३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कुदुमा डिप बोरिङबाट पानी

जाजरकोट — भेरी नगरपालिका १३, कुदुमा खानेपानीको समस्या समाधान भएको छ । डिप बोरिङ प्रणालीबाट भूमिगत पानी निकालेपछि कुदुमा खानेपानीको समस्या समाधान भएको हो ।

बोरिङमार्फत १ सय ५२ मिटर जमिनमुनिको पानी निकालिएको छ । भेरी नगरपालिकाले ४५ लाख लागतमा बोरिङ प्रणालीको खानेपानी योजना बनाएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।


उनका अनुसार योजनाबाट ४ सय ६५ घरपरिवार लाभान्वित भएका छन् । ‘विद्युतको सहायताले जमिनमुनिको पानी निकालेर स्थानीयलाई वितरण गरिएको हो,’ उनले भने, ‘अब बोरिङबाट आधा घण्टामा २ हजार लिटर पानी निकाल्न सकिनेछ ।’ पानीको हाहाकार भइरहने कुदु क्षेत्रमा शुद्ध पिउने पानी पुर्‍याउन थप योजना निर्माणको काम भइरहेको उनले बताए ।


बोरिङमार्फत १ महिनाभर पानी तान्दा सय युनिट विद्युत् खपत हुने गरेको योजनाका अपरेटर राजेश बीसीले वताए । पानी तान्न लाग्ने विद्युत् महसुल खर्चका लागि प्रत्येक घरधुरीबाट मासिक सय रुपैयाँ उठाइएको उनले बताए । बीसीका अनुसार स्थानीय बासिन्दाको आवश्यकताअनुसार बोरिङ सञ्चालन गरी पानी निकाल्ने गरिएको छ । यसअघि कुदुका बासिन्दा १ घण्टा टाढाको भेरी नदीमा गई खानेपानी ल्याउन बाध्य थिए । केही स्थानीयले कुवाको धमिलो तथा दूषित पानी ल्याएर उपभोग गर्दै आइरहेका थिए ।


बोरिङ प्रणालीबाट पिउने पानी सुविधा पुगेपछि वर्षौंको सास्ती घटेको स्थानीय नरबहादुर बस्नेत बताउँछन् । ‘मुहान गाउँ नजिक नहुँदा खानेपानीका लागि स्थानीयले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका थिए, पटकपटकको प्रयासपछि नयाँ प्रविधिबाट पानी निकाल्न सफल भएका छौं,’ उनले भने, ‘बोरिङबाट निस्कने पानीलाई शुद्धीकरणको पहल भइरहेको छ ।’ उनले सिँचाइ अभावमा कुदु फाँटको सयौं रोपनी बाँझै रहेको पनि बताए ।

प्रकाशित : भाद्र १३, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?