भाइरल ज्वरोका बिरामी बढ्दै 

विप्लव महर्जन

सल्यान — जिल्लामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । प्रकोपका कारण दैनिक ज्वरोका बिरामी हुनेको संख्या बढ्दै छ । जिल्ला अस्पताल सल्यानमा भाइरल ज्वरोका बिरामी आउनेको संख्या बढदै गएको अस्पतालका इन्चार्ज डा. अर्जुन बुढाले बताए । पहिला आठ/१० जना आउने ठाँउमा हिजोआज दैनिक १५/२० जना आउने गरेको उनले जानकारी गराए ।

भाइरल ज्वरोको प्रकोप बढदै गएपनि अस्पतालमै भर्ना गर्नु पर्ने अवस्था नरहेको र ज्वरोकै कारण कसैमा पनि निमुनिया तथा टाइफाइडको समस्या नदेखिएको उनले जानकारी गराए ।

उनका अनुसार पहिला आठ/१० जना आउँथे । अहिले १५/२० जना आउनु प्रकोप बढेको नै हो । ज्वरोका कारण बालबालिका बढी प्रभावित छन् । प्रकोप बढ्दै गएपनि जोखिम नरहेको उनले बताए । भाइरल ज्वरोका साथै बालबालिकामा रुघाखोकी लाग्ने, पातलो सिंगान बग्ने, टाउको दुख्ने,बान्ता गर्ने समस्या देखिएको उनको भनाइ छ ।

भाइरल ज्वरोका कारण कजेरीका अधिकांश बालबालिका प्रभावित भएका र एकै घरका तीन/चार जना समेत बिरामी भएका स्वयंसेविका हिमा बुढाथोकीले बताइन् । उनले केही बालबालिकालाई कडा ज्वरो समेत आएको उनले जानकारी गराइन् ।

कुमाख गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मानसिं ओलीले स्वास्थ्यचौकीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएपनि अहिलेसम्म बाहिर लग्नु पर्ने अवस्था कसैलाई नदेखिएको बताए । दैनिक स्वास्थ्यचौकीमा कति बिरामी आउछन् भन्ने यकिन नभएको उनले जानकारी गराए ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानले भने कतैबाट बिरामीबारेसूचना नआएकाले कति बिरामी छन् भन्न नसकिने जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७६ १४:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किन सुस्ताए विद्यार्थी संगठन ?

त्रिविका आंगिक एवं सम्बन्धनप्राप्त क्याम्पसबाट जसै स्ववियुका गतिविधि सुस्ताए, विद्यार्थीहरुको हकहित र शैक्षिक गुणस्तर सुधारका आवाज पनि मलिन हुँदै गए । त्यसैले धेरै विद्यार्थीको माग छ– स्ववियु चाहियो । 
गणेश राई, विपिन श्रीस

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मूल प्रवेशद्वार, उपकुलपति कार्यालय र विश्वविद्यालय क्याम्पस कीर्तिपुर पुग्नुभयो भने नारासहितको एउटा ब्यानरले तपाईंको ध्यानाकर्षण गर्छ, ‘विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न दबाब सिर्जना गरौं । विश्वविद्यालयको स्वायत्त आयोग गठन गरी पदाधिकारी चयन गरौं । दलीय भागबन्डाबाट नियुक्ति लिएर विश्वविद्यालय आउने पदाधिकारीलाई बहिष्कार गरौं ।’ 


ब्यानरको तल ‘विद्यार्थीहरू, विश्वविद्यालय क्याम्पस’ लेखिएको छ । विद्यार्थीलाई भने यो ब्यानर कसले राखेको भन्ने थाहा छैन । विगतमा यी र यस्ता आवाज दलीयविद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीयुनियनले उठाउँथे ।

स्नातक तहको भर्नाको याम हो यो । असारमा कक्षा १२ को नतिजा प्रकाशन भएपछि त्रिविका हरेक आंगिक र सम्बन्धनमा सञ्चालित क्याम्पसमा स्नातक पढ्ने विद्यार्थीको भीड नै लाग्छ । विद्यार्थीलाई विद्यार्थी संगठनहरूले परामर्श दिन्छन् । त्यति मात्रै होइन, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले स्वागत गर्ने परम्परा पनि छ ।

तर त्रिविका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन क्रियाशील नहुँदा आफ्ना हकहितबारे आवाज उठाउने समस्या परेको विद्यार्थी बताउँछन् । स्ववियु क्रियाशील नहुँदा विद्यार्थीको आवाज क्याम्पस प्रशासनसम्म पुग्न नसकेको त्रिवि ललितकलामा विद्यावारिधि शोधार्थी भीषण राजभण्डारीले बताए । ‘विद्यार्थीको हकहितका निम्ति आवाज उठाउने विद्यार्थी संगठनको आवश्यकता छ,’ उनले भने, ‘राजनीतिक संगठनको होइन तर अहिले स्ववियु नाम मात्रको छ ।’

कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसको घडी भवन पृष्ठभूमिमा ‘स्वतन्त्र विद्यार्थी युनियन सम्पर्क कार्यालय, २०३६’ लेखिएको साइनबोर्ड छ तर कार्यालय छैन । यहाँ २०६५ पछि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन सकेको छैन । विश्वविद्यालयभित्र हुने भ्रष्टाचार एवं अनियमितता रोक्न स्ववियु जरुरी रहेको नेपाल विद्यार्थी संघका त्रिवि समिति सचिव गंगाराम न्यौपानेले बताए । प्रशासनले मनपरी गर्न पाइँदैन भनेर चुनाव नगराएको उनको आरोप छ । सरकार र त्रिवि प्रशासन सकारात्मक भयो भने चुनाव हुने उनको बुझाइ छ ।

मुलुककै जेठो त्रिचन्द्र बहुमुखी क्याम्पसको अवस्था पनि उस्तै छ । स्ववियु निर्वाचन नभएको करिब एक दशक भयो । एउटै आधिकारिक संगठन नहुँदा विद्यार्थी समस्यामा छन् । विभिन्न संगठनका भिन्नभिन्न मागका कारण पनि प्रशासनसँग समन्वय गर्न समस्या हुने गरेको अनेरास्ववियु त्रिचन्द्र कलेज समिति अध्यक्ष गोविन्द थपलियाले बताए ।

स्ववियु नहुँदा पनि विभिन्न संगठन मिलेर प्रशासनलाई आफ्ना माग राख्ने तथा दबाब दिने गरेको अखिल क्रान्तिकारी त्रिचन्द्र कलेजका कार्यवाहक अध्यक्ष सन्दीप पुडासैनीको भनाइ छ । बागबजारस्थित पद्मकन्या स्ववियुका विषयमा छात्राहरूबीच खुबै खैलाबैला मच्चाउने क्याम्पस हो । यहाँ पनि स्ववियु क्रियाशील छैन । त्यसैले विद्यार्थीहरूको समस्याबारे पहिलेकै प्रतिनिधिहरूसँग छलफल गर्ने गरिएको पद्मकन्या क्याम्पसकी सहायक क्याम्पस प्रमुख नीरा श्रेष्ठले बताइन् ।

स्ववियु नहुँदा व्यक्तिगत रूपमा क्याम्पस प्रशासन र विभागीय प्रमुखसमक्ष आफूहरूका माग सुनाउने गरेको पद्मकन्यामा बीएससी सीएसआईटी दोस्रो सेमेस्टरमा अध्ययनरत सुष्मा खत्रीको भनाइ छ । ‘सकारात्मक भएर काम गर्ने हो भने विद्यार्थी संगठनको औचित्य छ, स्ववियु भए सजिलो हुन्छ,’ उनले भनिन्, ‘आफ्नो पार्टी र संगठनको मात्र फाइदा हेर्ने र विद्यार्थीको हकहितका लागि काम नगर्ने हो भने किन चाहियो र ?’

स्ववियु नहुँदा विद्यार्थीको माग प्रशासनले कम सुन्ने नेविसंघ पद्मकन्या इकाइ अध्यक्ष लक्ष्मी दाहालको धारणा छ । त्यसैले पनि विद्यार्थीको आवाज प्रशासनसमक्ष पुर्‍याउन स्ववियुको औचित्य रहेको उनको दाबी छ । ‘स्ववियु अभावमा विद्यार्थीको कोष सञ्चालनलगायत अन्य अतिरिक्त क्रियाकलाप पनि हुँदैनन्,’ उनले भनिन् ।
विद्यार्थी क्रियाकलापमा चर्चाकै शिखरमा रहने अमृत साइन्स क्याम्पसमा पनि स्ववियु क्रियाशील छैन । कलेजमा स्ववियु नहुँदा विद्यार्थीका हकहितबारे प्रशासनलाई दबाब दिन सहज नभएको अखिल क्रान्तिकारी क्याम्पस समिति अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘विद्यार्थीको आवाज विभाजित हुँदा प्रभावकारी हुँदैन,’ उनले भने, ‘विद्यार्थी संगठन सत्ताविरुद्ध हुने भएकाले पनि सरकारले घेराबन्दीमा पार्न खोजे जस्तो देखिएको छ ।’

पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा पनि स्ववियु क्रियाशील छैन । २०७२ वैशाखको भूकम्पले स्ववियु कार्यालय भवन भत्किएपछि नयाँ बनाइएको छ ।

आरआरमा मात्रै क्रियाशील
प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भने स्ववियु क्रियाशील छ । २०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनबाट चुनिएका विद्यार्थी प्रतिनिधिले आफ्ना क्रियाकलाप जारी राखेका छन् ।

विद्यार्थीहरूको लेख/रचना समेटर वार्षिक रूपमा विचार प्रकाशन गर्दै आएको स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए । आरआरमा पत्रकारिता विषयको एमफिल र विद्यावारिधि, स्नातकोत्तर तहमा राजनीतिशास्त्र, ग्रामीण विकास, स्नातक तहमा सामाजिक कार्य, कम्प्युटर एप्लिकेसन, बीसीए ल्याब निर्माणलगायत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

यसमध्ये केही विषय अध्यापनका लागि स्ववियुले पहल गरेको उनको दाबी छ । कक्षाकोठाको व्यवस्थापन, सभाहल निर्माण, फ्रि वाइफाई, लाइब्रेरीको सुधार र जेइस्टर कम्प्युटरको व्यवस्था गर्न स्ववियुको महत्त्वपूर्ण भूमिका रहेको उनी बताउँछन् । स्ववियुले महिनाको अन्तिम शुक्रबार सरसफाइ कार्यक्रम, खेलकुद सप्ताह, स्वागत तथा बिदाइलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्रिवि सिनेट सदस्यसमेत रहेका शाहीले विश्वविद्यालय र क्याम्पसलाई लथालिंग हुनबाट जोगाउन पनि स्ववियु अपरिहार्य रहेको धारणा राखे ।

निष्क्रिय विद्यार्थी संगठन
प्रत्येक दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी संगठनबीचका असहमतिले २०७५ फागुनमा हुन सकेन । अर्कोतर्फ राजनीतिक दलनिकट विद्यार्थी संगठनहरू स्वयं आन्तरिक द्वन्द्व, गुट, उपगुटमा फस्दा पनि स्ववियुले नेतृत्व पाउन सकेको छैन ।

सत्तारूढ नेकपानिकट दुई विद्यार्थी संगठनको एकीकरण भइसकेको छैन । पूर्वएमालेनिकट अनेरास्ववियु र पूर्वमाओवादीनिकट अखिल (क्रान्तिकारी) एकताका निम्ति संयोजक र सहसंयोजक तोकिएका छन् तर नेतृत्व छनोट भइसकेको छैन ।

अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष रञ्जित तामाङले संगठनबीच एकताप्रक्रिया नटुंगिँदा शैक्षिक मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिएको स्विकारे । ‘विद्यार्थी नेताको पिछलग्गु हुनेसमस्या छ, जसका कारण पछिल्लो समय विद्यार्थी आन्दोलन परिणाममुखी भएको छैन,’ उनले भने, ‘संगठनबाट विद्यार्थीहरूले कम आशा गरेका छन्,’ तामाङले भने, ‘अब वास्तविक विद्यार्थीको माग सम्बोधन र समस्या समाधान गर्दै उनीहरूमा आशा जगाउनुपर्छ ।’

कांग्रेस निकट नेविसंघ केन्द्रीय कार्यसमितिलाई मातृ पार्टीले भंग गरेको वर्ष दिन पुग्दै छ । गुट, उपगुटमा विभाजन भएकाले नाम मात्रको नेविसंघ बन्न पुगेको भन्दै आलोचना हुने गरेको छ ।

विद्यार्थी संगठनको नेतृत्व गर्दै पार्टीको जिम्मेवारीमा रहेका नेताहरूले समेत संगठनको औचित्यमाथि औंला ठड्याउने गरेका छन् । केही समयअघि कांग्रेस नेता भीमसेनदास प्रधानले विद्यार्थी संगठनले आफ्नो एजेन्डाभन्दा गुट, उपगुटको नेतृत्व गर्ने भएकाले औचित्य सकिएको बताएका थिए ।

विद्यार्थी संगठनबारेपार्टीले सोच्नुपर्छ

गगन थापा
सांसद तथा पूर्वमहामन्त्री, नेविसंघ

पार्टीको सांगठनिक संरचना छ । त्यसमा महिला, तरुणजस्तै नेपाल विद्यार्थी संघ पनि एउटा हो । देशमा राजनीतिक परिवर्तन संवाहक शक्तिका रूपमा विद्यार्थी रहेका छन् । विद्यार्थी संगठन संरचना कसरी निर्माण गर्ने भन्नेबारे पार्टीभित्र राम्रोसँग छलफल गर्नुपर्ने बेला आएको छ । त्यसो गर्न नसक्दा हजारौं विद्यार्थी युवामाथि हामीले अन्याय गर्दै छौं ।

विद्यार्थीकाल सीमित अवधि मात्र हुन्छ । उमेरका हिसाबले १८ देखि २५ वर्षसम्म हुन सक्छ । पाँच/सात वर्ष मात्र विद्यार्थी संगठनमा रहेर जीवनमा आवश्यक पेसा, व्यवसाय रोज्नुपर्छ तर हामीले बीसौं वर्षको संरचना बनायौं । त्यसैले अब विद्यार्थी संघ/संगठनको संरचनाबारे पार्टी गम्भीर हुनैपर्छ । क्याम्पसभित्र स्ववियु हुनुपर्छ । स्वतन्त्र विद्यार्थीले स्ववियुको नेतृत्व गर्न जरुरी छ तर दलको प्रतिनिधिका रूपमा होइन । अब पूर्णकालीन विद्यार्थी राजनीति आवश्यक छैन ।

स्ववियु अझबलियो हुनुपर्छ


ठाकुर गैरे
पूर्वअध्यक्ष, अनेरास्ववियु

विद्यार्थी आन्दोलनको उपलब्धिदेशले गर्व गर्ने विषय बनेको छ । विद्यार्थी संगठनहरू विगतभन्दा अझबढी औचित्य पुष्टि गर्ने गरी आउन जरुरी छ । वर्तमान राज्यव्यवस्थालाई बलियो बनाउन जरुरी छ । त्यसका लागि स्ववियुको आवश्यकता टडकारो छ । राष्ट्रिय स्वाधीनता, शैक्षिक आन्दोलन र जनजीविकाको आन्दोलन औचित्यपूर्ण छ ।

समाजवादको मुद्दा उठाउने विद्यार्थी नै हुन् । तर अहिले विद्यार्थी संगठनको औचित्य सकिए जस्तै भएको छ, जुन दुःखद पक्ष हो । यसो हुनु हुन्न । भ्रष्टाचारविरुद्धको आन्दोलनमा विद्यार्थी आन्दोलन आवश्यक छ । वर्तमान आन्दोलनलाई सक्रिय, जिम्मेवार एवं रूपान्तरण गर्दै परिवर्तित बनाउन जरुरी छ ।

प्रकाशित : भाद्र १३, २०७६ १३:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT