग ३१ बुँदे कार्यसम्पादन सम्झौता गरेको हो ।

विद्यालयमा शिक्षकका अनियमितता रोक्न गत वर्ष डिजिटल हाजिरी सुरु गरेको उक्त गाउँपालिकाले विद्यालयको कार्यसम्पादनका लागि सम्झौता गरेको जनाएको छ । गाउँपलिकाका सबै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग आगामी एक वर्षको कार्यर्योजनासहित कार्यसम्पादनका लागि सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

प्रत्येक वर्षको भदौभित्र सरोकारवालाको सहभागितामा सामाजिक परीक्षण गर्ने, जेठ ७ गतेसम्म विद्यालयको शैक्षिक सूचना व्यवस्थापन प्रणाली र विद्यार्थी परिचय तयार गरेर १५ गतेभित्र गाउँपालिकामा पेश गर्ने, विद्यालयमा जानेपाठ्यपुस्तक, दिवाखाजा र छात्रवृत्ति अभिभावकको भेला गरी पारदर्शी रूपमा वितरण गर्ने, गाउँपालिकाले जडान गरेका बायोमेट्रिक हाजिरी पूर्ण रूपमा कार्यान्वयन गर्ने गाउँपालिकाले विद्यालयसँग गरेको संझौतामा उल्लेख छ ।

त्यस्तै प्रत्येक कक्षाकोठामा लकबुक राखेर मासिक रूपमा छलफल गर्ने, विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी टाँस गर्ने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि नियमित रूपमा घरबाट खाजा ल्याई ८० प्रतिशत हाजिर हुने विद्यार्थीलाई मात्र दिवाखाजाबापतको नगद रकम दिने, विद्यार्थी पास हुन नसकेमा शिक्षकका ग्रेड रोक्का र तलब कट्टी गर्ने विषय पनि सम्झौतामा समेटिएका स्थानीय शिक्षासेवी हिरामणि सिंखाडाले बताए ।

उनका अनुसार विद्यालयले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परिक्षाको नतिजा विश्लेषण गरी अभिभावकलाई बालबालिकाको प्रगतिबारे जानकारी दिने, विद्यालयबाहिर रहेका सबै बालबालिकालाई भर्ना गर्ने, विद्यालयका प्रधानाध्यापकले पनि आफू मातहतका शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेलगायत विषय समेटिएका छन् ।

गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई जवाफदेही बनाउन गरेको सम्झौताले पठनपाठनमा सकारात्मक सन्देश दिने शंकर मावि सेरिज्युलाका प्रधानाध्यापक टेकबहादुर गिरीले बताए ।

साझा प्रतिबद्धता
विद्यालयशिक्षाको गुणस्तर खस्किएको निष्कर्ष निकाल्दै शुभकालिकाका सरोकारवालाले सुधारको लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहितको भेलाले ३६ बुँदे प्रतिबद्धता गरेको हो ।

गाउँपालिकाका शैक्षणिक स्रोतव्यक्ति पुष्पराज आचार्यले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि साझा प्रतिबद्धता आवश्यक रहेको महसुस गरी अभियानकै रूपमा प्रतिबद्धता व्यक्त गरिएको बताए । यसले गाउँपालिकालाई पूर्ण साक्षर बनाउन महत्त्वपूर्ण योगदान दिने उनको भनाइ छ ।

समूहगत छलफलका आधारमा तय भएका साझा प्रतिबद्धतामा कक्षा १ देखि ३ सम्म नेपाली विषयको ९० मिनेटको एक पिरियड लिने, विद्यालयमा बालमैत्री कक्षा तथा शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन गर्ने, विद्यालयमा पठनपाठनका लागि वार्षिक कार्यतालिका निर्माण गर्ने, प्रत्येक शिक्षकले वार्षिक शैक्षणिक योजना र दैनिक पाठ्ययोजना बनाएर शिक्षण गर्ने, आउने जेठसम्म बालकेन्द्रित विपद् व्यवस्थापन, विद्यालय खानेपानी तथा सरसफाइ, सुरक्षित विद्यालयजस्ता विषयवस्तु समेटेर विद्यालय सुधार योजना निर्माण गरी गाउँपालिकाको शिक्षा शाखामा पेश गर्ने, बालमैत्री बसाइँ व्यवस्थापन, शुक्रबारलाई १ बजेपछि पनि गाउँपालिकाको शैक्षिक पात्रोअनुसार क्रियाकलाप सञ्चालन गर्नेलगायत रहेका छन् ।

गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले दरबन्दी मिलान र अनियमित शिक्षकको तलब कट्टीका काम गत वर्षदेखि नै सुरु गरिसकेको बताए । ‘विद्यालयशिक्षा सुधारमा शिक्षकको पहिलो भूमिका रहन्छ,’ उनले भने, ‘अन्य सरोकारवालाले पनि आआफ्नो तर्फबाट राम्ररी काम गरे भने हामीले खोजेको परिणाम पाउन सक्छौं ।’

प्रकाशित : भाद्र ८, २०७६ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्