महिलाको जिम्मामै गाउँ

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका ११, पेदीखोलाकी ४० वर्षीया बिना बुढाथोकी केही वर्षअघिसम्म घरको काममा मात्र व्यस्त हुन्थिन् । २ वर्षयता उनी गाउँमा हुने अधिकांश भेला, गोष्ठीलगायत कार्यक्रममा सहभागी हुन्छिन् ।

सल्यानको शारदा नगरपालिका ११, पेदीखोलामा आयोजना गरिएको एक कार्यक्रममा सहभागी महिला । तस्बिर : विप्लव/कान्तिपुर 

उनकै छिमेकी ४६ वर्षीया हिरा बुढाथोकीले २ वर्षयता गाउँमा हुने विभिन्न विकास निर्माणका काममा सहभागिता जनाइरहेकी छिन् ।

यी दुई मात्र होइन, गाउँका अधिकांश महिला घरको काम सकेर विभिन्न सामाजिक र विकास निर्माणका काममा सक्रिय हुन थालेका छन् । पुरुष बैदेशिक रोजगारीका लागि भारतलगायत विभिन्न खाडी मुलुकमा गएपछि अहिले महिलाले सबै जिम्मेवारी निभाइरहेका हुन् ।

उत्पादनले परिवारको खर्च धान्न समस्या भएपछि युवालाई बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भएको हो । ‘पहिले घरव्यवहारको मात्र जिम्मेवारी हुन्थ्यो, अहिले सबैखाले कामको बोझ छ,’ बिनाले भनिन्, ‘व्यक्तिगत, पारिवारिकदेखि सामाजिक काममा खटिनुपर्दा फुर्सद पाउनै मुस्किल हुने गरेको छ ।’ उनका अनुसार गाउँका अधिकांश महिला विभिन्न समूह, उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितिलगायतमा आबद्ध भएका छन् । जसका कारण उनीहरूको सामाजिक काममा जिम्मेवारी बढिरहेको छ ।

करिब १ सय परिवार रहेको पेदीखोलाका झन्डै २ सय पुरुष गाउँबाहिर छन् । हिराको परिवारका ३ पुरुष सदस्य रोजगारीका लागि भारतमा छन् । ‘घरमा साना बच्चाबच्ची र महिला मात्र छौ, घरायसीदेखि गाउँमा हुने अधिकांश काम महिलाले मात्रै गर्दै आइरहेका छौं,’ उनले भनिन्, ‘बारीको उत्पादनले वर्षभरि खान पुग्दैन, त्यसैले जीविकोपार्जनका लागि पुरुष बैदेशिक रोजगारी जानुको विकल्प नै छैन ।’ उनले भारत गएका पुरुष चाडपर्व मनाउन वर्षमा १ पल्ट मात्र गाउँ आउने गरेको बताइन् ।

बेरोजगारी समस्याका कारण जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा युवालाई भेटाउन मुस्किल हुने गरेको छ । आर्थिक अवस्था कमजोर भएपछि यहाँका युवा विभिन्न खाडी मुलुक र प्रौढाबस्थाका व्यक्ति भारतका विभिन्न ठाउँमा मजदुरीका लागि जान बाध्य छन् । गाउँमा पुरुष नहुँदा महिलाले नै खेतबारी जोत्नेदेखि खेतीको सबै काम आफै गर्दै आइरहेका छन् ।

घरदेखि गाउँसम्मका सबै कामको जिम्मेवारी आफूहरूले गर्दै आइरहेको स्थानीय बिमला बुढाले बताइन् । ‘गाउँमा कोही बिरामी भए आफै बोकेर स्टेचरमा स्वास्थ्यचौकी पुर्‍याउने गरेका छौं,’ उनले भनिन्, ‘सामाजिक मूल्यमान्यता अनुसार महिलाले गर्न नहुने केही कामसमेत आफै गर्न बाध्य छौं ।’ उनले महिलाले यसअघि नगरेका हलो जोत्ने, मलामी जानेलगायत काम गरिरहेको बताइन् । युवा गाउँमा नभएपछि पुरुषले मात्रै गर्दै आएका विभिन्न सीप सिक्न सफल भएको उनको भनाइ छ ।

स्थानीय शिक्षक तोरणप्रसाद बुढाथोकीले पुरुष गाउँमा नहुँदा गाउँमा हुने सबै क्रियाकलापमा महिलाको सहभागिता धेरै रहेको बताए । ‘गाउँमा महिला, बालबालिका र बृद्ध मात्र छन्, जागिर वा व्यवसायमा जोडिएका पुरुषबाहेक युवालाई भेटाउन मुस्किल भइसक्यो,’ उनले भने, ‘विभिन्न सार्वजनिक कार्यक्रममा महिलाको सक्रियता बढै गइरहेको छ ।’

उनले युवा गाउँमा नहुँदा अधिकांश महिलाको नेतृत्व क्षमता बढेको जनाए । गत वर्ष गाउँमा सञ्चालन भएका सबै विकास योजना महिलाले नै सम्पन्न गरेको उनी बताउँछन् । महिला विभिन्न आयआर्जनमूलक क्रियाकलापमा सहभागी हुने क्रमसमेत बढेको उनले सुनाए । पछिल्लो समय विभिन्न आयमूलक काममा संलग्न भइ आत्मनिर्भर बन्ने महिलाको संख्या बढ्दै गएको उनी बताउँछन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

भाडा घटाएर क्षमता बढी यात्रु

विष्णुलाल बुढा

डोल्पा — जिल्लाका विभिन्न सडकमा सञ्चालन हुँदै आएका जिपमा क्षमताभन्दा बढी यात्रु राख्न थालेपछि स्थानीयले सास्ती भोग्दै आइरहेका छन् । व्यवसायीले ५ जनाको सिटमा ९ जनासम्म यात्रु राख्न थालेपछि दुर्घटनाको जोखिमसमेत बढेको छ ।

दुनै–जुफाल, दुनै–सुपानी, छलगाड–खदाङलगायत सडकमा सञ्चालन हुने जिपमा क्षमताभन्दा बढी यात्रु राख्न थालिएको हो । गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा यातायात व्यवसायी भाडा घटाउन सहमत भएका थिए । तर घाटा हुने भन्दै व्यवसायीले जिपमा क्षमताभन्दा बढी यात्रु राख्ने गरेका हुन् । यसअघि यी रुटमा ५ सय रुपैयाँ भाडा लिने गरिएको थियो । सर्बपक्षीय बैठकले भाडादर ३ सय रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो ।

स्थानीय प्रशासनका अनुसार थप ४ यात्रुको बिमास्वरुप यातायात व्यवसायीले ५० हजार रुपैयाँ यातायात व्यवस्थापन समितिमा जम्मा गर्ने सहमति गरेपछि क्षमताभन्दा बढी यात्रु बोक्न दिने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले यातायात व्यवसायी भाडा घटाउन सहमत भएको बताए ।

उनका अनुसार दुनैदेखि रुपगाडसम्म १ सय, रुपगाडदेखि जुफालसम्म र रुपगाडदेखि सुपानिसम्म २ सय ५० रुपैयाँ भाडादर कायम गरिएको छ । उनले छलगाडदेखि खदाङसम्म ३ सय रुपैयाँ भाडा निर्धारण गरिएको जानकारी दिए । ‘थप यात्रुको बिमा व्यवस्थापन गर्ने सहमतिपछि क्षमताभन्दा बढी यात्रु राख्नदिने निर्णय गरिएको छ,’ उनले भने, ‘भाडा कम गरिएपछि व्यवसायीको व्यवहारिकता हेरेका हौ ।’

ढुवानी समस्याले मूल्यवृद्धि
वर्षा सुरु भएसँगै जाजरकोट–डोल्पा खण्डमा यातायातका साधन सञ्चालन हुन समस्या भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरिएको छ । ढुवानी समस्याका कारण उपभोग्य सामग्रीको मूल्य बढेको व्यवसायीले जनाएका छन् ।
नेपालगन्जदेखि डोल्पासम्म सामान ढुवानी गर्दा विभिन्न खोलामा पल्टी गर्नुपर्ने भएपछि ढुवानीमा समस्या भएको हो । सडकमा पर्ने विभिन्न खोलामा पुल नहुँदा व्यवसायीले मजदुरमार्फत पल्टी गर्दै सामान ढुवानी गर्दै आइरहेका छन् । वर्षा सुरु भएपछि ढुवानीमा थप समस्या भएको उनीहरूको गुनासो छ ।

सडकमा पहिरो खसेका कारण सामान ढुवानी गर्न थप समस्या भएको उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाले बताए । ‘वर्षा सुरु नहुँदै पनि खोलामा पुल नहुँदा मजदुर लगाएर सामान वारपार गराउने गरिएको थियो,’ उनले भने, ‘वर्षाका कारण ठाउँठाउँमा बाटो बिग्रदा र पहिरो जाँदा थप स्थानमा पल्टी गरी सामान ढुवानी गर्नुपर्ने समस्या छ ।’ उनले वर्षा सकिएसँगै ढुवानी केही सहज भएपछि बजारभाउ घट्ने जानकारी दिए ।

यसअघि तल्लुबगर, खदाङ, छलगाड र त्रिपुराकोटमा पल्टी गरी सामान ढुवानी गर्ने गरिएको थियो । अहिले राडि, चौका, दामाचौर, करपगाड, तल्लु, खदाङ, छलगाड, त्रिपुराकोट, रुपगाडलगायत ९ स्थानमा पल्टी गर्ने गरिएको अध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार उपभोग्य सामग्रीको मूल्य २५ प्रतिशतसम्मले वृद्धिभएको छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्