कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरल ज्वरोको प्रकोप : १ बालिकाको मृत्यु, २ सयभन्दा बढी बिरामी

तुलाराम पाण्डे

कालीकोट — खाडाचक्रमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । खाडाचक्र २ मेग्र, कायगडा, पोरिपाल्नी, ३ र ४ नम्बर वडाको ताडीलगायत सबैजसो वडामा मौसमी भाइरल ज्वरो फैलिएको हो ।

भाइरल ज्वरोको प्रकोप : १ बालिकाको मृत्यु, २ सयभन्दा बढी बिरामी

ज्वरोले घरघरमा बिरामी परेको खाडाचक्र २, का वडाध्यक्ष विर्षसिं विश्वकर्माले बताए । उनका अनुसार सबैभन्दा बढी मेग्र गाउँमा ज्वरोका बिरामी छन् । एकै घरका ९ जनासम्म ज्वरोले थलिएको उनले जानकारी दिए ।


भाइरल ज्वरोले खाडाचक्र २, का राजमुकार मल्लकी ६ वर्षीया छोरी रासनीको मृत्यु भएको वडा कार्यालयले जनाएको छ । उनी मान्मस्थित बाल विकास स्कुलमा नर्सरीमा अध्ययनरत थिइन् । ३ दिनदेखि ज्वरोले थलिएकी उनको बुधबार घरमै उनको मृत्यु भएको हो ।


कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खाना निल्न कठिनाइ हुने, बान्ता हुनेलगायत लक्षण बिरामीमा देखिने गरेको जिल्ला अस्पतालले जनाएको छ । ज्वरोका बिरामी दैनिक बढिरहेको जिल्ला अस्पताल प्रमुख डा. भीष्म पोखरेलले बताए । ‘ज्वरो कडा खालको छ,’ उनले भने, ‘१ सय १ डिग्रीभन्दा ज्वरो आएका बिरामी अस्पताल आएका छन्, अन्य बिरामी घरमै थलिएका छन् ।’ उनले भाइरल ज्वरो फैलिएको सातादिन पुगिसकेको जानकारी दिए । पुराना बिरामीको ज्वरो निको भए पनि नयाँ बिरामी थपिने क्रम बढेको उनले बताए ।


अस्पताल भर्ना भएको ४ दिन भए पनि निको नभएको खाडाचक्र २, की २१ वर्षीया सरिता विश्वकर्माले बताइन् । उनका २ वर्षीय छोरा किरण पनि बिरामी छन् । अस्पतालको औषधिले ज्वरो कम भए पनि टाउको दुख्ने र बान्ता हुने क्रम नरोकिएको उनको भनाइ छ । जिल्ला अस्पताल भर्ना भएको ४ दिन भइसक्दा पनि ज्वरो ठीक नभएको शुभकालिका २, भर्ताकी सरस्वती शाहीले बताइन् ।


उनी एकमहिने छोरासहित जिल्ला अस्पतालमा भर्ना भएकी छिन् । भाइरल ज्वरोका बिरामीे शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलातालगायत ठाउँबाट पनि आइरहेको जिल्ला अस्पतालले जनाएको छ 

प्रकाशित : भाद्र १३, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?