कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सीमा सुरक्षा बैठक : नेपाली टोली ताक्लाकोटमा

हुम्ला — चीनको पुराङकाउन्टीमा हुन थालेको नेपाल–चीन सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली ताक्लाकोट पुगेको छ । वार्तामा दुवै पक्षबीच सीमा सुरक्षाका लागि अपनाउनुपर्ने रणनीतिबारे छलफल हुनेछ ।

दुई देशका प्रतिनिधिबीचको छलफलमा सीमामा हुने अवैध सामानको ओसारपसार र अवाञ्छित गतिविधि रोक्न छलफल हुने प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले बताइन् ।


उनले मानसरोवर–कैलाश तीर्थयात्रालाई सहज बनाउन पनि चिनियाँ टोलीसँग छलफल गरिने जनाइन् । ‘केही वर्षयता मानसरोवर यात्रामा जाने जिल्लाका बासिन्दा सीमामा रोकिने समस्या देखिएको छ,’ उनले भनिन्, ‘जिल्ला प्रशासनले जारी गर्ने सीमापासबाट चिनियाँ नाका प्रवेश गर्न पाउनुपर्ने स्थानीयको माग छ, त्यस विषयमा पनि कुरा उठाइनेछ ।’


सीमा वार्ताका लागि प्रजिअ भट्टराईसहित जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुख ताक्लाकोट पुगेका हुन् । नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा, सिमकोट गाउँपालिका अध्यक्ष पदमवहादुर लामा र खापुनार्थ गाउँपालिका अध्यक्ष कर्ण रावल पनि टोलीमा सहभागी छन् ।


जिल्लाका बासिन्दाले पछिल्लो समय हिल्साबाट सामान ल्याउँदा चिनियाँ सुरक्षाकर्मीले कडाइ गर्ने गरेको गुनासो गरेका छन् । त्यस विषयमा पनि चिनियाँ टोलीसँग छलफल हुने जनाइएको छ ।


विकास निर्माणका लागि इन्धनको सहज आपूर्ति गराइदिन नेपाली टोलीले अनुरोध गर्ने जनाएको छ । दुवै देशबीच बर्सेनि सीमा वार्ता हुने गरेको छ । यस वर्षको सीमा वार्ताले विगतमा भोग्दै आएका समस्या हल गर्ने आशा गरिएको नाम्खाका बासिन्दा प्रेम लामाले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?