कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अतिक्रमण रोक्न खेलमैदान

विप्लव महर्जन

(सल्यान) — त्रिवेणी गाउँपालिका १ र ३ सीमाको रिखेबगरमा सरकारी जग्गाको संरक्षण गर्न खेलमैदान निर्माण गरिएको छ । अतिक्रमण बढ्दै गएपछि १० लाख रुपैयाँको लगानीमा खेलमैदान निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

खेलमैदान निर्माणले अतिक्रमण रोक्न सहयोग गरेको स्थानीयको भनाइ छ । खेलमैदान बनेपछि २ वडामा रहेका सामुदायिक विद्यालयलाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सजिलो भएको छ । सरकारी जग्गा संरक्षणका लागि खेलमैदान बनाउने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले बताए । ‘सुविधायुक्त खेदमैदान नहुँदा गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न समस्या थियो,’ उनले भने, ‘पूर्वाधार निर्माणसँगै सरकारी जग्गाको सदुपयोग भएको छ ।’ उनका अनुसार खेलकुद मैदानका नाममा एक बिघा जग्गा छ । पहिलो चरणमा ६० लम्बाइ र ४० मिटर चौडाइको खेलमैदान बनाइएको उनको भनाइ छ । उनका अनुसार बर्सेनि खेलमैदानमा अन्य संरचना निर्माण गर्ने गाउँपालिकाको योजना छ ।


गाउँपालिकाले खेलकुद मैदान निर्माणका लागि डीपीआर गर्दा २ करोड लागत अनुमान गरिएको थियो । बर्सेनि गाउँपालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग माग गर्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले लुहाममा कबर्डहल निर्माणको योजना बनाएको छ । अहिले निर्माण गरिएको खेलकुद मैदानमा भलिबल, फुटबल र क्रिकेट खेल्न मिल्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीले जनाए । ‘प्रदेश सरकारसँग पनि खेलकुद मैदान र कबर्ड हल निर्माणका लागि सहयोग माग गरिएको छ,’ उनले भने, ‘यस वर्ष थप विकासका लागि खेलमैदानमा ५ लाख रुपैयाँ विनियोजन गरेका छौं ।’


गाउँपालिका उपाध्यक्ष कल्पना खड्काले खेल पूर्वाधार नहुँदा गाउँपालिकामा स्तरीय खेलाडी उत्पादन गर्न नसकिएकाले खेल मैदान निर्माण गरिएको बताइन् । गत वर्ष खेलमैदान नहुँदा गाउँपालिका कार्यालय नजिकैको खुला चौरमा पालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ । पर्याप्त बजेट नहुँदा खेल पूर्वाधार विकासमा काम गर्न नसकिएको उनको गुनासो छ ।

प्रकाशित : भाद्र १४, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?