प्रदेश प्रहरी तालिम केन्द्र : अम्बाचौरमा जग्गा प्राप्ति सुरु

हरि गौतम

रुकुम पश्चिम — प्रदेश प्रहरी तालिम केन्द्र निर्माणको प्रक्रिया अघि बढाइएको छ । चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र बनाउने गरी प्रक्रिया अघि बढाइएको हो । 

प्रदेश प्रहरी तालिम केन्द्र : अम्बाचौरमा जग्गा प्राप्ति सुरु

चौरजहारी नगरपालिका ३, को अम्बाचौरमा तालिम केन्द्र बन्नेछ । तालिम केन्द्रका लागि उपयुक्त ठाउँ भएको भन्दै जग्गा प्राप्तिको काम भइरहेको छ । चौरजहारी नगरपालिकाले जग्गा प्राप्तिको काम गरिरहेको छ । तालिम केन्द्रका लागि आवश्यक पर्ने जग्गा अम्बाचौरमा छ । जसमा केही सार्वजनिक जग्गा छ भने केही व्यक्तिगत जग्गा पनि छ ।

सार्वजनिक र व्यक्तिगत जग्गा तालिम केन्द्रको नाममा गराउनेगरी काम भइरहेको नगरपालिको जनाएको छ । नगरपालिकाका अनुसार आवश्यक जग्गाको व्यवस्थापनका लागि स्थानीय तथा सरोकारवालासँग छलफल भइरहेको छ । प्रहरी तालिम केन्द्रका लागि २५ बिघा जमिन चाहिने नगरप्रमुख विशाल शर्माले बताए ।

उनका अनुसार अम्बाचौरमा ३ बिघा सार्वजनिक छ भने २ बिघा नगरपालिकाले खरिद गरेको छ । त्यस्तै २ बिघा स्थानीयले निःशुल्क सहयोग गरेका छन् । ‘सकेसम्म निःशुल्क दिन भनेका छौं, नभए ३० प्रतिशत मूल्य त्यही पनि नभएपछि चलन चल्तीको मूल्य तिरेर जग्गा खरिद गर्ने योजना रहेको छ,’ उनले भने, ‘यस वर्ष पनि जग्गा खरिदको लागि केही रकम विनियोजन गरिएको छ ।’

प्रहरी प्रशिक्षण प्रतिष्ठानका अधिकारीले अम्बचौर तालिम केन्द्रका लागि उपयुक्त ठाउँ भएको बताइसकेका छन् । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पनि प्रहरी तालिम केन्द्र बनाउन प्रस्ताव गरिएको अम्बाचौरको निरीक्षण गरिसकेका छन् ।

गत वैशाखमा चौरजहारी आएर भण्डारीले तालिम केन्द्रका लागि अम्बाचौर उपयुक्त भएको र यसको निर्माणमा प्रदेश सरकारले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरी तालिम केन्द्र निर्माणका लागि आवश्यक अध्ययन गरिरहेको जनाएको छ ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?