जहिल्यै रगत अभाव

मोहन बुढाऐर

(धनगढी) — सेती अञ्चल अस्पतालमा भर्ना भएका बैतडीका एक बिरामी रगत नपाएर समस्यामा परेका थिए । उनका आफन्त ब्लड बैंक (रक्त संचार केन्द्र) मा स्वयंसेवी रक्तदाताको नाम सूची हेर्दै फोनबाट रगत दिन आग्रह गरिरहेका थिए । 

जहिल्यै रगत अभाव

उनलाई ब्लड बैंकले ८ पिन्ट रगत उपलब्ध गराएको थियो । तर त्यतिले पुग्ने अवस्था थिएन । बिरामीलाई तुरुन्तै ‘कम्पोन्मेन्ट’ बनाउन ताजा रगत चाहिने भएकाले रक्तदाताको खोजीमा रहेको ब्लड बैंकका प्रबन्धक धरणी पन्तले बताए ।


उनी मात्रै हैन, दिनहुँ विभिन्न समुहको रगतको खोजीमा बिरामीका आफन्त ब्लड बैंकमा रहेका स्वयंसेवी रक्तदातालाई फोन गर्दै भौतारिरहेका भेटिन्छन् । धनगढीमा पछिल्ला समय निजी अस्पताल खुल्ने क्रम बढेको छ । यहाँ रहेको रेडक्रसद्वारा सञ्चालित एकमात्र ब्लड बैंकलाई रगतको माग पूरा गर्न कठिन छ । रगत अपुग हुन थालेपछि बिरामी र उनका आफन्त रगतको खोजी गर्दै जहिल्यै भौंतारिरहेका देखिन्छन् । कतिपय अवस्थामा रगत अभावकै कारण बिरामीको ज्यानसमेत गएका घटना छन् ।


पछिल्लो समयमा थारु समुदायमा बढि देखिएको सिकलसेलका बिरामीमा रगत बढी चाहिने गरेकोले अभाव बढाएको छ । प्रबन्धक पन्तले पछिल्लो समयमा रगत पर्याप्त उपलब्ध गराउन सजिलो नभएको बताए । उनका अनुसार दुर्लभ अर्थात् नेगेटिभ ग्रुपको रगतको जहिल्यै अभाव हुने गरेको छ । धनगढीमा रेडक्रसद्वारा २०४४ सालमा स्थापित भएको ब्लड बैंकमा सुरुका वर्षमा वर्षभरिमा ३६ युनिट रगत खर्च हुन्थ्यो । त्यसबेला स्वयंसेवी संस्थाका रुपमा धनगढीका केही क्लब थिए । रगत अभाव हुँदैनथ्यो । ‘अहिले वर्षभरिमा ६ हजार १ सय युनिटभन्दा बढी रगत ब्लड बैंकले उपलब्ध गराउँदै आएको पन्त बताउँछन् । तर, पनि अस्पतालमा रगत अभावमा बिरामीको ज्यानसमेत जाने अवस्था हुन्छ,’ उनले भने ।


डा. शुभेषराज कायस्थ पछिल्लो समयमा सिकलसेल, हेमोफेलिया, एपालास्टिक एनिमियालगायत रक्तअल्पताका बिरामी बढेकाले रगतको माग बढेको बताउँछन् । त्यस्तै उनले सवारी दुर्घटना, प्रसूति सेवामा पनि रगतको खपत बढेको बताए ।


रेडक्रस सोसाइटी कैलालीका उपाध्यक्ष रतन कठायतले ‘रक्तदान’ जनचेतनाका रुपमा लैजान जरुरी रहेको बताए । ‘रगत निश्चित संस्था,र ब्यक्तिबाट मात्रै प्राप्त भइरहेको छ’ उनले भने, ‘शरिरभित्रै खेर जाने रगतलाई ३/३ महिनामा सबैले रक्तदान गर्नुपर्छ भन्ने मान्यता बसाउन सके कुनै पनि ग्रुपको रगतको अभाव कहिल्यै हुन्नथ्यो ।’

प्रकाशित : भाद्र १४, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?