१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

८ वर्षमा पनि बनेन छात्रावास

रुकुम पश्चिम — डेढ वर्षमा सक्नेगरी सम्झौता गरिएको भवन ८ वर्षपछि हस्तान्तरणको तयारी गरिएको छ । जिल्लाको सबभन्दा पुरानो विद्यालय त्रिभुवन जनता माध्यमिक विद्यालयले सम्झौताभन्दा साढे ८ वर्ष ढिलो गरी ३ भवन बुझ्दै छ । 

मुसीकोट नगरपालिका १, खलंगास्थित विद्यालयले १ विद्यालय र २ वटा छात्रावास भवन बुझ्न लागेको हो । भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सूर्य कन्स्ट्रक्सनले भवन हस्तान्तरणको तयारी गरेको हो । १८ महिनामै भवन निर्माण गरी हस्तान्तरण गर्ने भन्दै २०६७ सालमा सम्झौता गरिएको थियो ।


पुराना संरचना जीर्ण बनेको र विद्यार्थीको चापअनुसार भवन नपुगेपछि विद्यालयले भवन बनाउने माग गरेको थियो । साविक जिल्ला विकास समितिमार्फत भारतीय दूतावासले विद्यालयका लागि २ भवन निर्माणका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । २ करोड ७८ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का आहवान गरिएको थियो ।


सम्झौता भएलगत्तै २०६७ सालमा भवन बनाइसक्नुपर्ने भए पनि भर्खर सम्पन्न गरिएका हुन् । ३ वटै भवनमा फिनिसिङको काम भइरहेको छ । ‘निर्माण थालिएको यत्रो समय भइसक्यो अब भवन बुझेर नियमित पठनपाठन सञ्चालन गर्ने योजनामा छौं,’ प्रधानाध्यापक हरिप्रसाद खनालले भने, ‘बनाउने भन्दा हामीलाई पनि अप्ठ्यारो भयो ।’


समयमै भवन नबन्दा विद्यालयले धेरै समस्या झेल्नुपरेको जनाएको छ । विद्यार्थीलाई मुसीकोट खलंगा बहुमुखी क्याम्पसको भवनमा पठनपाठन गराउनुपरेको विद्यालयले जनाएको छ । ठेकेदार कम्पनी, नियामक निकाय र बजेट परिचालन गरेको दुतावासको वेवास्ताले समयमै भवन नसकेको हो ।


भवन निर्माणको काम सुरु हुँदा भारतीय दुतावासका प्रतिनिधिले भवन निर्माणको अवस्थाबारे अनुगमन गरेका थिए । ठेकेदार कम्पनीका प्रतिनिधि टेकबहादुर पुनले विभिन्न कारणले लामो समयपछि भवन बनेको र हस्तान्तरण गर्ने तयारी गरिएको बताए ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?