बालविवाह न्यूनीकरणको प्रयास

- तीज गीत तथा नृत्य प्रतियोगिता  
- विकृतिविरूद्ध जिल्लाभरै विविध कार्यक्रम
हरि गौतम

(रुकुम पश्चिम) — प्रेमकला बाँठा मगरले सानै उमेरमा विवाह गर्दा देखिने विभिन्न असर तीज गीतमार्फत व्यक्त गरिन् । सुजन गौतमले बालविवाहपछिको कानुनी प्रावधानबारे अर्को तीज गीत सुनाए । उनीहरू दुबैको सन्देश २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने थियो ।

बालविवाह न्यूनीकरणको प्रयास

उनीहरू मात्र होइन, सदरमुकाम मुसीकोटमा आयोजना गरिएको खुला तीज गीत तथा नृत्य प्रतियोगितामा सहभागी २८ जनाले बालविवाहविरुद्धका विभिन्न सन्देश सुनाए । पछिल्लो समय तीज भड्किलो भइरहेको भन्ने गुनासो बढिरहेका बेला तीजका गीत र भाकामार्फत विभिन्न सन्देश फैलाइएको छ ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बर्सेनि जनेचतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । हरेक वर्षको तीजमा कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यो वर्ष बालविवाह न्यूनीकरणलाई लक्षित गरी कार्यक्रम गरिएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष अमित परियारले जिल्लामा जल्दोबल्दो समस्याका रूपमा रहेको बालविवाहलाई थोरै भए पनि न्यूनीकरण गर्न कार्यक्रमले भूमिका खेलेको जनाए ।


प्रतिष्ठाले गीतमार्फत बाल विवाह न्यूनीकरणको सन्देश दियो भने लोक नृत्यको प्रतिस्पर्धा गरायो । सामाजिक अभियानमा सहभागिता जनाउँदै प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका सचिव तुल देवकोटाले बताए । ‘विकृतिविरुद्ध जिल्लाभर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘आगामी दिनमा समेत बालविवाह न्यूनीकरणका लागि गाउँगाउँमा यस्ता प्रतियोगितालाई प्राथमिकता दिइनेछ ।’ ११ समूहले नृत्य प्रतियोगितामा सहभागिता जनाएको आयोजकले जनाएको छ ।


यस्ता कार्यक्रमले जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । ‘गीत, नृत्य भनेपछि राम्रो सहभागिता भइहाल्छ, आज पनि यहाँ त्यस्तै छ, दर्शकले सबैतिर सन्देश प्रवाह गरिदिनुहोला,’ नगर प्रमुख गौतमले भने, ‘यी गीत र नृत्यले बाल विवाह न्यूनीकरणमा पक्कै पनि योगदान पुर्‍याउने हाम्रो विश्वास छ ।’ उनले विभिन्न मेला, पर्व र मौकालाई जागरण पैदा गर्ने, जनचेतना जगाउने अवसरका रूपमा प्रयोग

गर्नुपर्ने बताए । उत्कृष्ट बनेका समूह र व्यक्तिलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।

गीततर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार ५ सय र तेस्रो हुनेलाई ५ हजार रुपैयाँले पुरस्कृत गरिएको हो । त्यस्तै नृत्यतर्फका प्रथमलाई ५, दोस्रोलाई ३ र तेस्रोलाई २ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।


रुकुम पश्चिम मुसीकोट नगरपालिका १, खलंगामा शुक्रबार आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गरिँदै र कार्यक्रम हेर्न जम्मा भएका स्थानीय । तस्बिर : हरि/कान्तिपुर

प्रकाशित : भाद्र १४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?