कक्षा उत्तीर्ण गर्न थप पाठ्यक्रम

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाका विद्यालयमा कक्षा उत्तीर्ण गर्न थप पाठ्यक्रम पढ्नुपर्ने भएको छ । विद्यार्थीले नियमित पाठ्यक्रमका साथै थप ५० पूर्णांकको पाठ्यक्रम पढ्नुपर्ने भएको हो ।

कक्षा उत्तीर्ण गर्न थप पाठ्यक्रम

व्यवहारिक ज्ञान सिकाउन भन्दै नगरपालिकाले ५० पूर्णांकको पाठ्यक्रम बनाउन लागेको हो । कक्षा उत्तीर्ण गर्न बाल विकासदेखि १० कक्षाका विद्यार्थीले उक्त विषय पास गर्नैपर्ने छ । पाठ्यक्रममा सैद्धान्तिक कम र व्यवहारिक विषयवस्तु बढी हुने नगरपालिकाले जनाएको छ ।


पाठ्यक्रममा खेती किसानदेखि दिगो विकासका लक्ष्य समावेश हुने नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । विभिन्न २२ विषयवस्तुमा केन्द्रित भएर स्थानीय पाठ्यक्रम बनाउन लागिएको शाखा संयोजक थलवीर ओलीले बताए । ‘प्राक्टिकल नै बढी गराउने गरी पाठ्यक्रम बन्दै छ,’ उनले भने, ‘नियमित पठनपाठनका अलावा जान्नैपर्ने कुरा सिकाउने उद्देश्यले स्थानीय पाठ्यक्रम बनाएर पढाउन लागेका हौं ।’


दिगो विकासका लक्ष्य, पूर्ण सरसफाइका ७ सूचक, कृषि तथा पशुपालन, वन, वातावरण तथा विपद् व्यवस्थापन, स्थानीय स्रोत साधनमा आधारित व्यवसायलगायत विषयवस्तु पाठ्यक्रममा समावेश हुनेछन् ।


बालबालिकाको सिर्जनशीलता र नयाँ खोज, सदाचार, नैतिकता, नगरपालिकाको समृद्धि, विकास र पहिचानमा योगदान पुग्ने विषयवस्तु पनि समावेश गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी पोषण तथा अग्यानिक खाना, स्वास्थ्य, शारीरिक तथा सरसफाइ, नैतिक शिक्षा, सामाजिक मूल्य मान्यता, असल व्यवहार, सिर्जनात्मक तथा सकारात्मक सोचाइका विषयमा पठनपाठन हुने संयोजक ओलीले बताए । उनका अनुसार यी विषयमा धेरैभन्दा धेरै अभ्यास गराइ विद्यार्थीलाई प्राप्तांक दिइने व्यवस्था गरिएको छ ।


पाठ्क्रम निर्माणको प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार पाठ्यक्रम बनाउने र चालु शैक्षिक सत्रदेखि नै लागू गर्ने तयारी गरिएको हो । पाठ्यक्रम निर्माणका लागि नगर प्रमुख गोर्खबहादुर केसीको नेतृत्वमा समिति बनाइएको छ । पाठ्यक्रम आगामी तिहारपछि विद्यालयमा लागू हुने गरिने नगर प्रमुख केसीले बताए ।


नगरपालिकाभर बाल शिक्षासहित ५९ विद्यालय छन् । ‘५० पूर्णांकको मात्रै भएकाले तिहारपछि लागू गर्दा पनि फरक नपर्ने देखिएको छ,’ उनले भने, ‘सानै उमेरदेखि बालबालिकालाई सबै विषयप्रति गम्भीर बनाउन र उनीहरूको क्षमता विकास गर्न स्थानीय पाठ्यक्रम बनाउने निर्णय भएको हो ।’


बालक आफूप्रति कति जिम्मेवार र सहयोगी छ भन्नेजस्ता व्यहारिक कुरा अध्ययन गरी परीक्षामा नम्बर दिइने उनले जानकारी दिए । उनका अनुसार कृषि, पशुपालन र श्रमप्रतिको लगाव हेरेर पनि विद्यार्थीको मूल्यांकन गरिनेछ । विद्यार्थीको घर, बारी र खेल्ने ठाउँमा पुगेर उनीहरूको मूल्यांकन गरी नम्बर दिइने उनी बताउँछन् ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?