बढ्दै किशोरी आमा : आमा र शिशु बचाउन शल्यक्रिया

‘सानैमा बिहे गर्दा न स्वास्थ्य राम्रो भयो न वैवाहिक जीवन नै, अहिले पछुताउनु परेको छ’
ज्योति कटुवाल

दैलेख — ३ साताअघि सुत्केरी व्यथाले च्यापेपछि महाबु गाउँपालिका ४, की १७ वर्षीया सिर्जना शाही रानीवन स्वास्थ्यचौकीमा भर्ना भइन् । ३ दिनसम्म व्यथा लागेपछि बच्चा उल्टो भएको भन्दै स्वास्थ्यचौकीले जिल्ला अस्पताल रिफर गर्‍यो । जिल्ला अस्पतालले समेत प्रदेश अस्पताल रिफर गरेपछि उनको ज्यान त जसोतसो बाँच्यो तर, शिशु बचाउन सकिनन् । 

एक महिनाअघि नौमुले गाउँपालिका ५ की १६ वर्षीया सरिता थापालाई लामो व्यथा लागेपछि स्वास्थ्यचौकी पुर्‍याइयो । स्वास्थ्यचौकीमा उनले बच्चालाई जन्म त दिइन् तर अपांगता भएको । शारीरिक रुपमा परिपक्व नहुँदै सुत्केरी भएकाले उनले विकलांग शिशु जन्म दिएको स्वास्थ्यकर्मी बताउँछन् । यी दुई पछिल्ला उदाहरण मात्र हुन् ।

जिल्लामा कलिलै उमेरमा आमा बन्दा आमा र शिशुको ज्यान बचाउन कठिन हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । दुल्लु अस्पतालमा चालु आवको साउनमा मात्रै ३५ जना सुत्केरी भएकामा १५ जना २० वर्षमुनिका थिए । अस्पतालकी डा. पुजा बीसीका अनुसार अधिकांश कम उमेरका अधिकांश आमामा रक्तश्रावको समस्या देखिने गरेको छ ।

‘कम उमेरमा सुत्केरी हुँदा अधिकांश किशोरीको पाठेघरको मुख खुलेकै हुँदैन, अधिकांशमा रक्तश्राव र पहिले नै साल निस्कने समस्या बढी पाइयो,’ उनले भनिन्, ‘जस कारण उनीहरूलाई बच्चा जन्माउनै समस्या हुन्छ, बच्चा जन्माए पनि पछि विभिन्न शारीरिक समस्या देखिने गरेका छन् ।’ उनले कम उमेरमा आमा बन्दा विभिन्न प्रजनन् समस्या देखिनुका साथै पाठेघर खस्ने जोखिम रहेको बताइन् ।

गत वर्ष जिल्लामा ४ हजार ५ सय ८४ जना सुत्केरी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कम उमेरमा गर्भवती हुँदा जिल्ला अस्पतालमा सुत्केरी हुन आएका १५ जनालाई रक्तदान गरेरै प्रसूति गराइएको थियो । त्यस्तै गत वर्ष २ सय ३२ जनालाई शल्यक्रियामार्फत सुत्केरी गराइएकोमा अधिकांश २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार करिब २४ प्रतिशत महिलालाई अप्रेसनमार्फत प्रसूति गराइने गरिएको छ ।

जिल्ला अस्पताल प्रमुख डा. नीरञ्जन पन्तका अनुसार जिल्लामा हरेक ५ गर्भवती महिलामध्ये १ महिला २० वर्षमुनि सुत्केरी हुने गरेका छन् । ‘शारीरिक र मानसिक रुपमा परिपक्व नभइ गर्भवती हुँदा आमा र बच्चा दुबैको स्वास्थ जोखिममा परिरहेको छ,’ उनी भन्छन्, ‘कम उमेरमा आमा बन्दा शल्यक्रिया नगर्नुको विकल्पै छैन ।’

उनका अनुसार आमा र शिशुको ज्यान जोगाउन शल्यक्रियाको सहारा लिनुपरेको हो । साबिक जिल्ला बाल कल्याण समितिका अनुसार दैलेखमा ४० प्रतिशत २० वर्ष मुनिका कलिला आमा बन्ने गरेका छन् । कम उमेरमा गर्भवती बन्दा शल्यक्रिया मात्र होइन, अधिकांश महिला घरेलु हिंसाको सिकार बनिरहेका छन् ।

लालीकाडाकी माया सुनार १९ वर्षको उमेरमै ४ सन्तानकी आमा बनिन् । सानै उमेरमा आमा बन्दा उनको स्वास्थ्य अझै तंग्रिन सकेको छैन । ४ वटै सन्तान जन्माउन शल्यक्रियाको सहारा लिएकी सुनार अहिले घरको न घाटकी जस्तै भएकी छिन् । पतिको दिनहुँको कुटपिट सहन नसकेपछि उनी अहिले अशक्त ज्यानसहित माइतीको सहारामा छिन् । उनी पाठेघरको समस्याले मात्र ग्रस्त छैनिन् अन्य शारीरिक समस्याका कारण हिँडडुल गर्नसमेत समस्या भइरहेको छ । ‘सानै उमेरमा बिहे गर्दा न स्वास्थ्य राम्रो भयो न बैवाहिक जीवन नै,’ उनले भनिन्, ‘अहिले पछुताउनु मात्रै भएको छ ।’

लालीकाडाकै मीना बीसीको १३ वर्षको उमेरमा विवाह भयो । विवाह गरेको ५ वर्षमै पतिले अर्की पत्नी ल्याएपछि उनलाई छोराछोरी पाल्न समस्या छ । ‘सानै उमेरमा २ बच्चा पाउँदा स्वास्थ्य पनि कमजोर बन्दै गएको छ, अर्कोतिर पतिको सहारा नपाउँदा मानसिक रुपमा कमजोर बनेकी छु,’ उनले भनिन्, ‘अहिले पाठेघरको समेत समस्या देखिएपछि सानोतिनो काम गर्न सक्दैन ।’ उनी ५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित भए पनि आर्थिक अवस्था कमजोर हुँदा उपचारबाट वञ्चित छिन् ।

२० वर्ष पूरा नभएसम्म महिला र पुरुष दुवैको मानसिक र शारीरिक अवस्था विकास नहुने बताउँछन् जिल्ला अस्पताल प्रमुख डा. पन्त । उनका अनुसार ग्रामीण क्षेत्रका महिलाको शारीरिक वृद्धि झन् ढिलो हुने गरेको छ । ‘शारीरिक विकास नहुँदै बच्चा जन्माउनु स्वास्थ्यका दृष्टिले सबैभन्दा ठूलो जोखिम हो,’ उनले भने, ‘सामान्य अवस्थामा आमाको ज्यान बचाउनै गाह्रो छ ।’

अधिकारकर्मीका अनुसार बालविवाहका कारण महिलाहरू शारीरिक, मानसिक, आर्थिक र सामाजिक पीडा भोग्न बाध्य छन् । कलिलै उमेरमा आमा बन्दा घरेलु हिंसा र बहुविवाहको समस्या बढदै गएको सामाजिक अभियान्ता रमा श्रेष्ठ बताउँछिन् । २० वर्षभन्दा कम उमेरमा गर्भवती हुँदा पाठेघरको समस्या, फिस्टुला, स्तन क्यान्सरलगायत समस्या हुने गरेको उनको भनाइ छ ।

बालअधिकारको क्षेत्रमा कार्यरत सामाजिक सेवा केन्द्र सेवा (सोसेक) र प्रहरीको सहकार्यमा गत वर्ष मात्र जिल्लामा १ हजार ९३ बालविवाह रोकिएका छन् । केन्द्रका अध्यक्ष हीरासिंह थापाले बालविवाहको समस्या जिल्लामा विकराल बन्दै गएको बताए । ‘हामीले नै रोकेका कतिपय विवाहका केटाकेटी प्रहरीबाट छुटेपछि पुनः विवाह गरेका छन्, अभिभावक जिम्मेवार बन्दा यसले झनै ठूलो समस्या निम्त्याएको छ,’ उनले भने, ‘गरिबी, बेरोजगारी, देखासिकी, प्रविधिको दुरुपयोग, सामाजिक संस्कारलगायत कारण बालविवाह बढिरहेको छ ।’

बालविवाह रोक्न विद्यालयको पाठ्यक्रममै विभिन्न विषयवस्तु समावेश गरिनुपर्ने उनी बताउँछन् । कानुनी प्राबधानबारे बालबालिका र अभिभावकलाई सचेत गराउन सके बालविवाहको समस्या घटदै जाने उनको भनाइ छ । ०६८ सालको जनगणनाअनुसार कर्णाली प्रदेशमा ५२ प्रतिशतले बालविवाह गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

एक शिक्षिकाकै भरमा विद्यालय

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका १, कोटबयाल स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय १ शिक्षिकाको भरमा सञ्चालन भइरहेको छ । शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावकारी बन्न सकेको छैन भने गाउँका बालबालिका अन्यत्र जान बाध्य छन् ।

एक शिक्षिकाका भरमा सञ्चालन भइरहेको सल्यानको कालीमाटी गाउँपालिका १, कोटबयालस्थित नेपाल राष्ट्रिय प्राविका बालबालिका सामूहिक अध्ययन गर्दै । तस्बिर : विप्लव/कान्तिपुर

२ स्थायी र १ राहत शिक्षकको दरबन्दी रहेको विद्यालयमा शिक्षिका लक्ष्मी केसी मात्र कार्यरत छिन् । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा आफू मात्रै कार्यरत रहँदा पठनपाठन गुणस्तरीय बन्न नसकेको शिक्षिका केसीले बताइन् ।

‘गाउँकै विद्यालयमा शिक्षक अभाव भएपछि बालबालिका पठ्नका लागि अन्यत्र जान बाध्य छन्,’ उनले भनिन्, ‘एक जनाले प्रशासनिक काम गर्नु कि विद्यार्थी पठाउनु ?’ लामो समयदेखि कार्यरत अस्थायीशिक्षक अमर भण्डारीले जागिर छोडेपछि पठनपाठनमा समस्या भएको उनी बताउँछिन् ।

अस्थायी दरबन्दीका शिक्षक भण्डारीले शिक्षा आयोगको आन्तरिक प्रतिस्पर्धामा नाम निकाल्न नसक्दा ४ महिनाअघि जागिर छोडेका हुन् । केसीका अनुसार २ शिक्षक कार्यरत हुँदा विद्यालयको पठनपाठन केही सहज थियो । पठनपाठन प्रभावकारी नहुँदा बर्सेर्नि विद्यार्थी घटदै गएको विद्यालयले जनाएको छ । विद्यालयमा यस वर्ष ३२ विद्यार्थी अध्ययनरत छन् ।

दरबन्दी अनुसार शिक्षक नभएपछि ‘मनिटर सिस्टम’ द्वारा र सामूहिक रूपमा पढाइरहेको शिक्षिका केसीको गुनासो छ । ‘एउटा कक्षामा पढाउँछु, अनि कक्षाकार्य दिएर अर्को कक्षामा पढाउन जान्छु,’ उनले भनिन्, ‘कहिलेकाहीं सामूहिक रुपमा सबै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेकी छु ।’ उनले दुबै शिक्षण विधि प्रभावकारी नभएको गुनासो गरिन् । सबै कक्षामा एक ‘मनिटर’ बनाएर उनीहरूमार्फत पठनपाठन प्रभावकारी बनाउने प्रयास गरेको उनको भनाइ छ ।

पटकपटक विभिन्न सरकारी निकायमा शिक्षकको व्यवस्था गर्न माग गरिए पनि बेवास्ता भइरहेको उनी बताउँछिन् । उनका अनुसार राजनीतिक पहुँच नपुग्दा सरकारले अहिलेसम्म दरबन्दीका शिक्षक पठाएको छैन । स्थानीय सरकारले समेत शिक्षक व्यवस्थापनमा सहयोग नगरेकोउनले गुनासो गरिन् । २०३७ मा स्थापना भएको विद्यालयले स्थापनादेखि नै शिक्षक अभावको समस्या भोग्दै आएको छ ।

पर्याप्त पूर्वाधार नहुँदा गाउँका विद्यार्थी अन्य सामूदायिक र नजिकै गाउँका निजी विद्यालयमा गएको शिक्षिका केसीले बताइन् ।
उनका अनुसार ५ वर्षअघि विद्यालयमा १ सय १० जना विद्यार्थी अध्ययरत थिए । क्रमशः विद्यार्थी संख्या घटेपछि सरकारी अनुदानमा पनि कटौति भइरहेको विद्यालयले जनाएको छ । विद्यालयमा कोटबयाले, सिरखोला, ढुंगेकटेरीबाट बालबालिका पढ्न आउने गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्