१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उत्खननका नाममा खोला दोहन

जनप्रतिनिधि निकटका व्यक्तिले ठेक्का लिएर जथाभाबी उत्खनन गर्ने क्रम बढ्यो
विप्लव महर्जन

सल्यान — विभिन्न संरचना निर्माणको कामले तीव्रता पाएसँगै जिल्लाका विभिन्न खोलाबाट मनपरी ढुंगागिट्टी र बालुवा उत्खनन गर्ने क्रम बढदै गएको छ । ढुंगागिट्टी र बालुवा उत्खननमा मनपरि बढदै गएपछि शारदा, बन्गाड, त्रिवेणीलगायत खोला जोखिममा परेका छन् ।

उत्खननका नाममा खोला दोहन

जथाभावी उत्खननले ४ हजार हेक्टर बढी खेतीयोग्य जग्गामा सिँचाइ समस्या भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न खोलामा जथाभावी डोजर प्रयोग गर्ने क्रम बढेको स्थानीय बताउँछन् । जथाभावी डोजर प्रयोग गर्दा खोलाको गहिराइ बढदै गएपछि शारदा, बन्गाड, त्रिवेणीलगायत खोला आसपासको खेतीयोग्य जग्गा मासिने क्रम बढेको छ । जथाभावी उत्खननका कारण खोला आसपासको क्षेत्रमा सिँचाइ समस्या बढदै गएको कृषि प्राविधिक बताउँछन् ।

असार, साउन र भदौ महिनामा खोलाबाट बालुवा र ढुंगागिट्टी निकाल्न नपाइने भए पनि सरकारी निकायको मिलोमतोमा नियम उल्लंघन भइरहेको त्रिवेणी गाउँपालिकास्थित रिखेबगरका पूर्णबहादुर ओलीले बताए । ‘स्थानीय तहले ठेक्का लगाउन थालेपछि मनपरी बढ्यो,’ उनले भने, ‘जनप्रतिनिधि निकटका व्यक्तिले ठेक्का लिएर जथाभावी उत्खनन गर्ने क्रम बढिरहेको छ ।’

ठेक्काको नाममा अवैध तरिकाले गिट्टी, बालुवा निकाल्दा शारदा खोलाको गहिराइ बर्सेनि १ मिटर बढेको काभ्राका दलबहादुर बुढाले बताए । ‘अहिले हिउँदमा पानी पातलिँदै जाने समस्या देखिएको छ,’ उनले भने, ‘शारदा खोलामा क्रमशः पानीको सतह घटदै गएपछि सिँचाइ र खानेपानी मुहानमा समस्या देखिन थालेको छ ।’

जथाभावी उत्खननले खेतीमा ठूलो असर पर्न थालेको स्थानीय धनबहादुर थापाले बताए । ‘शारदा खोलाको बीच भागमा डोजर लिएर बालुवा निकाल्दा एक सातासम्म रिखेबगरमा ट्र्याक्टरको आधा भाग पुरिएको थियो,’ उनले भने ‘वर्षाको समयमा खोला चारैतिरबाट एकै देखिने भएकाले तर्न खोज्दा डुबेर ज्यान जाने खतरा उत्तिकै छ ।’

गत वर्षदेखि त्रिवेणी गाउँपालिकास्थित पिमखोलामा बालुवा ‘वासिङ’ उद्योग सञ्चालन गर्दा जोखिम बढेको छ । ‘खोलाको पानी मुहानबाटै उद्योगतिर लगिँदा सिँचाइ गर्न समस्या भयो,’ स्थानीय गीता खडकाले भनिन्, ‘उद्योग बस्ती हुँदा गाउँ र खोला जोखिममा परेका छन् ।’ स्थानीय भीमबहादुर थापाले उत्खनन बढदै गएपछि शारदा खोलामा माछालगायत जलचर घटदै गएको जनाए ।

‘२०३८ सम्म जिल्ला पञ्चायतले खोलामा माछा मार्ने ठेक्का खोल्थ्यो, अहिले खोलामा माछै छैनन्,’ उनले भने, ‘जथाभावी दोहन बढेपछि पानीको स्रोत सुक्दै गएको छ ।’ व्यवसायीले भने नियमअनुसार नदीजन्य पदार्थ उत्खनन गर्दै आएको दाबी गरिरहेका छन् । शारदा खोलानजिकै बागेश्वरी एग्रिगेट उद्योग सञ्चालन गर्दै आएका कमानसिंह डाँगीले बगर र स्थानीयका खेतबाट ढुंगागिट्टी किनेर ल्याई धुलाउँदै आएको दाबी गरे । ‘नियमअनुसार उद्योग सञ्चालन गरिरहेको छु,’ उनले भने, ‘स्थानीय प्रशासनले पटकपटक अनुगमन गरिसकेको छ, नत्र किन उद्योग चलाउन दिन्थ्यो होला र ?’

स्थानीय स्रोतलाई बढाउन वातावरणीय प्रभाव मूल्यांकन (आइईई) गरेर टेन्डर गरी गिट्टी बालुवा निकाल्ने प्रावधान रहे पनि स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा दोहन बढदै गएको जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले बताए । खानी तथा खोलाजन्य बस्तु उत्खनन, अनुगमन तथा नियन्त्रण समितिमार्फत जिल्लाभर अनुगमन भइरहेको उनको भनाइ छ ।

शारदा खोला बीचबाट बालुवा निकाल्दै स्थानीय। तस्बिर : विप्लव/कान्तिपुर


प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले पनि अनुगमनलाई तीव्रता दिइएको जनाए । कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले स्थानीय स्रोत व्यवस्थापनका लागि टेन्डर आहवान भइरहेको बताए । उनले २ वर्षदेखि ठेकेदारमार्फत उत्खननो काम गरिरहेको जानकारी दिए । ‘पर्यावरणमा असर नपर्नेगरी उत्खननको ठेक्का दिने हाम्रो योजना छ,’ उनले भने, ‘हाम्रो ध्यान नपुग्दा नदीजन्य पदार्थको उत्खननमा जथभाबी बढै गइरहेको छ, आगामी दिनमा अनुगमनको कामलाई तीव्रता दिइनेछ ।’

सिँचाइ समस्या बढ्दै

कृषि ज्ञान केन्द्रका अनुसार अवैध उत्खननका कारण सिँचाइ समस्या बढदै जाँदा बर्सेनि उत्पादन घटदै गइरहेको छ । खोलामा डोजर चलाउँदा गहिराइ घट्न गइ सिँचाइ समस्या चुलिएको कृषि प्राविधिकको भनाइ छ ।

शिवरथ, कोटबारा र बाफुखोलाको बीचमा पर्ने लौराबाङदेखि दम्दवालीसम्म फैलिएको शारदा खोलाको लम्बाइ ८० किमि छ । २ नगर र ४ गाउँपालिका छोएको शारदाले २ हजार ५ सय हेक्टर खेत सिञ्चित गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको सबैभन्दा उर्वर भूमि शारदा खोला आसपासको क्षेत्र हो । शारदा खोला आसपासको क्षेत्रमा जिल्लामा उत्पादित खाद्यान्नको ८० प्रतिशत अन्न उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?