एक शिक्षिकाकै भरमा विद्यालय

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका १, कोटबयाल स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय १ शिक्षिकाको भरमा सञ्चालन भइरहेको छ । शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावकारी बन्न सकेको छैन भने गाउँका बालबालिका अन्यत्र जान बाध्य छन् ।

एक शिक्षिकाकै भरमा विद्यालय

२ स्थायी र १ राहत शिक्षकको दरबन्दी रहेको विद्यालयमा शिक्षिका लक्ष्मी केसी मात्र कार्यरत छिन् । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा आफू मात्रै कार्यरत रहँदा पठनपाठन गुणस्तरीय बन्न नसकेको शिक्षिका केसीले बताइन् ।


‘गाउँकै विद्यालयमा शिक्षक अभाव भएपछि बालबालिका पठ्नका लागि अन्यत्र जान बाध्य छन्,’ उनले भनिन्, ‘एक जनाले प्रशासनिक काम गर्नु कि विद्यार्थी पठाउनु ?’ लामो समयदेखि कार्यरत अस्थायी शिक्षक अमर भण्डारीले जागिर छोडेपछि पठनपाठनमा समस्या भएको उनी बताउँछिन् ।


अस्थायी दरबन्दीका शिक्षक भण्डारीले शिक्षा आयोगको आन्तरिक प्रतिस्पर्धामा नाम निकाल्न नसक्दा ४ महिनाअघि जागिर छोडेका हुन् । केसीका अनुसार २ शिक्षक कार्यरत हुँदा विद्यालयको पठनपाठन केही सहज थियो । पठनपाठन प्रभावकारी नहुँदा बर्सेर्नि विद्यार्थी घटदै गएको विद्यालयले जनाएको छ । विद्यालयमा यस वर्ष ३२ विद्यार्थी अध्ययनरत छन् ।


दरबन्दी अनुसार शिक्षक नभएपछि ‘मनिटर सिस्टम’ द्वारा र सामूहिक रूपमा पढाइरहेको शिक्षिका केसीको गुनासो छ । ‘एउटा कक्षामा पढाउँछु, अनि कक्षाकार्य दिएर अर्को कक्षामा पढाउन जान्छु,’ उनले भनिन्, ‘कहिलेकाहीं सामूहिक रुपमा सबै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेकी छु ।’ उनले दुबै शिक्षण विधि प्रभावकारी नभएको गुनासो गरिन् । सबै कक्षामा एक ‘मनिटर’ बनाएर उनीहरूमार्फत पठनपाठन प्रभावकारी बनाउने प्रयास गरेको उनको भनाइ छ ।


पटकपटक विभिन्न सरकारी निकायमा शिक्षकको व्यवस्था गर्न माग गरिए पनि बेवास्ता भइरहेको उनी बताउँछिन् । उनका अनुसार राजनीतिक पहुँच नपुग्दा सरकारले अहिलेसम्म दरबन्दीका शिक्षक पठाएको छैन । स्थानीय सरकारले समेत शिक्षक व्यवस्थापनमा सहयोग नगरेको उनले गुनासो गरिन् । २०३७ मा स्थापना भएको विद्यालयले स्थापनादेखि नै शिक्षक अभावको समस्या भोग्दै आएको छ ।


पर्याप्त पूर्वाधार नहुँदा गाउँका विद्यार्थी अन्य सामूदायिक र नजिकै गाउँका निजी विद्यालयमा गएको शिक्षिका केसीले बताइन् ।

उनका अनुसार ५ वर्षअघि विद्यालयमा १ सय १० जना विद्यार्थी अध्ययरत थिए । क्रमशः विद्यार्थी संख्या घटेपछि सरकारी अनुदानमा पनि कटौति भइरहेको विद्यालयले जनाएको छ । विद्यालयमा कोटबयाले, सिरखोला, ढुंगेकटेरीबाट बालबालिका पढ्न आउने गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?